१२ मंसिर २०८१ बुधबार
image/svg+xml
शिक्षा

चिटिक्क भवन पाएपछि विद्यार्थी फुरुंग

भूकम्पले भत्किएको दुधकूण्ड हिमालय आधारभूत विद्यालयको पुनर्निर्मित भवनअघि विद्यार्थी जीवन विक। तस्बिर : हिमाल/नागरिक

सोलुखुम्बु - दूधकुण्ड हिमालय आधारभूत विद्यालयमा अध्ययनरत जीवन विक तीनबाट चार कक्षामा उक्लिएकै बेलामा २०७२ सालको भूकम्प आयो। भूकम्पले उनी पढ्ने विद्यालयको कक्षाकोठामात्रै भत्काएन, उनको खुट्टामा समेत चोट लाग्यो।

भूकम्पकै कारणले विक र उनका साथीहरु लामो समय विद्यालय जान सकेनन्। भूकम्पले उनी पढ्ने कोठासँगै अन्य कोठासमेत भत्किएर चर्केका थिए। भवन भत्किएसँगै सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ फाप्लुमा रहेको उक्त विद्यालयमा १५ दिनभन्दा धेरै समय पठनपाठन रोकियो। कक्षाकोठा भत्किएसँगै विद्यालयले विद्यार्थी कहिले खुला आकाशमुनि त कहिले अर्काे कक्षामा सामेल भएर अध्ययन गर्दै आएका थिए।

भूकम्पअघिसम्म विद्यालयमा एक सय ५८ विद्यार्थी अध्ययनरत थिए। भूकम्प गएसँगै विद्यार्थी संख्या घटेर एक सय २५ पुगेको थियो। पछिल्लो समय क्रमशः विद्यार्थी संख्या बढेर एक सय ६० पुगेको छ।

‘भूकम्पअघिसम्म कक्षामा पढ्दा हल्ला हुँदैनथ्यो,’ विगतको स्मरण गर्दै जीवनले भने, ‘एउटै कक्षामा दुईवटा कक्षाका विद्यार्थी राखेपछि हल्लाले पढ्नै सकिँदैनथ्यो। जेनतेन पढ्दै आयौं।’ जीवन र उनका साथीले भूकम्पले भत्काएको तीन वर्ष पनि नयाँ दुईकोठे भवन पाएका छन्। नयाँ विद्यालय भवन पाएसँगै जीवनजस्तै अन्य विद्यार्थी फुरुंग देखिन्थे।

‘भूकम्पले कक्षाकोठा भत्किएपछि धेरै रोयौं’, कक्षा ६ मा अध्ययनरत दोर्जे तामाङले भने, ‘अहिले भूकम्पले भत्किएको ठाउँमा अहिले टलक्क टल्कने कक्षाकोठा पाएका छौं, साह्रै खुसी छौं।’ दुधकुण्ड हिमालय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमा तामाङ तीन वर्षको लगातार प्रयासले भूकम्पले भत्किएको विद्यालयको भवन तयार पार्न सकेको बताउँछन्।

‘भूकम्पले विद्यालयको कक्षाकोठा भत्केसँगै बाहिरको सिरेटोमा पढाउनुपर्ने बाध्यता थियो। त्यस्तो ठाउँमा राख्नुपर्दा मनै कटक्क हुन्थ्यो,’ उनले भने, ‘दुईवटा कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पठाउँदा हल्ला भएर सुनिँदैनथ्यो, अर्काेतर्फ अस्थायी टहराबाट चुहिने शीतको थोपाले अर्काे समस्या निम्ताउँथ्यो।’ विद्यालय भवन भत्किएपछि विद्यार्थीको पढाइ पनि प्रभावित भएको विद्यालयले जनायो।

विद्यालयका शिक्षक रमेशकुमार बस्नेतले भूकम्पले विद्यार्थीमा मनोवैज्ञानिक त्रास देखिएको बताए। ‘भूकम्पले विद्यालय भवन भत्किएसँगै विद्यार्थीमा धेरै निराशा देखियो। हामीले विद्यार्थीलाई पटकपटक सम्झाएर अध्ययनमा फर्कायौं,’ त्यो कहालीलाग्दो क्षणको स्मरण गर्दै शिक्षक बस्नेतले भने, ‘धेरैपछि विद्यार्थीको मुहारमा खुसी देखेको छु। भूकम्पले खोसेको हाँसो नयाँ भवन बनेसँगै विद्यार्थीमा फर्कियोे।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले हिमाली भेगमा विद्यालय पुनर्निर्माण गर्न धेरै समस्या रहेको बताए। ‘भौगोलिक विकटताका कारण हिमाली भेगमा विद्यालय बनाउन साह्रै खर्चियो छ,’ उनले भने, ‘ढुवानी खर्चकै कारण विद्यालय बनाउन समस्या भइराखेको छ।’ उनका अनुसार सरकारले अन्य स्थान र हिमाली भेगमा एकै प्रकारको बजेट विनियोजन गर्दा जटिलता थपिएको हो। भूकम्प गएसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या घटेको विद्यालयले जनाएको छ। भूकम्पअघिसम्म विद्यालयमा एक सय ५८ विद्यार्थी अध्ययनरत थिए। भूकम्प गएसँगै विद्यार्थी संख्या घटेर एक सय २५ पुगेको थियोे। पछिल्लो समय क्रमशः विद्यार्थी संख्या बढेर एक सय ६० पुगेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इन्जिनियर धर्मेन्द्र यादवले हिमाली भेगमा ढुवानी समस्याले विद्यालय पुनर्निर्माण गर्न समस्या भएको बताउँछन्। ‘हिमाली क्षेत्रमा ढुवानी खर्च अत्यधिक महँगो छ,’ उनले भने, ‘सरकारले तोकेको बजेटमा विद्यालय बनाउनै सकिँदैन। त्यसैले स्थानीयसँग समन्वय गरेर निर्माण गरिरहेका छौं।’

यादवले २०७२ को भूकम्पले सोलुखुम्बुका विद्यालयका १ हजार ३५ कक्षाकोठा पूर्ण रुपमा क्षति पुगेको बताए। ‘भूकम्पले हिमाली भेगका धेरै विद्यालयका भवन भत्कायो। जसका कारण पठनपाठनमा धेरै असर प-यो,’ उनले भने, ‘भौगौलिक विकटता र महँगो निर्माण सामग्रीका कारण विद्यालय भवन पुनर्निर्माणमा समस्या भएको हो।’ सोलुखुम्बुमा २ सय ७० सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय छन्। भूकम्पले सोलुखुम्बुमा २ सय ११ वटा विद्यालयमा क्षति भएको थियो। सरकारी निकाय र गैरसरकारी संस्थाको अगुवाइमा हालसम्म करिब चार सय कक्षाकोठा तयार भइसकेका छन्। अझै पनि पाँच सय ९९ कक्षाकोठा बन्न बाँकी छन्। भूकम्पले भत्किएका विद्यालय विद्यालय क्षेत्र विकासकार्यक्रम र जिल्ला कार्यान्वयन एकाइ शिक्षा र गैरसरकारी संस्थाको अगुवाइमा निर्माण भइराखेको छ । सरकारले हिमाली क्षेत्रमा दुईकोठे भवनको विद्यालय बनाउन २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

इन्जिनियर यादवका अनुसार हिमाली जिल्लामा सरकारी बजेटले मात्र विद्यालय भवन पुनर्निर्माण गर्न सकिने अवस्था छैन। ‘सरकारले हिमाली जिल्लामा दुईकोठे विद्यालय २१ लाख रुपैयाँ विनियोजन गरेको छ। यो रकमले निर्माण सामग्री ओसार्न समेत पुग्दैन,’ उनले भने, ‘त्यसैले दाताको मुख ताक्नुको विकल्प नै छैन।’ पाँच वर्षभित्र भूकम्पले भत्किएका विद्यालय भवन बनाउने सरकारी लक्ष्यअनुरुप नै काम भइरहेको उनले बताए । उनका अनुसार सरकारीसँगै विभिन्न दातृ निकायको सहयोगमा भूकम्पले लडेका विद्यालय भवन ठड्याउने प्रयत्न भइरहेको छ।

प्रकाशित: ५ श्रावण २०७५ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App