त्रिभुवन विश्वविद्यालयले त्रिविका विभिन्न पदपुर्ति गर्दा राजनीति दबाब निरुत्साहित गर्ने उद्धेश्यसहित यसपटक कार्यक्रम संयोजकदेखि अनुसन्धान केन्द्रको निर्देशकसम्मको रिक्त रहेको र रिक्त हुन लागेको पद पुर्तिकोलागि मापदण्डको आधारमा प्रकृया अगाडि बढाए पनि त्यस अनुसारको नतिजा भने दिन नसक्दा प्राध्यापकहरुले आलोचना गरिरहेका छन् ।
विश्वविद्यालयले मंगलबार ६ परीक्षा सहनियन्त्रकको नियुक्ति गरेको छ । तर कसले कति अंक ल्याए ? तीन जनाको नाम सिफारिस हुँदा को-को परे ? विभिन्न विधाको अंक कति प्राप्त गरेबारे कुनै सूचना नै नदिएर प्रकाशित नतिजा पारदर्शी बिनाको मेरिटोक्रेसी परिणाम बनेको त्रिवि प्राध्यापक संघका अध्यक्ष बसन्त ढकालको प्रतिक्रिया छ । उनले समाजिक संजालमा खुला रुपमा यसको विरोध गरेका छन् ।
‘मापदन्ड र आधारमा आवेदनबाट छनौट भएको योग्य उम्मेदवारको अन्तरवार्ता सकाएको दुइ महिना वित्नलाग्दा समेत आजसम्म तीन जना कोको डिनमा सिफारिस भए ? अन्तर्वार्ता पछि कसरी छनौट हुँदैछन् ? कुन विधामा कसले कति अंक प्राप्त गरे ? कतै कुनै जानकारीनै छैन,’ अध्यक्ष ढकालले नागरिकसँग भने ,‘पारदर्शीता बिनाको मेरिटोक्रेसीले पक्षपाति परिणाम र विश्वासको कमी निम्त्याउँछ,’ उनले औल्याए ,‘उम्मेदवारले राजनीतिमा नरहेको स्वघोषणा गर्नु पर्ने र छनौट समितिकाले आफु राजनितिक दल त्यागेको घोषणा गर्नु नपर्ने यो कस्तो मेरिटोक्रेसी हो ? यति मात्र होइन मंगलबार नियुक्ति भएको ६ सह-नियन्त्रक ज्यूहरुले कति कति अंक कसरी प्राप्त गरे? अन्तर्वार्तापछि कोको छनौट भए केहि पनि सूचना आएन । यसलाई के मान्ने ?’
मंगलबार नियुक्त भएका ६ नियन्त्रकहरु काठमाडौं केन्द्रीय कार्यालयका लागि दाबा शेर्पा र सूर्यनाथ मैनाली छन् भने पोरखा कार्यालयका लागि सह-नियन्त्रकमा रामनाथ न्यौपाने नियुक्ति पाएका छन् । यसैगरी नेपालगञ्जका लागि लक्ष्मण पोखरेल, बिराटनगर कार्यालयका लागि डिल्लीराम प्रसाई्र र मधेस प्रदेश कार्यालयका लागि रामहित यादव नियुक्ति भएका छन् । तर डिनमा भने अन्तर्वार्ता सकेको दुई महिना वित्न लाग्दासमेत कोहि पनि नियुक्ति हुन सकेका छैनन् । त्रिविका प्राध्यापकहरुले यसलाई दलीय भागबन्डा नमिलेर नियुक्त हुन नसकेको दाबी गर्छन् ।
त्रिविका पदाधिकारीहरु इमान्दारीपुर्वक काम कारावही अगाडि बढाउन नसकेकै कारण दलगत दबाबमा नियुक्तिको समयमा आउने गरेको प्राध्यापक बसन्त ढकालको ठहर छ । तर त्रिवि पदाधिकारीले केहि प्राविधिक कारणले नियुक्तिमा ढिलाई हुन गएको दाबी गरिरहेका छन् ।
गणित केन्द्रीय विभागका उपप्राध्यापक डा.जीवन काफ्लेका अनुसार त्रिविले पहिलो पटक मापदन्ड बनाएर त्यही अनुसार प्रकृया अगाडि बढाउनु सकरात्मक भएपनि अन्तर्वार्ता सकेको २ महिना वितिसक्दा पनि डिन लगायत कलेज प्रमुखहरुको नियुक्ति गर्न नसक्नु पदाधिकारी दबाबमा रहेको स्पष्ट हुन्छ ।
‘दुइ महिना अगाडि डिनको अन्तर्वार्ता सके पनि केले रोक्यो नतिजा ?’ उपप्राध्यापक काफ्लेले भने, ‘अन्तरवार्ता सकिएर नाम सिफारिस भइसकेका डिनहरुको नतिजा प्रकासन ढिलाई हुनु भनेकै दलका भागबन्डा नमिल्नु हो ।’ उनले थपे ,‘इन्जिनियरिङ्ग अध्ययन संस्थान, चिकित्यसा शास्त्र, मानविकीलगायत ठूला संकाय तथा संस्थान र पाटन, शंकर देवलगायतका ठूला कलेजहरु निमित्तकै भरमा चलेका छन् । त्रिवि पदाधिकारीलाई ब्यक्तिगत र दलगत दबाब आइरहेकै होला । तर पदाधिकारीले मेरिटोक्रेसीकै आधारमा एक नम्बरमा परेकाको नाम र अंकसहित र प्रतिस्पर्धीहरुको पनि नाम र अंकसहित नतिजा सार्वजनिक गरि विश्वास र पादर्शीताको वातावरण तयार गर्नु पर्छ ।’
यति मात्र होइन रिक्त रहेका १८ आंगिक कलेजका प्रमुख छनौट गर्न छनौट समिति बने पछि सर्टलिस्टसम्म हुन नसक्नुले दलको भागबन्दा नमिलेको ठहर प्रजातन्त्रवादी प्रध्यापक संघका महासचिव प्राध्यापक राजेन्द्र गौतमको छ ।
त्रिविको विद्यार्थी संख्याको हिसाबले सबैभन्दा ठूलो संकाय शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र हो ।
माओवादीले शिक्षा र मानविकी आफ्नो पोल्टामा पार्नु पर्ने अडान राख्दै आएको छ भने कांग्रेसले ब्यवस्थापन वा मानविकी पाउनु पर्ने अडान लिएको छ। यी दुई संकायको भागबन्डा नमिलेकोले अन्य नियुक्ति ढिलाई भएको बुझिएको छ,’ महासचिव गौतम भन्छन्, ‘बाहिर मेरिटोक्रेसी भन्ने तर नियुक्तिको बखत उही भागबन्डाकै आधार गर्ने भएकोले कुरा गडबढ भयो । ’
यसो त त्रिवि अन्र्तगतको मानविकीमा यसअघि डिन कांग्रेसका थिए भने शिक्षाशास्त्र संकायका डिन माओवादीकै थिए । प्राडा हिराबहादुर महर्जन उपकुलपति हुँदा शिक्षा एमाले र मानविकी संकायमा कांग्रेसकै डिन थियो । तिर्थ खनियाँ उपकुलपति हुँदा मानविकी माओवादी र शिक्षा संकाय कांग्रेसको डिन थियो । यसरी विगतदेखिनै जुन पार्टीको उपकुलपति हुने हो सोही पार्टीको मानविकी र शिक्षा संकायमध्ये एक लिने चलन छ ।
त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदन्डसम्बन्धी विनियम,२०८१ तय गरेको छ। यही विनियममा आधारित भएर त्रिविले अहिले ८ वटा डिन, एउटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, योजना निर्देशनालयको निर्देशक १८ वटा क्याम्पस प्रमुख र ६ सहपरीक्षा नियन्त्रक गरि कुल ३२ पदपुर्तिका लागि विज्ञापन गरेको थियो । ३२ पदका लागि कुल २ सय ७१ आवेदन परेको शिक्षाध्यक्ष कार्यालयका निजी साहयक राजु श्रेष्ठले बताए ।
त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले कलेज प्रमुखहरुको नियुक्तिमा केहि प्राविधिक अवरोध आएकोले हालसम्म आवेदन सर्टलिस्ट हुन नसकेको बताए । पाँच अन्तर्वार्ता सकिएको डिनहरुको नियुक्ति विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिनको नियुक्ति प्रकृया ढिलाईका कारण रोकिएको बताए । उनले विज्ञानको पनि अन्तर्वार्ता सकेर ६ वटै डिनहरुको नतिजा एकै पटक निकाल्ने योजनाका कारण डिन नियुक्ति ढिलाई भएको उनको दाबी छ । हाल नियुक्ति गरिएका सहनियन्त्रकहरु मेरिटोक्रेसीकै आधारमा गरिएको उनको दाबी छ ।
‘१८ बटा कलेजहरुको आवेदन प्राप्त भएको भए पनि तीन सदस्य छनौट समितिमा एक सदस्य आफै व्यवस्थापन संकायको डिनको उम्मेदवार हुनु भएकोले राजीनामा दिनु भयो । पछि अर्को नियुक्ति गर्दा वाहा अमेरिका जानु भयो । दशैं, तिहार र छठ पर्वले पनि ढिलाई भयो,’ शिक्षाध्यक्ष प्राडा केसीले नागरिकसँग भने, ‘अहिले बल्ल अर्को दस्य नियुक्ति गरिएको छ। छिटै कलेजहरुको सर्टलिस्ट हुन्छ ।’ उनले थपे ,‘डिनको सवालमा हाल मानविकी, शिक्षा, कृषि तथा पशु,इन्जिनियरिङ र चिकित्सा शास्त्रको डिनको नियुक्तिकोलागि नाम सिफारिस भएको छ। तर कार्यकारि परिषद विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिनको नाम सिफारिसका लागि कुरेको हो ।’
प्रकाशित: १८ मंसिर २०८१ १८:३२ मंगलबार