९ आश्विन २०८१ बुधबार
image/svg+xml
शिक्षा

सात करोड बजेट अनुमान गरि विद्यालयको नीति तथा कार्यक्रम सार्वजनिक

श्री राष्ट्रिय माध्यमिक विद्यालयको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै इटहरीका मेयर हेम कर्ण पौडेल । तस्बिर:नागरिक

इटहरी उपमहानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमध्ये वडा नं.१ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि विद्यालयले तय गरेका नीति तथा कार्यक्रम बिहीबार इटहरीका मेयर हेम कर्ण पौडेलले सार्वजनिक गरेका हुन् ।

विद्यालयले सार्वजनिक गरेका कार्यक्रम पूरा गर्न सात करोड बजेट आवश्यक पर्ने उल्लेख छ । यो सबै रकम सरकारी निकायबाट सहयोग अनुदानबाट प्राप्त हुने अपेक्षा गरिएको छ। 

इटहरी उपमहानगरपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि विद्यालय सुधार अभियान चलाइ रहेका बेला राष्ट्रिय माध्यमिक विद्यालयले उदाहरणीय कार्य गरेको र अरु विद्यालयले सिको गर्ने मेयर पौडेलले बताए । ‘प्रत्येक संस्थाले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्छन,’ उनले भने, ‘राष्ट्रिय माविले पनि पहिलोपल्ट नवीन कार्य गरेको छ ।’ इटहरी क्षेत्रमा आधारभूत र माध्यमिक गरि ३६ वटा सामुदायिक विद्यालय छन् ।

राष्ट्रिय माविले तय गरेको वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासतर्फ विद्यार्थीको चापलाई मध्यनजर गरेर छ कोठे पक्की भवन निर्माण गर्ने भएको छ । जसका लागि दुई करोड ६० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । भवन निर्माणका लागि इटहरी उपमहानगरपालिकाले बजेटको व्यवस्थापन गरेर टेन्डर प्रक्रिया अघि बढाइ सकिएको जानकारी दिइयो । यहाँ यति बेला बाल विकासदेखि कक्षा १२ सम्म पढाई हुने गरेकोमा कुल एक हजार ८८१ जना विद्यार्थी अध्ययनरत छन् । भवन अभावले गर्दा वर्षेनी थुप्रै नयाँ विद्यार्थीलाई भर्नामा समस्या हुने गरेको छ ।

विद्यालयको खेलमैदान स्तरोन्नति गर्न अनुदान सहयोग माग गरिनेछ  । जसका लागि ४० लाख रुपैयाँ आवश्यक पर्नेछ ।  विद्यालयले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सिसि क्यामेरा जडान पनि गरिनेछ ।सिसि क्यामेरा जडान गर्न दस लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

यस्तै, विद्यार्थीको निम्ति थप एउटा वटा बस खरिद गर्ने, दुई वटा शौचालय थप गरिने र शुद्ध पिउने पानी (फिल्टरसहित) व्यवस्था गरिने भएको छ । यसका लागि ४० लाख, शौचालयका लागि १५ लाख र पिउने पानीमा पाँच लाख रुपैयाँ खर्च हुनेछ । 

 विद्यालयको नीति अनुसार स्मार्ट विद्यालय स्मार्ट शिक्षक कार्यक्रम लागू गरिने उल्लेख छ । चालु आर्थिक वर्षको बजेटमा सङ्घीय सरकारले एक पालिका, एक स्मार्ट विद्यालयको अवधारण कार्यान्वयनमा ल्याउने नीति ल्याएसँगै इटहरीबाट राष्ट्रिय माविले पनि सोही नीति ल्याएको हो । स्मार्ट विद्यालय स्मार्ट शिक्षक कार्यक्रममा ३० लाख रुपैयाँ लगानी लाग्नेछ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विद्यालयको वाल उद्यान निर्माण, पार्किङको उचित व्यवस्था, विद्यार्थीको उमेर समूह अनुसार फर्निचरको व्यवस्था, जीवन विज्ञान तथा होटल म्यानेजमेन्ट ल्याब व्यवस्थापन, अलगै परीक्षा शाखा, चमेना गृह व्यवस्थित गर्ने र  आपगाछी चोकमा साना स्कुल बालबालिकालाई मध्यनजर गरेर आउँजाउँ गर्न सहजताका लागि आकाशे पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख छ । वाल उद्यान निर्माणमा १५ लाख, सवारी साधन पार्किङमा दस लाख र  ल्याब व्यवस्थापनमा १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसै गरी, नीति तथा कार्यक्रममा विद्यालय रंगरोगनमा दस लाख, विद्यालयको सभा हल निर्माणमा तीस लाख, डे«न व्यवस्थापनमा पाँच लाख र कम्प्युटर ल्याब व्यवस्थापनमा २५ लाख रुपैयाँ लाग्ने समेटिएको छ ।

यसै गरी, मानव संसाधन विकासतर्फ तल्लो तहका कक्षामा अध्यापन गर्ने शिक्षकको क्षमता विकास, सबै तहका शिक्षक तथा कर्मचारीलाई विधागत तालिम, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थालगायतका कार्यक्रम गरिने भएको छ । यस्तै, शैक्षिक क्रियाकलापतर्फ शिक्षक कार्यसम्पादन सम्झौता करार गरि कार्यान्वयन गरिने मुख्य कार्यक्रममा समेटिएको छ । वार्षिक नीति तथा कार्यक्रममा विद्यार्थीका अतिरिक्त क्रियाकलाप बढाउने,  ग्रिन क्लबको नेतृत्वमा एक विद्यार्थी एक बिरुवा कार्यक्रम, त्रैमासिक भित्ते पत्रिका प्रकाशन, अभिभावक अभिमुखीकरण कार्यक्रम, कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई ग्रास रुट फुटबल प्रशिक्षण, सिकाई क्षमता कमजोर भएका विद्यार्थीलाई पकेट कक्षा सञ्चालन, योग शिक्षा कार्यक्रम सुरु गर्ने र  विद्यार्थीसँग मेयर कार्यक्रम वर्षमा दुई पटक गर्ने गरिने व्यवस्थापन समिति अध्यक्ष कार्कीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम अनुसार कपी उत्पादन गरि विक्री गरिने, ट्राफिक व्यवस्थापन, लागू औषध नियन्त्रण सम्बन्धी सचेतना, विद्यार्थीको प्रतिभा पहिचान गरि प्रतिभालाई संरक्षण गरिने, शिक्षक, विद्यार्थी र अभिभावक आचारसंहिता लागू गर्ने लगायत समेटिएका छन् ।

यस्तै, विद्यालय बडापत्रको व्यवस्था, लेखा प्रणाली थप व्यवस्थित, आय(व्यय हरेक तीन महिनाको अन्तरमा सूचना पार्टी तथा वेभ साइटमार्फत सार्वजनिक गरिने, अक्षयकोषको रकम वृद्धि गरि थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने लगायतका कार्यक्रम समेटिएका छन् । अघिल्लो मङ्सिरमा  विद्यालयले ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । विद्यालयको ६८ औँ वार्षिकोत्सवको अवसरमा बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट प्राप्त ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरेको थियो । अब मङ्सिरमा थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय ११ करोड ७७ लाख ९९ हजार ७४२ रुपैयाँ र व्यय ११ करोड ८३ लाख ६१ हजार ६०३ रुपैयाँ प्रस्तुत गरेका थिए  । सो क्रममा इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख द्रोण दाहालले इटहरी क्षेत्रका १९ वटा माध्यमिक विद्यालयमध्ये राष्ट्रिय माध्यमिक विद्यालय उत्कृष्ट भएको जनाए । 

प्रकाशित: ३२ श्रावण २०८१ १५:४९ शुक्रबार

#Community school #Itahari Sub-Metropolitan City #Shri National Secondary School