२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

कक्षाकोठाबाट होइन,रोपाईबाट सिके विद्यार्थीले

सधैँ कक्षाकोठामा बसेर सिक्ने भक्तपुरको एउटा स्कुलका विद्यार्थीहरूले आज धान रोपाईमा सहभागी भएर सिकेका छन्।कक्षाकोठामा प्रायः सैद्धान्तिक सिकाई गर्ने उनीहरुले खेतमा भने व्यवहारिक जीवन उपयोगी शिक्षा सिके।

भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलका विद्यार्थी रोपाईमा सहभागी भएका थिए।असार १५ को अवसरमा स्कुलले प्रत्येक वर्ष जस्तै रोपाई कार्यक्रम गरेको थियो। स्कुल नजिकैको खेतमा विद्यार्थीलाई रोपाईका लागि लगिएको थियो। रोपाईमा विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिकाहरू पनि रमाइरमाई खेत पुगेका थिए।

स्कुलले कक्षा चारमा अध्ययनरत एक सय सात जना ससाना नानीहरूलाई रोपाईका लागि नजिकैको खेतमा लगेको थियो। ससाना विद्यार्थीहरूले खेतमा पुगेर रोपाई गरेका थिए। यसअघि उनीहरुले त्यहाँ रोपाईका लागि बाउसे गर्न सिकेका थिए।  साथै बाउसे गरेपछि देखिएका घाँंसहरुलाई दवाउन उनीहरुले कुल्चने काम गरेका थिए। त्यसपछि उनीहरुले रोपाई थालेका थिए। यसअघि उनीहरुले रोपाई गर्ने धानको बीउ उखेलेका थिए। यसअघि स्कुलको कक्षा ४ का समूहले नै जेठ १९ गते धानको वीउ राखेको थियो।

यो सबै कामका लागि उनीहरूलाई शिक्षकशिक्षिकाहरुले सहयोग गरेका थिए। शिक्षकशिक्षिकाहरुले उनीहरूलाई कामका साथै कामका लागि प्रयोग हुने औजारहरूका बारेमा समेत जानकारी गराएका थिए। यसअघि उनीहरूलाई बिहीबार नै कक्षाकोठामा यसबारे जानकारी दिनुका साथै प्रशिक्षण दिइएको थियो।

सधैँ कक्षामा बसेर सिक्थ्यौ तर आज चाहिँ खेतमा पुगेर सिकियो, विद्यार्थीको सामूहिक भनाई थियो, बुकबाट मात्रै होइन रहेछ सिक्ने भनेको। यस्तै फिल्ड वर्कबाट पनि धेरै कुरो सिक्दो रहेछ। 

स्कुलका कक्षा ४ र ५ एवं व्लक बी कोअर्डिनेटर कल्पना खनालले धेरैजना विद्यार्थी भएकाले समूह समूहमा ल्याई नानीहरूलाई सिकाइएको बताइन्। उनले प्रत्येक वर्ष स्कुलले कक्षा चारका विद्यार्थीलाई धानको बिउ राख्नेदेखि धान काटेर चुट्नेसम्म सिकाउने गरेको जानकारी उनले गराइन्।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राज भण्डारीले किसान तथा कृषि व्यवसायमा लागेका व्यक्तिहरूलाई सम्मान गर्न सिकाउने उद्देश्यका साथ कार्यक्रम गरेको जनाए। पुस्तकमा मात्रै सीमित नराखी विद्यार्थीलाई यस्ता विविध विषयका क्रियाकलापहरु स्कुलले गराउने गरेको जानकारी उनले दिए। यसले विद्यार्थीको ज्ञान फराकिलो हुनका साथै उनीहरूमा व्यवहारिक ज्ञान पनि हुने विश्वास उनको छ। यसरी नानीहरूले रोपेको धान उत्पादनपछि भिक्षु भन्तेहरूलाई भोजन दानको लागि प्रदान गरिने उनले जनाए। रोपाईका साथै ससाना नानीहरूदेखि कक्षा ४ सम्मका विद्यार्थीलाई दही चिउरा खाने पर्वकाबारे जानकारी दिन दही चिउरा खुवाइएको थियो। दही चिउरा स्कुलले नै वन्दोवस्त गरेको थियो। यो वर्ष रोपाई कार्यक्रमको अवलोकन गराउन ससाना प्ले ग्रुपदेखि एसकेजीसम्मका झडै डेढ विद्यार्थीलाई पनि पालैपाले रोपाई भएको खेतमा लगिएको थियो। 

प्रकाशित: १५ असार २०८० ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App