१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

इच्छाशक्ति भए सम्भव हुने रहेछ

शैक्षिक सत्र सुरु नहुँदै कर्णालीका विद्यार्थीका हातमा पुस्तक

शैक्षिक सत्र सुरु हुनुअगावै पुस्तक प्राप्त गरेका कक्षा १० मा पढ्ने जुम्ला सिञ्जाका विद्यार्थी। तस्बिर: गोल्डेन बुढा/जुम्ला

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन्। शिक्षकले कक्षा कोठामा पढाएकै भरमा उनले वार्षिक परीक्षा दिनुपर्‍यो। ‘परीक्षा दिने बेलासम्म पनि किताब नआउँदा शिक्षकले कक्षा कोठामा पढाएकै भरमा हामीले परीक्षा दियौं,’ उनले भनिन्, ‘कक्षा सातसम्म किताब नपढेर परीक्षा दिने म मात्रै होइन, मजस्ता धेरै विद्यार्थी हुनुहुन्थ्यो।’

सरकारले किताब छपाइ र ढुवानी ढिला गर्दा कर्णालीमा परीक्षा सकिने बेलासम्म विद्यार्थीले पाठ्पुस्तक पाउँदैनथे। यसलाई सामान्य मानिन्थ्यो। नयाँ शैक्षिक सत्रअन्तर्गत कर्णालीमा आइतबारदेखि पठनपाठन हुँदै छ। तर यसपटक आशा लगायतका विद्यार्थीले अघिल्ला वर्षमा जस्तो किताब नपाएर वार्षिक परीक्षामा सहभागी हुनुपर्ने अवस्थाको अन्त्य भएको छ। यसपटक विद्यालय सुरु नहुँदै विद्यार्थीले किताब पाइसकेका छन्। ‘यस वर्ष त विद्यालय नखुल्दै किताब आइपुगे, अच्चमै भयो,’ आशाले भनिन्, ‘अब सधैं यस्तै भइदिए हामी कर्णालीका विद्यार्थी पनि सुगम ठाउँका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्थ्यौं कि?’

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन्।

कालिकोटमा कक्षा ६ देखि १० सम्म २१ हजार ५९० विद्यार्थी छन्। उनीहरूका लागि आवश्यक साढे चार हजार सेट किताब सूचीकृत स्टेसनरी व्यवसायीमार्फत दु्ई साताअघि जिल्लामा पुगेका छन्।  

हिमाली जिल्ला हुम्ला सडक सञ्जालसँग जोडिएको छैन्। स्टेसनरी व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको नेपालगन्ज कार्यालयबाट हवाई मार्ग भएर किताब हुम्लामा पुर्‍याउँछन्। अघिल्लो वर्ष हुम्लामा असोजतिर किताब पुगेका थिए। त्यो पनि विद्यार्थी अनुपातमा आधा मात्रै। यो वर्ष भने ६ देखि १० कक्षाका ६ हजार ५७० विद्यार्थीका लागि पर्याप्त पुस्तक हुम्ला पुगिसकेका छन्।

हुम्लामा विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउने जिम्मा तीनवटा स्टेसनरी व्यवसायीले पाएका छन्। यसपटक ती तीनवटा स्टेसनरी व्यवसायीले क्रमशः ४७५, ५२५ र ९२० सेट पुस्तक जिल्लामा लगेर पालिका–पालिकामा पुर्‍याएका छन्। ‘पहिलोपटक हुम्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन्,’ हुम्लाका स्टेसनरी व्यवसायी लोकेन्द्र भण्डारीले भने, ‘यो वर्ष हुम्लामा पाठ्यपुस्तक अभाव भएका समाचार सुन्न पाइनेछैन्।’ भण्डारीका अनुसार जिल्लामा पुगेका पुस्तक स्थानीय तहको मागका आधारमा सम्बन्धित विद्यालयसम्म पुर्‍याइएको छ।

हिमाली जिल्ला हुम्ला सडक सञ्जालसँग जोडिएको छैन्। स्टेसनरी व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको नेपालगन्ज कार्यालयबाट हवाई मार्ग भएर किताब हुम्लामा पुर्‍याउँछन्।

जनक शिक्षा सामग्री केन्द्र नेपालगन्जका प्रमुख होमराज ढुंगानाले दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक वितरण गरिएको बताए। ‘ढुवानीमा समय लाग्ने भएकाले हिमाली जिल्लालाई पहिलो प्राथमिकतामा राखेर हामीले पुस्तक वितरण गरेका हौं,’ उनले भने, ‘नयाँ शैक्षिक सत्रका कक्षा लाग्नुअघि नै सबै ठाउँमा पुस्तक पुगिसकेको छ। यो वर्ष कर्णालीमा पाठ्यपुस्तकको अभाव हुँदैन।’

ढुंगानाले दुर्गमका केही स्थानमा विद्यार्थीको हातसम्म पुस्तक पुग्न भने केही समय लाग्न सक्ने बताए। ‘हामीले सूचीकृत सप्लायर्सलाई मात्रै पुस्तक वितरण गर्ने हो, अरूलाई दिन मिल्दैन्,’ उनले भने, ‘सूचीकृत सप्लायर्सले जिल्लामा लगेर त्यहाँबाट स्थानीय तहसम्म पुर्‍याउँदा विद्यार्थीको हातमा पुग्न केही समय लाग्न सक्छ।’

जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० सम्मका किताब वितरणको जिम्मेवारी लिएको छ। केन्द्रको नेपालगन्ज शाखाले हुम्लासहित डोल्पा,रुकुम पश्चिम र सल्यान जिल्लामा पुस्तक वितरण गर्छ।

केन्द्रको नेपालगन्ज कार्यालयका अनुसार हुम्लामा १५ सय सेट, रुकुम पश्चिममा २७ सय सेट, सल्यानमा ५७ सय सेट र डोल्पामा १८ सय सेट किताब पुगिसकेका छन्। कक्षा ६ देखि १० सम्म रुकुम पश्चिममा २० हजार ८५३, सल्यानमा २७ हजार ५१ र डोल्पामा तीन हजार ४६९ विद्यार्थी छन्।

जुम्लामा यस पटक नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुगेका छन्। आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए। उनका अनुसार कक्षा १ देखि १० सम्मका १ हजार थान पाठ्यपुस्तक जुम्ला पुगिसकेका छन्।

अहिलेसम्म ७ हजार १०० थान बढी पाठ्यपुस्तक जिल्लामा आइपुगेको हुम्लाकै जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले बताए। सामुदायिक विद्यालयका विद्यार्थीको संख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पुस्तक आइपुगेको उनले बताए।

जुम्लामा यस पटक नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुगेका छन्। आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए। 

विगतका वर्षमा शैक्षिक सत्र आधा सकिँदासम्म पनि कर्णालीका विकट जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक पाउँदैनथे। तर यो वर्ष समयमै पाठ्यपुस्तक आएकाले विद्यार्थीलाई सहज हुने देखिएको छ। जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले पुस्तक पनि चाँडै ल्याउन सकिएको जुम्लाका स्टेसनरी पसल सञ्चालकहरू बताउँछन्। शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख मक्करबहादुर भण्डारीका अनुसार जुम्लामा १ सय ७१ सामुदायिक विद्यालयमा ४० हजार विद्यार्थी छन्।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेतस्थित गोदामबाट पुस्तक लिँदै व्यवसायी। तस्बिर: नगेन्द्र/सुर्खेत

जुम्लाको हिमा गाउँपालिकाले आफ्ना विद्यार्थीका लागि आफैंले पुस्तक लगेको छ भने सातवटा स्थानीय तहले स्टेसनरीसँग समन्वय गरेर पुस्तक पुर्‍याएका छन्।

सिंजा गाउँपालिका–६, जोडुस्थित माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने हिमाल बुढाले यो वर्ष समयमै पुस्तक पाउँदा खुसी लागेको बताए। विगतका वर्षमा हिमाली जिल्लाहरूमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने र विद्यार्थीले समयमै पुस्तक नपाउँदा पठनपाठनमा असर परेको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै कर्णालीमा पनि सोहीअनुसार पठनपाठन हुँदैछ।

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली कार्यालयको तथ्यांकअनुसार कर्णालीमा ६ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीको संख्या दुई लाख पाँच हजार ८९९ छ। कर्णालीका १० जिल्लामा हालसम्म ३६ हजार सात सय सेट पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रको सुर्खेतस्थित कार्यालयका प्रमुख भैरवबाबु पन्तले जानकारी दिए।

 विगतका वर्षमा हिमाली जिल्लाहरूमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने र विद्यार्थीले समयमै पुस्तक नपाउँदा पठनपाठनमा असर परेको थियो।

‘सूचीकृत बिक्रेताहरूले स्थानीय तहबाट विद्यार्थी संख्या ल्याएर सोहीअनुसार आवश्यक पुस्तक लिएर जानुभएको छ,’ उनले भने, ‘हामीले पठाएका छौं, केही ठाउँमा विद्यार्थीको हातमा पुस्तक पुग्न भने समय लाग्न सक्छ।’

कार्यालय प्रमुख पन्तले विद्यार्थीले किताब नपाए सिधै फोन गर्न सक्ने बताए। ‘ठाउँ हेरेर फोन आएको एकदेखि तीन दिनभित्र पुस्तक विद्यार्थीको हातमा पुर्‍याउने गरी तयारी अवस्थामा हामी छौं,’ उनले भने, ‘आजसम्म पुस्तक पाएनौं भनेर कहींबाट फोन आएको छैन।’ उनले पहिलो पटक कर्णालीका विद्यार्थीलाई समयमै पुस्तक पुर्‍याउन पाउँदा खुशी लागेको बताए।

‘जहिल्यै कर्णालीले समयमै पुस्तक पाएन भन्ने समाचार सुन्नपर्थ्याे, यो वर्ष कर्णालीमा समयमै पाठ्यपुस्तक पुर्‍याइएको छ,’ उनले भने, ‘सही व्यवस्थापन र समयमै पाठ्यपुस्तक छाप्न सके दुर्गममा पनि शैक्षिक सत्र सुरु हुनुअगावै पुस्तक पुर्‍याउन सकिँदो रहेछ।’

कार्यालय प्रमुख पन्तले विद्यार्थीले किताब नपाए सिधै फोन गर्न सक्ने बताए। ‘ठाउँ हेरेर फोन आएको एकदेखि तीन दिनभित्र पुस्तक विद्यार्थीको हातमा पुर्‍याउने गरी तयारी अवस्थामा हामी छौं,’ उनले भने, ‘आजसम्म पुस्तक पाएनौं भनेर कहींबाट फोन आएको छैन।’

स्टेसनरी व्यवसायीहरू पनि यो वर्ष जनक शिक्षा सामग्री केन्द्रले वितरण गर्ने किताब अभाव नरहेको बताउँछन्।

‘पहिले मागभन्दा थोरै किताब आउँथे, धर्ना दिएर जनक शिक्षाको गोदामबाट पुस्तक लिनुपर्ने बाध्यता हुन्थ्यो,’ सुर्खेतस्थित न्यु प्रभात स्टेसनरीका सञ्चालक कमल नेपालले भने, ‘अहिले आवश्यक पुस्तक पाइसकेका छौं। यो वर्ष जनक शिक्षाले कर्णालीमा समयमै किताब पुर्‍याएको छ।’

प्रकाशित: १७ वैशाख २०८० ०१:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App