१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

सेन्टजेभियर्समा भर्ना रोकिँदा चार हजार विद्यार्थीको भविष्य अन्योल

सेन्ट जेभियर्स स्कुल जाउलाखेलको कक्षा १ मा नयाँ विद्यार्थी भर्ना रोकिँदा करिब चार हजार विद्यार्थीको भविष्य अन्योल बनेको छ। महानगरपालिकाले स्कुलले उपलब्ध गराउँदै आएको विद्यार्थी भर्ना कोटामा एकरूपता नभएकाले यसलाई व्यवस्थित गर्नुपर्ने भन्दै चैत ६ मा स्कुललाई भर्ना प्रक्रिया अविलम्ब यथास्थितिमा स्थगन गर्न निर्देशन दिएको थियो। महानगरको निर्देशनपछि स्कुलले भर्ना प्रक्रिया रोकेको छ। भर्ना रोकिँदा नतिजा कुरिरहेका साढे ५ वर्षदेखि साढे ६ वर्षका चार हजार बालबालिका र तिनका अभिभावक तनावमा छन्।

स्कुलले व्यवस्थापन समितिको निर्णयबाटै सिट कोटा निर्धारण गरी फागुन १८ देखि भर्ना प्रक्रिया सुरु गरेको थियो। शिक्षा मन्त्रालयले कक्षा १ मा प्रवेश परीक्षा नलिन स्कुलहरूलाई निर्देशन दिएपछि यसपटक विद्यालयहरूले भर्ना फारामकै आधारमा सर्टलिस्ट गरी अन्तरक्रियाबाटै विद्यार्थी भर्ना सुरु गरेका छन्। सेन्ट जेभियर्समा पनि नयाँ शैक्षिक सत्रका लागि एक सय ५० सिटमा चार हजार पाँच सय विद्यार्थीको फाराम आएको स्कुल प्रशासनले जनाएको छ; जसमध्ये तीन हजार ७ सयको सर्टलिस्ट गरी यसमध्ये तीन हजारको अन्तरक्रिया सम्पन्न गरिसकेको थियो।

‘चैत्त ७ गते ७ सय विद्यार्थीको अन्तरक्रिया सकिएर लटर तयारी हुँदै थियो’, स्कुल व्यवस्थापन समीतिको एक सदस्यले भने, ‘तर महानगरपालिकाको निर्देशनपछि भर्ना स्थगन भयो। यसले चार हजार विद्यार्थीको भविष्य अन्योल बन्यो।’ ती सदस्यले नागरिकसँग भने, ‘विद्यालय व्यवस्थापन समितिकै निर्णयबाट कोटा निर्धारण गरी भर्ना खुलाएका हौं। तर महानगरले बीचैमा भर्ना प्रक्रिया रोकिदिँदा विद्यार्थी मानसिक तनावमा छन्।’

‘विगतमा कक्षा १ मा भर्ना समयमा राजनीतिक दलदेखि उच्च ओहोदामा रहेकाहरूको निकै दबाब आउँथ्यो। दबाब थेग्न नसकिएपछि भर्ना प्रक्रियालाई मर्यादित र व्यवस्थित गर्न स्कुल व्यवस्थापनले विगत दुई वर्षदेखि लटरी प्रणालीबाट विद्यार्थी छनोट गर्दै आएको हो’, विद्यालय स्रोतले भन्यो, ‘सेन्ट जेभियर्समा भर्ना गराइदिने भन्दै विभिन्न व्यक्तिले रकम असुली गरेको, तयारी कक्षाका नाममा अभिभावकसँग कन्सल्टेन्सी सञ्चालकहरूले मोटो रकम असुली गरेको थुप्रै गुनासा आए।’

स्रोतले भन्यो, ‘स्कुललाई बद्नाम गर्ने सबै अनैतिक कार्य रोक्न विद्यालयले फाराम भर्ने विद्यार्थीलाई सर्टलिस्ट गरी लटरीबाटै भर्ना लिन थालेपछि भनसुन कम भयो। भर्ना व्यवस्थित बन्यो। यसपटक भने महानगरले अन्तिम चरणमा भर्ना रोकेर विद्यार्थीमाथि अन्याय गरेको छ।’

स्कुलले उपलब्ध गराएको भर्ना कोटाका विधि तथा प्रक्रियाअनुसार व्यवस्थापन समितिको फागुन १९ को बैठकले गरेको निर्णयअनुसार कर्मचारीका छोराछोरीलाई छुटाएर बाँकी रहेको संख्यामा समूहगत प्रतिशत कायम गरेको छ; जस अनुसार दलित समुदायलाई ५ प्रतिशत, सीमान्तकृत एवं आर्थिक रूपले विपन्न एकल महिला, शारीरिक रूपले अक्षम र असक्त अभिभावक १० प्रतिशत र अल्पसंख्यक समुदायलाई १० प्रतिशत कोटा निर्धारण गरेको छ।

यसैगरी विद्यालयमा अध्ययनरत विद्यार्थीका सहोदर भाइबहिनी १० प्रतिशत, पूर्वविद्यार्थी एलुमुनाईका छोराछोरी १० प्रतिशत, ललितपुर महानगरपालिका– ४ का स्थायी बासिन्दालाई ५ प्रतिशत र ललितपुर महानगरपालिका क्षेत्रभित्रका स्थायी वासिन्दालाई १० प्रतिशत र खुला तथा साधारणतर्फ ४० प्रतिशत कायम गरी भर्ना प्रक्रिया सुरु गरेको हो। जेभिरियनविच संस्कार कायम गर्न र शिक्षक कर्मचारीलाई थप प्रोत्साहित गर्न विद्यालयले स्थापनाको ७० वर्षदेखि कोटा निर्धारण गरी भर्ना लिँदै आएको विद्यालय व्यवस्थापनले जनाएको छ।

सेन्ट जेभियर्स अभिभावक र विद्यार्थीका बीचमा एउटा ब्र्रान्ड बनिसकेकाले यसप्रति आकर्षण बढ्दै गएकोमा दुई मत छैन, तर भर्ना कोटालाई व्यवस्थित गर्न महानगरले पहल मात्र गरेको महानगर शिक्षा विभाग प्रमुख महेन्द्र क्षेत्रीले बताए। उनले महानगरले विद्यार्थी वा तिनका अभिभावकलाई कुनै सास्ती दिन नभई स्कुलले उपलब्ध गराउँदै आएको कोटामा एकरूपता कायम गर्न खोजेको दाबी गरे।

विभाग प्रमुख क्षेत्रीले हाल स्कुलले उपलब्ध गराउँदै आएको विद्यार्थी भर्ना कोटामा एकरूपता नभएकाले सर्वसाधारणबाट मर्का परेको गुनासो आएकाले महानगरपालिकाले कोटामा एकरूपता कायम गर्न निर्देशन दिएको जनाए। ‘दलित, सीमान्तकृत तथा अल्पसंख्यक समुदाय गरी २५ प्रतिशत समावेशी अन्य सबैलाई एकै प्रक्रियाबाट विद्यार्थी भर्ना गर्नुपर्ने महानगरको निर्देशन हो’, शिक्षा विभाग प्रमुख क्षेत्रीले नागरिकसँग भने, ‘गुठीअन्तर्गत सञ्चालित सेन्ट जेभियर्सले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको छ, यसमा कुनै शंका छैन, तर कोटामा सबैलाई एकरूपता हुनुपर्छ।’

उनले थपे, ‘विद्यालयसँग महानगरले दुईपटक छलफल गरिसकेको छ। अब छिटै समस्या समाधान गरी भर्ना खुल्छ।’ उनका अनुसार महानगरभित्र ४० सामुदायिक र दुई सय ३७ निजी विद्यालय छन्। 

प्रकाशित: १८ चैत्र २०७९ ००:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App