१५ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

मेडिकल शिक्षामा बेथिति: रकम फिर्ता माग गर्दै विद्यार्थी आन्दोलनमा

त्रिभुवन विश्वविद्यालय चिकित्यसा शास्त्र अध्ययन संस्थान आइओएम परिसरमा विद्यार्थी आन्दोलनको अवस्था हेर्दा हिन्दी चलचित्र थ्रि इडिएटको कथासँग मिल्दोजुल्दो देखिन्छ। चलचित्रमा विश्वविद्यालयमा हुने रैगिंग, अभिभावकको करकाप र समाजिक प्रतिष्ठाकै लागि भए पनि रुचि विपरीतको विषयमा बलजफ्ती उच्च शिक्षामा सहभागिता, शुल्क तिर्न नसक्दा अभिभावकले भोग्नुपरेको समस्या, जबरजस्ती पढ्दा फेल हुनुपरेको पीडा र अन्तमा मानसिक तनावा झेल्न नसकेर आत्महत्या गरेको देखाए जस्तै नेपालमा पनि मेडिकल शिक्षामा अध्ययनरत विद्यार्थीसँग यस्तै समस्या देखिएको छ।

विगत पाँच दिनदेखि आइओएममा मेडिकल दोस्रो वर्षमा सफल हुन नसकेका विद्यार्थी आन्दोलनमा छन्।

आइओएम परिसरमा पाँच दिनदेखि पीडित विद्यार्थीहरू दुई सूत्रीय माग राखी कालो ब्यानर टाँगेर दिनहुँ आन्दोलन गरिररहेका छन्। उनीहरूको माग भने मेडिकलमा लागु भएको अवधि बढाउनुपर्ने र मेडिकल शिक्षा हासिल गर्न नसक्ने विद्यार्थीको रकम कलेजले फिर्ता गरिदिनुपर्ने रहेको छ। अर्थात् मेडिकल प्रथम वर्षको ६ पटकको अवधि बढाएर आठपटक र दोस्रो वर्षको चार पटकको अवधि बढाएर६ पटकसम्म परीक्षामा सामेल हुन पाउने व्यवस्था कार्यान्वयन गर्नुपर्ने र भर्ना हुँदा कलेजहरूले विद्यार्थीबाट असुलेको एकमुष्ठ रकम प्रमाणको आधारमा डिन कार्यालय मार्फत फिर्ता गराउनुपर्ने माग छ।

यी दुई माग पूरा गर्न पहल गर्ने पीडित विद्यार्थी र आइओएमका सहायक डिन प्राडा प्रेमराज ज्ञवालीसँग भदौ ३१ गते लिखित सहमति पनि भएको थियो। करिब तीन सयका हाराहारीमा रहेको पीडित विद्यार्थीहरू चिकित्सा शिक्षा आयोग स्थापना हुनुपूर्वका र केही स्थापना पछिका समेत मेडिकलमा प्रवेश परीक्षा पास भएर कोन्सिलिङबाट पास भई त्रिविअन्तर्गतका निजी कलेजमा एकमुष्ठ साढे पाँच वर्षको शुल्क बुझाएर अध्ययन गरिरहेका थिए।

पीडित विद्यार्थीका अनुसार कोरोना कालमा धेरै विद्यार्थी पीडित बनेका हुन्। दुई वर्ष कोरोनाका क्रममा परीक्षामा सामेल हुन नसकेका विद्यार्थीलाई पनि परीक्षामा सामेल भएको गन्ती गरिएको उनीहरूको गुनासो छ।

कतिपय विद्यार्थीले बेरिअर कटाउन सकेका छैनन्। तर कलेजले भने नियमविपरीत विद्यार्थी र तिनका अभिभावकसँग साढे पाँच वर्षकै ६० लाखसम्म शुल्क असुलेको छ। जबकी यो त्रिवि नियमविपरीत हो।

‘अब कलेजहरूले यी बेरिअर कटाउन नसकेका विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययन गर्न असक्षम भन्दै निकालकोे छ। साथै दोस्रो वर्षको सुरुवातमै असुलेको साढे पाँच वर्षको शुल्कमध्ये दुई वर्षको कटाएर फिर्ता दिन मानेको छैन,’ आन्दोलनमा उत्रेका मेडिकल कलेजका विद्यार्थीले पीडा पोखे, ‘आफूले नपढेको वर्षको रकम फिर्ता माग्दा कलेजले धम्क्याउँदा अन्य कलेजका केही साथी मानसिक तनावमा आएर आत्महत्या गर्नुभयो। भदौदेखि हामी आन्दोलनमा छौं। हाम्रो सम्बन्धित निकाय नै आइओएम डिन हो। सहायक डिनले हाम्रो माग पुरा गराउन पहल गर्ने गरेको सहमति पुरा भएन। यति मात्र होइन त्रिवि नियमअनुसार मेडिक शिक्षा १० वर्षभित्र पुरा गर्नुपर्छ। कलेजहरूले १० वर्षको अवधि बिताएर हाम्रो रकम ठगी गर्न खोजेको देखिन्छ।’

आइओएमकी डिन डा. दिव्या सिंहका अनुसार त्रिभुवन विश्वविद्याल मेडिकल शिक्षासम्बन्धी ऐन २०५० मा गरिएको व्यवस्थाअनुसारत्रिविले मेडिकल शिक्षामा बेरिअर प्रणाली लागु गरेको हो। जसअनुसार प्रथम वर्षमा ६ पटक रदोस्रो वर्षमा चार पटकसम्म मात्र परीक्षामा सामेल हुन पाउने व्यवस्था छ। उनले विद्यार्थीसँग भएको सहमति अनुसा र एक समिति बनाएर छलफल अघि बढाएको समेत बताइन्।

उनले त्रिविले २९ वर्ष अघि गरेको व्यवस्थाविपरीत डिन जान नसक्ने समेत स्पष्ट पारिन्। ‘कलेजले एकमुष्ठ रकम लिएर ठगी गरेको भए विद्यार्थीले प्रहरीमा उजुरी हालेर जानुपर्छ। डिन कार्यालयले गर्ने सहयोग गर्छ। तर नियमविपरीत डिन कार्यालय पनि जान सक्दैन,’ डिन सिंहले स्पष्ट पारिन्, ‘स्वस्थ्य शिक्षा मानव जीवनसँग जोडिएको संवेदनशील विषय हो। डा. गोविन्द केसीको आन्दोलन र हाल आइओएममा अध्ययनरत विद्यार्थी पनि मेडिकलमा बेरिअर कायम गर्ने पक्षमै रही लिखित निवेदनै दिएका छन्। हाल आइओएमबाटै विद्यार्थीले मेरिटको आधारमा भर्ना हुन्छन्। आइओएमले विद्यार्थीले एकतिहाई शुल्क मात्र तिर्नुपर्ने व्यवस्था छ। जुन डिन कार्यालयमा कायम छ।’ निजीको सवालमा पनि विद्यार्थीले डिन कार्यालयमै एकतिहाई शुल्क तिरेर भर्ना हुन्छन्।

डिनले कलेजको नाममा एकमुष्ठ रकम असुली गरेर विद्यार्थी पिडित गर्ने त्रिविका कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, गण्डकी मेडिकल कलेज, बिपि कोइराला धरान, आर्मी मेडिकल कलेज, किस्ट मेडिकल कलेज, नेसनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्स र जानकी मेडिकल कलेजका हुन्।

आन्दोलनको नेतृत्व गरिरहेका नेकपा एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियुका जिल्ला अध्यक्ष एवं स्थायी कमिटी सदस्य एटम विद्रोहीले डिन कार्यालय निजी कलेजहरूसँग मिलिमतोमा मेडिकलको विद्यार्थीलाई आर्थिक, समाजिक रमानसिकरूपमै पीडित बनाउँदै आएको जनाउँदै उनले डिन कार्यालयले विद्यार्थीको माग सम्बोधन नगरे सोमबारदेखि कडा आन्दोलनमा उत्रने चेतावनी दिए। ‘इन्टर्नसिपसहित साढे पाँच वर्षको कोर्ष त्रिवि नियम अनुसारइन्टर्ससिप सहित १० वर्षभित्र पुरा गराउने एकतिर व्यवस्था छ भने अर्कोतिर २९ वर्षअघि भएको बेरिअर व्यवस्था एक आपसमा बाझिने खालको छ।

यो त्रिविले परिमार्जन गर्नेपर्छ,’ एटमले भने, ‘एमबिबिए र रबिडिएकमा समाजिक प्रतिष्ठा जोडिएको हुन्छ भने अर्कोतफ अभिभावले विभिन्न कठिनाइ सहेर ठूलो रकम कलेजलाई पहिल्यै बुझाएका छन्। यदि विद्यार्थी मेडिकल पढ्न योग्य छैन भने नपढेको वर्षको रकम फिर्ता गर्नुपर्छ। यसतर्फ त्रिविले संवेदनशील हुनैपर्छ।’ यति मात्र होइन विद्यार्थीले कलेजको नाम समाचारमा दिए भने थप मानसिक पिडा खेप्नुपर्ने त्रास रहेको र विद्यार्थीलाई आत्महत्यासम्म पुर्‍याउने मेडिकल शिक्षाको समसया अन्त्य हुनुपर्ने उनले बताए।’

प्रकाशित: २५ पुस २०७९ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App