४ पुस २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

शान्त समय

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण समय आएको छ। निर्वाचन आयोगले दिएको नाम ‘स्थिर समय’ हो। यसलाई शान्त समय वा मौन अवधिका रूपमा पनि चिनिन्छ। बिहीबार मध्यरातबाट सुरु हुने ४८ घन्टा लामो शान्त समय मुलुकको भाग्य र भविष्य निर्माणका निम्ति चिन्तनको अवधि हो। उम्मेदवारले यतिका दिनसम्म आफू र आफ्नो दललाई विजयी गराउन मत मागेका छन्। अब मतदाताले शान्त समयमा आफूले मत दिने दल र उम्मेदवारका बारेमा सोच्ने हो। मुलुकको जीवनमा निर्वाचन वास्तवमै महत्वपूर्ण क्षण हो। एक त आवधिक निर्वाचन लोकतन्त्रको जीवनी शक्ति हो। अर्को, यसले प्रत्येक निर्वाचनपछि आफूलाई शासन गर्ने योग्य व्यक्ति चयनका लागि मतदातालाई मौका दिन्छ।

स्वच्छ र धाँधलीरहित निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो। यसले सबै उम्मेदवारलाई समान अवसर दिन्छ। लोकतन्त्र भनेकै सबैका निम्ति समान अवसर हो। खेलाडीका निम्ति समान किसिमको मैदान भयो भने मात्र प्रतिस्पर्धा उम्दा हुन्छ। निर्वाचन पनि त्यही हो। कोही बढ्ता शक्तिशाली र कोही शक्तिहीन देखिए भने प्रतिस्पर्धाको स्वस्थ वातावरण बन्न सक्दैन। यसकारण पनि निर्वाचन आयोग जस्तो संवैधानिक अंगलाई यो अवधिको नेतृत्वकर्ताका रूपमा लोकतान्त्रिक शासन व्यवस्थामा उल्लेख्य स्थान दिएर राखिएको हुन्छ। यसले खेलको नियम तय गर्छ। त्यो नियमको पालना भए/नभएको पनि यसले अनुगमन गर्छ।

शान्त समयको अनुगमनमा यसपटक निर्वाचन आयोगले विशेष तयारी गरेको बताएको छ। यो अवधिमा कसैले मतदातालाई आफूतिर तान्न प्रलोभन दिने वा प्रचारप्रसार गर्ने अवस्था आउन नदिन गोप्यरूपमा अनुगमनकर्ता खटाएकोसमेत आयोगले बताएको छ। विगतमा पनि निर्वाचन आयोगको सक्रियता देखिएको हो। तर यसपटक धेरै अर्थमा निर्वाचनलाई स्वच्छ बनाउन आयोगले भूमिका खेलेको देखिएको छ। पहिले जसरी आचारसंहिता उल्लंघन गर्ने स्थिति बन्थ्यो, त्यसमा उल्लेख्यरूपमा कमी आएको देखिन्छ। तर, यसको वास्तविक अनुभव भने निर्वाचनकै दिन हुने छ। यो बेलामा सञ्चार माध्यमसमेत शान्त समयलाई मनन् गर्दै निर्वाचन प्रतिस्पर्धाका समाचार र टिप्पणी भन्दा अन्य विषयतिर लाग्छन्। वास्तवमै शान्त समयको व्यावहारिक अभ्यास यतिबेला भइरहेको छ।

निर्वाचनका लागि अब धेरै समय बाँकी छैन। तर निर्वाचनका लागि महिनौँ दिनदेखि तयारी भइरहेको छ। मतदातादेखि उम्मेदवारसम्मका आफ्ना तयारी भएका छन्। दलहरूले पनि लामो समयदेखि विभिन्न तयारी पूरा गरेका छन्। अब भने बेला आएको छ, यो महिनौँ दिनको तयारीको प्रतिफल लिने। यसबीच कसले कति प्रभाव पार्न सके वा मतदातामा कस्ता विचार प्रस्फुरण भए भनेर हेर्न निकै रोचक हुन्छ। मतदानपछि प्राप्त हुने अभिमतको प्रतीक्षा देशभित्र मात्र हुँदैन। विश्वका विभिन्न मुलुकले समेत नेपालको लोकतान्त्रिक अभ्यासको रुचिपूर्वक अवलोकन गर्छन्। अझ निर्वाचन जति शान्तिपूर्ण हुन्छ, त्यसले त्यति लोकतन्त्रमा विश्वास गर्ने विश्वका मानिसलाई हाम्रो व्यवस्थाको परिपक्वताबारे जानकारी हुन्छ।

आजको विश्व एकअर्कासँग जोडिएको छ। एक देशमा भएको राम्रो अभ्यास अरूले पनि अनुकरण गर्छन्। नेपालको लोकतन्त्रको अभ्यास राम्रो भयो भने स्वाभाविकरूपमा अरूलाई समेत प्रेरणा प्राप्त हुन्छ। विश्वमा भएका खराब अभ्यासले अरूलाई पनि प्रभाव पार्छ। अहिले विश्वमा चलिरहेको लोकप्रियतावादको अभ्यासले कुनै न कुनै रूपमा विभिन्न देशलाई प्रभाव पारेको छ। लोकतन्त्रभित्रैबाट उदाएका खराब नेताकै कारण लोकतन्त्र खतरामा परेको उदाहरण पनि छन्। तर जुन मुलुकको प्रणाली बलियो छ, त्यहाँ खराब नेता आए पनि तिनले पूरै बिगार्न नसक्ने रहेछन्। यसकारण पनि मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सक्ने गरी उम्मेदवार चयनमा मतदाताले शान्त समयको सदुपयोग गर्नु उचित हुन्छ।

शान्त समय ध्यानको स्थिति जस्तो हो। तुलनात्मकरूपमा यसपटकको निर्वाचनमा अनेकन आवाज सुनिएका छन्। किसिम किसिमका व्यक्ति मैदानमा आएका छन्। अब गुण र दोष केलाउने समय हो यो। त्यसैले शान्त भएर आफूले मतदान गर्ने विषयमा चिन्तन गर्ने हो। सही चिन्तनले देश बनाउँछ। हामीकहाँ राजनीतिप्रति धेरै असन्तुष्टि सुनिन्छ। भविष्यमा असन्तुष्टि व्यक्त गर्नुपर्ने अवस्था आउन नदिन अहिले प्राप्त केही घन्टाको सदुपयोग गर्न सकिन्छ। यो अवधिमा सही निर्णयका निम्ति आफूलाई तयार पार्ने हो भने परिणाम सुखद हुन्छ। यस्तो परिणामका निम्ति यो अवधिको सदुपयोग गर्न आममतदाता तत्पर हुनुपर्छ।

मतदान शब्दमा जोडिएको ‘दान’ आफैँमा सुविचारित शब्द हो। दान दिँदा त्यसबाट प्राप्त हुने प्रतिफल पवित्र हुन्छ। केही प्राप्त गरेर मात्र दान दिने भन्ने हुँदैन। दान दिइसकेपछि त्यसबाट मुलुकका निम्ति असल काम हुनुपर्छ। त्यसैले मुलुक र आफ्ना सन्ततिको भविष्य सोचेर मतदान गर्नुपर्छ। असल नेता मुलुकले प्राप्त गर्‍यो भने त्यसबाट वास्तवमै परिणाम सुखद हुन्छ। विश्वका कैयन् मुलुक उन्नतिको शिखरमा छन्। त्यो अवस्था ल्याएको असल नेताले हो। असल नेता जनताले छान्ने हो। अतः यो शान्त समयमा आममतदाताले सही नेतृत्व चयनका निम्ति लगाउने हो। यसपटक आममतदाताले चमत्कारपूर्ण निर्णय गर्ने अपेक्षा छ।  

प्रकाशित: २ मंसिर २०७९ ००:२३ शुक्रबार

Download Nagarik App
Download Nagarik App