२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

सडकमा सधैँ समस्या

मुलुकमा सडक विस्तारको गति बढेको छ। तर सडक आफैँमा धराप छन्। यी धराप सडकका कारण कैयन्ले जीवन गुमाउनुपरेको छ। सडक जहाँसुकैका हुन् त्यसमा समस्या छ। अगाडि सडक ठीक होला भन्ने विचार राखेर कोही हिँड्छ भने निश्चितरूपमा खाल्डामा पर्ने खतरा हुन्छ।

सडकमा कहीँकतै समस्या होला कि भनेर सावधानीका संकेत चिह्न राख्ने गरिन्छ। हामीकहाँ प्रत्येक पाइलामा खतरा छ, कहाँ सावधानी अपनाउनु ? राजधानी काठमाडौँको मुटु नयाँ वानेश्वर जहाँ संसद् भवनसमेत छ, त्यसको अगाडि परेको खाल्डो देख्दा कहाली लाग्छ। धन्य, त्यसमा परेर कुनै धनजनको क्षति भएन।

बानेश्वरको त्यो खण्डमा यस्तो खराब स्थिति होला भन्ने कल्पना कसैले गर्दैन। कथं त्यहाँ कोही परिहालेको भए के हुन्थ्यो ? यो आफैँमा आङ सिरिङ्ग पार्ने घटना हो। बानेश्वरको मूल सडकमा यस्तो देखिएका कारण धेरैको ध्यानाकर्षण भएको छ।

यो कसरी भएको होला भन्ने चिन्ता र चासो पनि देखिएको छ। यस्तो स्थिति जहाँसुकैका सडकमा देख्न पाइन्छ। कतै मंगल खोलेर राखिदिएको छ। कतै खाल्डो खनेर त्यत्तिकै छाडिदिएको हुन्छ। सडक अलिअलि टालटुल पारेर छाडिन्छ। फेरि केही महिनापछि त्यसलाई टालटुल पार्न फेरि बजेटको व्यवस्था भइहाल्छ। सडकमा जति बेथिति अन्यत्र कहाँ होला र?

सडकसँग जोडिएका विभिन्न निकाय छन्। आफ्नो योजना र स्वार्थअनुसार त्यसमा निर्माणका काम चलिरहन्छन्। एउटा निकायले आज भत्काउँछ। फेरि अर्कोले आएर त्यसलाई टाल्छ। दुई दिनपछि फेरि त्यहीँ भत्काएको देखिन्छ। सडक प्रयोगकर्तालाई लागेको आश्चर्य के हो भने आज राम्ररी कालोपत्रे गरेको हुन्छ, केही दिनमै आएर अर्को निकायले भत्काउँछ।

आखिर अर्को निकायलाई भत्काउनु नै थियो भने किन दुई दिन नकुरेको ? यसो गर्दा सबैलाई लाभैलाभ हुन्छ। आज बनाएको सडक दुई दिनमा भत्कियो भने गुणस्तरको कुनै प्रश्न उठ्न पाउँदैन। ‘सम्धीले बारेको बार कुखुराले भत्कायो’ भनेजस्तो स्थिति छ। कम गुणस्तरको काम गरे पनि यसले खासै फरक पार्दैन। जति कम गुणस्तरको काम गर्‍यो, त्यति धेरै लाभान्वित हुने सरोकारवाला निकाय छन्।

यदाकदा कम गुणस्तरको काम गर्ने व्यक्तिहरूमाथि कारबाही हुन्छ। आफ्नै घरअगाडि भएको कामको गुणस्तर हेर्ने जाँगरसमेत सर्वसाधारणमा देखिँदैन। स्थानीय सडक प्रयोगकर्ता मात्रै सजग हुने हो भने पनि उनीहरूले यसमा सुधारको संवाहक बन्ने स्थिति हुन्छ। सबैजना तैँ चूप मै चूपको अवस्थामा बसेपछि सडक धराप बन्दै जान्छन्।

वास्तवमा सडक दुर्घटनाबाट हुने धनजनको क्षतिको एउटा कारण कम गुणस्तरको सडक पनि हो। सडकको गुणस्तर ठीक हुने हो भने पटक–पटक निर्माण गरिरहनु पर्दैन र सुरक्षाका हिसाबले पनि त्यो उम्दा हुन्छ। सडकको मर्मतमा जति धेरै खर्च भइरहेको छ त्यसको कारण कतै खोजिएको छैन। धेरै मर्मत खर्च लाग्नुको कारण त्यसको गुणस्तरकै कमी हो।

प्रायः सडकको काम एकैपटकमा पूरा गरिँदैन। एउटा खण्डको काम पूरा गरेपछि अर्को खण्ड पूरा गर्न लामो समय प्रतीक्षा हुन्छ। अर्को खण्डको काम त्यतिबेलामात्र हुन्छ जतिखेर यसअघि बनाएको सडक भत्कन थाल्छ। सडक बनाउने, भत्कने र त्यसमा मर्मत गर्ने एउटा गजबको प्रणाली विकसित गरेका देखिन्छ।

त्यसैले हरेक वर्ष त्यही ठाउँमा त्यस्तै खाल्डा पर्ने अवस्था कसरी हुन्छ ? सडक प्रयोगकर्ताले महसुस गरेको हुनुपर्छ, उनीहरू त्यहाँ हिँड्दाहिँड्दै कालोपत्रे हुन्छ। त्यो कालोपत्रे भएको खुसी धेरै लामो टिक्दैन, त्यहाँ भत्किसकेको हुन्छ।

सडकको नियमित अनुगमन गर्ने प्रणाली विकास गर्न सकेको भए यस्तो हुने थिएन। त्यसमा पनि केही विकास निर्माणसँग जोडिएका कार्यालय र विभागमा जिम्मेवारी पाउन ठूलो खेल हुने गरेको छ। नियुक्ति, सरुवा आदिमा समेत अनियमितता हुन्छ।

मोटो रकम बुझाउन सक्ने कर्मचारीले त्यसको जिम्मेवारी पाउँछ। त्यसपछि उसले ठेकेदार अन्य सरोकारवालासँगको मिलेमतोबाट कमाउ धन्दा सुरु गर्छ। विकास निर्माणसँग सरोकार राख्ने निकायहरूको अनुगमनबाट यो सहजै बुझ्न सकिन्छ।

सबैतिर मिलेमतो भएको हुँदा कसैले पनि यसलाई गम्भीरपूर्वक लिँदैन। सबैजना मौकाको ताकमा हुन्छन्। त्यसैकारण अहिलेको दूरवस्था आएको हो। सरकारको नेतृत्वमा सशक्त ढंगले अनुगमन गर्न सक्ने र अनियमिततामाथि कारबाहीको अभियान नै चलाउन सक्ने व्यक्ति नआइ यस्ता विषयमा सुधार आउने देखिन्न।

विकास निर्माणका निम्ति समन्वय गर्न सक्ने संरचनाको सर्वथा अभाव देखिएको छ। राजधानी उपत्यकाको खानेपानी, सडक, टेलिफोन, ढल निकास आदिसँग जोडिएका जति निकाय छन्, ती सबैको भूमिका यसमा देखिन्छ।

त्यसैले यी सबै निकायलाई सशक्त ढंगले परिचालन गर्न सक्ने विकास प्राधिकरण वा यस्तो कुनै सशक्त निकायको आवश्यकता देखिएको छ। विकास निर्माणका कामलाई यतिसाह्रै छरेपछि चाँडै एकीकृत ढंगले काम हुन सक्दैन। त्यतिमात्र होइन, कामको गुणस्तर कायम गर्न सकिँदैन।

कहिलेकाहीँ कुनै विपत्तिका कारण सडकमा समस्या देखिन सक्छ। तर यहाँका सडकमा सधैँ विपत्ति छ। विशेषगरी चाडबाडका बेला सर्वसाधारणले दुःख पाउने र ज्यानै गुमाउने अवस्था आउँछ। 

यसको कारण पनि यही हो। बानेश्वरको बीच सडकमा देखिएको खाल्डोलाई सामान्य घटनाका रूपमा मात्र बुझ्नुहुँदैन। यस्तो परिस्थिति सबै सडकमा आउन सक्छ। गुणस्तर नभएको कामबाट अरू के नै अपेक्षा गर्न सकिन्छ र? 

प्रकाशित: १० कार्तिक २०७८ ०१:३७ बुधबार

Download Nagarik App
Download Nagarik App