५ आश्विन २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

अकर्मण्यताको अलमल

कोरोना विषाणुबाट उत्पन्न संकटका सिलसिलामा मुलुकको राजनीति पूर्णरूपमा असफल भएको छ। आमनागरिकको जीवन जोगाउन नसक्ने राज्य संयन्त्र र यसलाई सञ्चालन गर्दै आएका दलहरूको असफलताको कुल जोड नै अहिलेको भयाबह स्थिति हो। यस मामिलामा सत्तारुढ नेकपा (एमाले) मात्र होइन, प्रमुख विपक्षी नेपाली कांग्रेस, केही अघिसम्म सत्तापक्ष र हाल प्रतिपक्षमा रहेको नेकपा माओवादी केन्द्र र क्षेत्रीय दल राष्ट्रिय जनता पार्टीलगायत सबै असफल भएका छन्। 

प्रमुख दल र तिनका हजारौँ कार्यकर्ता र भातृ संगठनको पनि कुनै अर्थ रहेन। यस्तो कठिन परिस्थितिमा तिनले कहिल्यै हातेमालो गर्न सकेनन्। प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बल्ल बिहीबार प्रधानमन्त्री केपी ओलीलाई आफ्नो दलबलसहित गएर सिंहदरबारमा ज्ञापनपत्र दिएका छन्। यतिका दिनसम्म कांग्रेस पनि निद्रामै थियो, बल्ल ब्युँझिएको छ। तर यो निकै ढिलो ब्युँझिएका कारण मुलुकमा जनधनको क्षति धेरै भएको छ।  

विपत्तिका बेला आमनागरिकको माइबाप भन्नु नै सरकार र दलहरू हुन्। यस पटक दलहरूले खेलेका भूमिका अत्यन्तै कमजोर रह्यो। वास्तवमा दलहरूले जनताका नाममा भविष्यमा राजनीति नगरे पनि हुन्छ। अहिले भएका सबै दल यस अर्थमा असफल सिद्ध भएका छन्। गत वर्ष चैतदेखिका १४ महिनामा यी दलले खेलेका भूमिकाबाट समेत पाठ सिकेर यिनका बारेमा त्यहीअनुसारको निर्णय सर्वसाधारणले नगर्ने हो भने स्थितिमा कहिल्यै सुधार आउँदैन। 

जुन मुलुकका सरकार, दल र नेताहरू संवेदनशील छन्, त्यहाँ संक्रमण नियन्त्रणमा निकै ठूलो सफलता प्राप्त भएको छ। तर संवेदनशीलता मरिसकेका हाम्रो मुलुकका नेताहरूबाट यो अपेक्षा गर्नु नै ठूलो गल्ती जस्तो हुन पुगेको छ अहिले। कोरोना संक्रमणमा सबैभन्दा बढी गैरजिम्मेवार प्रधानमन्त्री ओलीको सरकार रहेको छ। सरकारको ध्यान कोरोना नियन्त्रण र यथोचित रणनीति बनाउनतिर लागेको भए सम्भवतः उनका विरुद्धमा गतिविधि हुँदासमेत सबैले आपत्ति गर्ने अवस्था रहन्थ्यो। अघिल्लो बन्दाबन्दीका बेला ओली आफैँ उपचार गराएर आराम गरिरहेका थिए। आफ्नो अनुपस्थितिमा उनले जसलाई जिम्मेवारी दिए, ती सबै कामलाग्दा थिएनन्।  

कोरोना संक्रमणदेखि खोपको विकाससम्म आइपुग्दा विश्वभरिको राजनीति, कूटनीति, सामाजिक सम्बन्ध, राज्य, सरकार, दल आदिको भूमिकाका बारेमा पनि चर्चा भइरहेको छ। कसले कसरी भूमिका खेलेका छन् भन्ने एक–एक अभिलेख भइरहेको छ। हाम्रो मुलुकको ध्यान संक्रमणका बेला पनि अन्यत्रै थियो। प्रधानमन्त्रीको ध्यान दल विभाजन गर्ने अध्यादेश ल्याउनतिर थियो। सत्तारुढ दलका नेताहरू सत्ताशक्ति बाँडफाँटको झगडामा थिए। 

आफ्नो सत्ता र कुर्सी जोगाउनका निम्ति भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुख सामन्त गोयललाई बालुवाटारमा ल्याएर मन्त्रणा गर्न सक्ने अहिलेको सरकारका प्रधानमन्त्री ओलीलाई खोपको व्यवस्था गर्न भने केले रोकेको छ? उनले आफ्नो प्रभाव प्रयोग गर्न सक्थे होला तर गरेका छैनन्।

तिनले कहिल्यै कोरोना संक्रमणतिर आफूलाई लगाउन सकेनन्। प्रमुख विपक्षी कांग्रेसलाई समेत यसबारे ज्ञापनपत्र दिन झण्डै १४ महिना लागेको छ। प्रमुख विपक्षमा रहेको भन्नु मात्र हो, कांग्रेस त ओली सरकारको सबैभन्दा ठूलो सहयोगीका रूपमा रहेको हो। यसले कहिल्यै सरकारलाई अप्ठ्यारो पार्ने काम गरेन। सरकारको आलोचना गरिहाल्दा शान्ति भंग हुन्छ कि भनेझैँ स्थितिमा कांग्रेसले आफूलाई राखेको हो।  

कोरोनाविरुद्धको खोपकै मामिलामा पनि सरकारले आफूलाई तत्पर राख्न सकेन। खोप उत्पादक भारतपछि दक्षिण एसियामा यसको प्रयोग गर्नेमा दोस्रो मुलुक नेपाल बन्न सफल पनि भएको हो। सरकारले गत माघमै यो अभियान सुरु गर्दा धेरैले सकारात्मकरूपमा लिएका पनि हुन्। आमनागरिकलाई सरकारले खोप लगाउन पाइने आश्वासन दिए पनि त्यो सम्भव भएको छैन। अहिले आएर पहिलो मात्रा खोप लगाइसकेका ज्येष्ठ नागरिकले अर्को मात्रा लगाउन पाउने हुन् वा होइनन् अनिश्चित भएको छ। खोप खरिदका निम्ति भारतको सेरम इन्स्टिच्युटलाई पैसा पठाइसके पनि भनेका बेलामा बाँकी खोप पाउन सक्ने स्थिति देखिएको छैन।  

कोरोना संक्रमणसँगै यो मुलुकको सरकारमा आर्थिक अनियमितताको विषाणु पनि उत्तिकै सल्बलाएको छ। सुरुकै दिनमा गत वर्ष मेडिकल सामग्री खरिद गर्ने बेलामा देखिएको कमिसनको खेल अहिले खोप खरिद गर्ने बेलासम्म आइपुग्दा उत्तिकै सक्रिय छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले यी ‘तागतवर भूतप्रेत’ का बारेमा तिलस्मी कथा त भने तर तिनलाई सार्वजनिक गर्न उनी पनि हच्किए। उनकै सुझबुझका कारण भारतबाट खोप आएर लगाउने स्थिति भएकामा धेरैले उनलाई धन्यवाद पनि दिएका थिए। उनकै कारण ओली सरकारले नाक ठाडो पार्न पाएको पनि हो। तर पछि उनी पनि शान्त बसे। खोप खरिदमा देखिएको कमिसन काण्डको यथार्थ केही दिन सतहमा रह्यो, त्यसपछि तैँ चूप मै चूपको अवस्थामा मुलुक छ।  

भारतबाट खोप आउन सक्दैन भने चीनलगायतका मुलुकबाट ल्याउन सकिने थियो। आफूलाई चाहिँदा जस्तोसुकै फुर्मासी गर्न सक्ने सरकारले जीवन बचाउने खोप खरिद गर्न दह्रो खुट्टा टेक्नुपर्ने थियो। असल मनसाय राखेर सर्वजन हितायका निम्ति काम गर्दा सरकार बलियो पनि हुन सक्थ्यो। तर त्यसो गरिएन। कोरोना महामारी र खोप खरिदसम्म आइपुग्दा यो सरकारले आफूलाई न चीन न भारत कतैको सहयोग पनि पाउन नसक्ने अवस्थामा उभ्याएको छ। यस अर्थमा नेपाल चीन र भारतको बीचमा होइन, धेरै टाढा रहेको मुलुक जस्तो देखिन गएको छ। 

आफ्नो सत्ता र कुर्सी जोगाउनका निम्ति भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुख सामन्त गोयललाई बालुवाटारमा ल्याएर मन्त्रणा गर्न सक्ने अहिलेको सरकारका प्रधानमन्त्री ओलीलाई खोपको व्यवस्था गर्न भने केले रोकेको छ ? उनले आफ्नो प्रभाव प्रयोग गर्न सक्थे होला तर गरेका छैनन्। जहाँबाट हुन्छ, जसरी हुन्छ खोपको व्यवस्था गर्ने, उपचारको व्यवस्था गर्ने र सर्वसाधारणलाई बचाउने काम जति ढिला गर्‍यो, त्यति नै कठिन हुँदै जानेछ। कोरोना संक्रमणका क्रममा गरिएको लापरबाहीले अन्ततः दल, व्यवस्था र पद्धतिमाथि गम्भीर प्रश्न उठेको छ। सबैभन्दा ठूलो प्रश्न त अहिलेका प्रमुख दल र तिनका नेताकै बारेमा उठेको छ। बेलैमा चेतना होस्।

प्रकाशित: ७ जेष्ठ २०७८ ०२:०५ शुक्रबार

Download Nagarik App
Download Nagarik App