४ पुस २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

दोषीलाई दण्डसजाय

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको घटनाले साढे दुई वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको त्यस्तै प्रकृतिको हत्या सम्झाएको छ । बलात्कारपछि हत्याको घटना जसरी एकपछि अर्काे भइरहेको छ, त्यो समग्र समाजका लागि लज्जाको विषय हो । अझ पन्तको बलात्कार र हत्याको घटनामा संलग्नहरूको पहिचान नहुँदै त्यस्तै प्रकृतिको घटना हुनुले राज्य संयन्त्रको असफलता देखाएको छ । मुख्य कुरा, यस्ता घटनाको छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्य संयन्त्र असफल भएकै कारण बारम्बार घटना दोहोरिएका हुन् । यस्तो जघन्य अपराधमा संलग्नलाई कारबाही भएको भए शायद यस्तो कुकर्म गर्नेहरू केही हदसम्म भए पनि निरुत्साहित हुने थिए । त्यसैले पनि बारम्बार बालिका÷किशोरीमाथि बलात्कार र हत्या हुनुपछिको मुख्य कारण मुलुकमा रहेको दण्डहीनताको अवस्था हो । 

भागरथीको बलात्कारपछि हत्या भएको पाँच दिन भइसक्दा पनि घटनामा संलग्नको पहिचान हुन सकेको छैन । माघ २१ गते बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटोबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको प्रहरीको भनाइ छ । शनिबार जिल्ला अस्पताल बैतडीमा गरिएको शव पोस्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको देखाएको छ । तर, बलात्कार वा सामूहिक बलात्कार भन्ने विषय भने अझै पनि खुलेको छैन । बुधबार २ बजे विद्यालयको पढाइ सकेर घर फर्कने बेला बाटोबाट करिब ५० मिटर तल लवलेक सामुदायिक वनको जंगलमा भागरथीको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।  

कक्षा १२ मा अध्ययनरत भागरथी सधैँझैँ बुधबार बिहान आफू पढ्ने सनातन धर्म सिरकोट माध्यमिक विद्यालय गएकी थिइन् । पुरै पाँच विषय पढी घर फर्किने क्रममा स्थानीयले विद्यालय नजिकैको खोचलेक बजारमा उनलाई २ बजे देखेका थिए । तर साँझसम्म घर नपुगेपछि आफन्तले उनको खोजी सुरु गरे भने बिहीबार स्थानीय खोचलेक प्रहरी चौकीमा खोजी गरिदिन निवेदन दर्ता गराए । तर बिहीबार साँझ नै विद्यालयबाट घर फर्कने बेला चडेपानीका तीन विद्यार्थीले बाटोभन्दा तल मृत अवस्थामा भागरथीलाई देखेपछि घटनाको विषयमा थाहा भएको हो । तल्लो शरीर निर्वस्त्र रहेको, यौनांगमा रगत बगेको, हात काटिएको, शरीरभरि नीलडाम भएको, घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको थियो ।

 घटनाको विषयमा थाहा हुनेबित्तिकै बिहीबार साँझ नै स्थानीय प्रहरी र आफन्त घटनास्थल पुगे पनि शुक्रबार मात्रै शव उठाइएको हो । साढे दुई वर्षअघि निर्मला पन्तको बलात्कार गरी हत्या भएको घटनामा प्रमाणहरू बचाउन नसकेकाले अपराधी पत्ता लगाउन गाह्रो भएका कारण यसपटक भागरथी हत्या प्रकरणमा भने प्रहरीले सुरुदेखि नै अनुसन्धान कार्यमा गम्भीरता देखाएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखसहितको टोलीका साथै जिल्ला अस्पतालका डा.वसन्त जोशी र सरकारी अधिवक्तासमेत घटनास्थल पुगेका थिए भने शनिबार डा.जोशीले नै भागरथीको शवको पोस्टमार्टम गरेका हुन् । धनगढीबाट तालिम प्राप्त कुकुर पनि घटनास्थल पु¥याइएको थियो जसले भागरथीको मोबाइल पत्ता लगाएको थियो । मोबाइलको ब्याट्री निकालेर फालिएको अवस्थामा थियो भने कापी किताब शवछेउमा भेटिएको थियो ।  

मृतक किशोरीको पोस्टमार्टमअघि नै शुक्रबार साँझ भेजाइनल स्वाब संकलन गरिएको छ भने अन्य प्रमाण पनि संकलन गरिएको छ । घटना अध्ययनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा सिआइबीका डिएसपीसहितको तीन सदस्यीय प्रहरी टोली खटाइएको छ । बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथीको न्यायका लागि आफन्त तथा स्थानीयले संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् जसअनुसार माघ २५ देखि २७ गतेसम्म दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गर्ने, माघ २८ गते गाउँपालिका कार्यालय बन्द र माघ २९ गते गाउँपालिकाभरि आमहडताल गर्ने कार्यक्रम छ । प्रहरी अनुसन्धानलाई असर नपर्ने गरी न्यायका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको स्थानीयले जनाएका छन् ।

 यता राजनीतिक दलदेखि नागरिक समाजले समेत घटनाको छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । नेकपा नेपाल–दाहाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले विज्ञप्ति जारी गरी घटनाले आफूहरूलाई स्तब्ध बनाएको बताउँदै भनेका छन्, ‘विगतमा निर्मला पन्तको अनुसन्धानमा जस्तो यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।’ मृतक भागरथीकी आमा द्रौपती भट्टले पनि हत्यारालाई छिटोभन्दा छिटो कारबाही गर्न माग गरेकी छन् । हत्यारालाई कारबाही नभएसम्म आफूलाई र छोरीको आत्मालाई पनि शान्ति नहुने उनको भनाइ छ । बाख्रा पालन गरेर भागरथीको पढाइ र घर खर्च बेहोरिरहेका बुबाको एक महिनाअघि मात्रै मृत्यु भएपछि घरमा भागरथी र उनकी ५० वर्षीया आमा मात्रै थिए । दुई दिदीको बिहे भइसकेको र दाजु मजदूरीका लागि भारतको दिल्लीमा बस्दै आएका छन् । घरमा आफूसँग भएकी एक मात्र छोरीको हत्याले आमा द्रौपती शोकले विक्षिप्त छिन् भने पुरै चडेपानी गाउँ शोकमा डुबेको छ । हत्यारालाई कारबाही हुनुपर्ने भन्दै गाउँबासी आन्दोलित छन् । यो अवस्थामा सरकारले छिटोभन्दा छिटो भागरथीको बलात्कारपछि हत्या भएको घटनाको विषयमा छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न आवश्यक छ । यो घटनामा पनि विगतमा निर्मला पन्त प्रकरणको जस्तो नियति नदोहोरियोस् ।  

प्रकाशित: २६ माघ २०७७ ०२:१७ सोमबार

Download Nagarik App
Download Nagarik App