९ मंसिर २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

उपचार वञ्चित आममान्छे

विराटनगरका ठूला भनिएका अस्पतालले उपचार नगरिदिएकाले कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी) ले अनाहकमा ज्यान गुमाउनुपरेको छ। त्यसले अस्पतालहरूको गैरजिम्मेवारीको पराकाष्ठालाई उदांगो पारिदिएको छ। गर्भवती थापा मंगलबार राति १० बजेतिर शौचालय जाँदा लडेर घाइते भएपछि उपचारका लागि विराटनगर लगे पनि त्यहाँका अस्पताल उनको उपचारमा तत्पर भएनन्। विराटनगरका कोसी, नोबेल, विराट शिक्षण, विराट नर्सिङ होम, ग्रिनक्रस, सुरक्षालगायतका ६ वटा ठूला अस्पतालमा पुगे पनि सबैले गेटबाटै फर्काइदिए। त्यसमध्ये केही अस्पतालले आइसियु र भेन्टिलेटर नभएको बहाना बनाए भने कुनैले कोरोना त्रासका कारण नयाँ बिरामी भर्ना नगर्ने भनी उपचार गरिदिएनन्। यसरी सरकारीदेखि ठूला भनिने निजी अस्पताल सबै उपचार गर्नबाट पन्छिएपछि उनलाई आफन्तले धरानस्थित बिपी प्रतिष्ठान पु¥याए। धरान पु¥याउँदा उपचारमा धेरै ढिला भइसकेकाले उनको मृत्यु भयो। विराटनगर पु-याउनासाथ उपचार पाएको भए शायद उनको ज्यान जाने थिएन। यसर्थ अस्पतालहरूको चरम लापरबाहीकै कारण थापाको मृत्यु भएको हो भन्दा अन्यथा हुँदैन।  

उपचार गर्नबाट विराटनगरका अस्पताल यसरी पन्छिएको यो पहिलोपटक होइन। यसअघि पनि कोरोना त्रासका कारण अस्पताल र डाक्टरहरूले बिरामीको उपचार नगरेका गुनासा आएकै कारण मोरङका प्रमुख जिल्ला अधिकारीले विराटनगरका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई जिल्ला प्रशासन कार्यलयमा बोलाइ बिरामीलाई कुनै बहाना नबनाइ उपचार गर्न निर्देशन दिएका मात्र थिएनन्, उपचारबाट वञ्चित बनाए कारबाही गर्नेसमेत बताएका थिए। तर उनले निर्देशन दिएको दुई दिनपछि विराटनगरका अस्पतालले उपचार नगरिदिएका कारण ज्यानै गुमाउनुपरेको घटना सार्वजनिक हुन गएको छ। यस हिसावले विराटनगरका अस्पतालले बिरामीको उपचार नगरेर आफ्नो कर्तव्यबाट च्युत त भएका छन् नै, जिल्ला प्रशासन कार्यालयको निर्देशनसमेत अटेरी गरेका छन्।  

कुनै व्यक्तिमा कोरोना संक्रमण नै भए पनि उपचार गर्नुपर्ने अस्पताल र स्वास्थ्यकर्मीको दायित्व हो भने त्यसमाथि लडेर गएको बिरामीले समेत समयमै उपचार नपाउनु दुभाग्र्यपूर्ण अवस्था हो। अस्पताल र डाक्टरहरूको यस किसिमको हर्कत आफैँमा निन्दनीय छ। अस्पतालहरूको यस किसिमको व्यवहारले जुनसुकै रोगका बिरामीले समेत आफूलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको छ। यसले साधारण रोगका बिरामीमा समेत अनावश्यक चिन्ता थपिदिएको छ। र, आगामी दिनमा अस्पतालले आफ्नै आचारसंहिताविपरितका यस्ता हर्कत गरे भने कोरोनाका बिरामीले मात्र होइन, अन्य साधारण रोगका बिरामीले समेत अकालमै ज्यान गुमाउने अवस्था आउन सक्छ। त्यसैले पनि अस्पतालहरूले अहिले कोरोना त्रासको बहानामा जे÷जस्ता हर्कत देखाएका छन्, ती तत्काल बन्द हुनुपर्छ।  

अस्पतालहरूले कोरोनाको शंका वा अन्य बहानामा बिरामीको उपचार नगर्नु अक्षम्य अपराध हो।

त्यसो त यसअघि वीरगन्जका अस्पतालले पनि यस्तै हर्कत देखाएका थिए। ज्वरो, खोकी, श्वास÷प्रश्वास र झाडापाखालाका बिरामीलाई अस्पतालले उपचार नगरिदिएपछि मृत्यु भएको थियो। धनुषाको नगराइन–३ फूलगामाका श्याम साह, वीरगन्ज–११ श्रीपुरका चलित्तर महतो, बारागढी–२ सुखीपत्राका ९ वर्षीय सुशीलकुमार साह, वीरगन्ज महानगरपालिका–२ छपकैयाका विष्णु लामा त्यस्ता केही प्रतिनिधि पात्र हुन् जसको अस्पतालले उपचार नगरिदिएकै कारण मृत्यु भयो। यस हिसावले हेर्ने हो भने अहिले कोरोना त्रासका कारण अस्पताल र डाक्टरहरूले उपचार नगरिदिने प्रवृत्ति देशैभर देखिन थालेको छ जुन चिन्ताको विषय हो। यसरी अस्पतालले कोरोनाको शंका वा अन्य बहानामा बिरामीको उपचार नै नगर्ने प्रवृत्ति त अक्षम्य अपराध नै हो।

विराटनगरकी सविना थापाको मृत्युको सवालमा अस्पतालहरूले चरम लापरबाही गरी जुन गल्ती गरे, दोषी सबैलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। मुख्य कुरा थापाको श्रीमान्ले उपचार गर्न नमान्ने सबै अस्पतालविरुद्ध कानुनी कारबाहीमा जाने जुन अभिव्यक्ति दिएका छन्, त्यो जायज र अनिवार्य छ। यो प्रकरणमा अस्पताल र डाक्टरहरूविरुद्ध कानुनी उपचार खोजिएमा सविना जस्ता अन्यले अकालमै मृत्यु वरण गर्न पर्दैनथ्यो। इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलीप गिरीले पनि घटनाको अनुसन्धान थालेको बताएका छन्। त्यति मात्र होइन, यो प्रकरणमा जिल्ला प्रशासन कार्यालयको ध्यानसमेत आकृष्ट हुन जरुरी छ। प्रमुख जिल्ला अधिकारीले आफ्नै कार्यालयमा बोलाएर दिएको निर्देशनसमेत अस्पतालहरूले अटेरी गरेका छन्। त्यसका लागि उनीहरू दण्डित हुनैपर्छ। सीमान्त नागरिकको पनि जीवन हो। शक्तिमा हुनेले मात्र उपचार पाउने हो भने यसले अहिलेको पद्धतिप्रति आमअविश्वास सुरु हुनेछ।  

यो प्रकरणमा विराटनगरका अस्पतालहरूलाई कारबाहीको दायरामा ल्याउने हो भने अन्यत्रका अस्पताल र स्वास्थ्यकर्मीका लागि पनि त्यो गतिलो पाठ हुने थियो। र, अस्पताल गएका बिरामी उपचारबाट वञ्चित हुँदैनथे। मुख्य कुरा, अस्पतालहरूले आफ्नो कर्तव्य, जिम्मेवारी, धर्म र नैतिकता सम्झन जरुरी छ। कुनै व्यक्ति जेसुकै र जस्तोसुकै बिरामी होस्, अन्तिम अवस्थासम्म उसलाई बचाउन हरसंभव प्रयास गर्ने दायित्व अस्पताल र स्वास्थ्यकर्मीहरूको हो। त्यसैले त कुनै पनि बिरामीले अस्पताल र डाक्टरलाई विश्वास गरेर आफ्नो जीवन उनीहरूलाई सुम्पिएको हुन्छ। त्यसमा पनि अहिलेको बेलामा मन्दिर भनेको अस्पताल र त्यहाँ बस्ने भगवान भनेका चिकित्साकर्मी हुन्। बिरामी र उसका आफन्तको यो विश्वास धर्मराउन नदिने दायित्व पनि अस्पताल र स्वास्थ्यकर्मीहरूकै हो। त्यसैले एकपटक अस्पताल सञ्चालक र डाक्टरहरूले आफ्नै आचारसंहिता गम्भीर भएर सोच्न र त्यसलाई कार्यान्वयन गर्न आवश्यक छ। यसका साथै गैरजिम्मेवारी प्रदर्शन गर्ने अस्पताल र डाक्टरहरूलाई सरोकारवाला निकायहरूले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन पनि उत्तिकै आवश्यक छ। यस्ता गतिविधिले बिरामी सेवामा अनवरत लागेका चिकित्सकले हासिल गरेका आमविश्वासमा समेत धक्का लाग्नेछ। यस्ता घटना अपवादका रूपमा समेत हुनुहुँदैन।

प्रकाशित: २१ भाद्र २०७७ ०३:२३ आइतबार

Download Nagarik App
Download Nagarik App