११ मंसिर २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

विश्वकपको अग्निपरीक्षा

‘टी–२० स्पेसलिस्ट’ खेलाडीले भरिएको वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखलामा ३–२ को हारपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली शनिबार आइसिसी ट्वान्टी–२० विश्वकप यात्रामा निस्किएको छ। आउँदो जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी–२० विश्वकप हुँदैछ। १० वर्षपछि दोस्रोपल्ट नेपाल विश्वकपमा सहभागी हुन लागेको हो। सिंगो नेपाल र विश्वभरका समर्थकहरू लामो समयदेखि यो अवसरको प्रतीक्षा गरिरहेका छन्।

नेपालमा बढ्दै गरेको क्रिकेट क्रेजले स्वाभाविक रूपमा आफ्नो टोलीबाट दर्विलो प्रदर्शनको अपेक्षा गरेको छ। क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।

नतिजा भने विश्वकपअन्तर्गत नेपालले पहिले खेल्ने समूह चरणका चार खेलमा निर्भर हुनेछ। समूह ‘डी’मा रहेको नेपालले श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशजस्ता टेस्ट खेलिरहेका र बलियो एसोसिएट राष्ट्र नेदरल्यान्ड्सको सामना गर्नेछ। तीमध्ये श्रीलंका विश्वकप जितिसकेको टोली पनि हो। नेपालले समर्थकलाई नौलो खुसी दिन कम्तीमा पनि एउटा टेस्ट टोलीलाई परास्त गर्नुपर्नेछ। त्यो नसकिए पनि नेदरल्यान्ड्ससँग भने जित निकाल्नैपर्ने छ। समर्थक र शुभचिन्तकको यस्तो अपेक्षा अस्वाभाविक पनि होइन। तर नेपाली टोलीले पछिल्ला केही शृंखलामा गरेका प्रदर्शनले भने प्रशस्त आशंका उब्जाएका छन्। वेस्ट इन्डिजसँगको घरेलु शृंखला गुमाए पनि दुई खेल जित्नुलाई शुभ संकेत मान्न त सकिएला तर यसकै आधारमा टोलीको उत्कृष्टता मापन गर्न भने सकिन्न।

गत महिना ओमानमा सम्पन्न एसिसी प्रिमियर कपको प्रदर्शन, भरोसा गरिएका ब्याटरहरूको खराब लय, निरन्तर कमजोर बलिङ नेपाली टोलीका भयलाग्दा पक्ष हुन्। पछिल्लो समय नेपाली टोलीले ‘होम कन्डिसन’मा बढी खेल खेलेको छ। त्यसमा पनि त्रिवि क्रिकेट मैदानमै बढी खेल खेलाइएको छ। भारतमा गरिएको अभ्यास फरक मान्न सकिएला तर भारतीय उपमहाद्वीपका ‘पिच’ तुलनात्मक रूपमा ब्याटिङ अनुकूल मानिन्छ। प्रिमियर कपको लज्जास्पद हार ‘बाह्य कन्डिसन’कै जोखिमको कारण पनि हुन सक्छ।

क्यारेबियन पिच तीव्र गतिका बलरअनुकूल मानिन्छ, जहाँ आक्रामक बाउन्सरले नेपाली ब्याटरको परीक्षा लिनेछन्। तीव्र गतिको बलिङमा नेपाली ब्याटरहरूको कमै अभ्यास छ। एसिया कपमा पाकिस्तानका बलरहरूले नेपाली ब्याटरलाई क्रिजमा टिक्न नदिएको धेरै समय घर्किएको छैन। यस्तोमा फरक कन्डिसनमा टोलीको खराब लय चुनौतीपूर्ण हुनेछ। अर्कातिर नेपालको बलिङ पक्षको पनि आलोचना हुँदै आएको छ। क्यारेबियन कन्डिसनमा तीव्रत गतिका बलरकै भूमिका महŒवपूर्ण हुनेछ। ‘डेथ ओभर’मा समेत बलिङ किफायती बन्न सकिरहेको छैन। सबैभन्दा मुख्य चुनौती नेपालका लागि ‘स्ट्राइक बलर’को अभाव हुनेछ।

नेपाली टोलीकै सबैभन्दा अनुभवी बलर सोमपाल कामी दोस्रोपटक विश्वकप खेल्दै छन्। त्यसयता उनले आफूलाई तीव्र गतिमा नेपालका लागि प्रिमियर बलरका रूपमा साबित गर्दै आएका छन्। यद्यपि पछिल्लो समय उनी पनि लयमा छैनन्। विकेटकिपर आसिफ सेख र अनिलकुमार साहबाहेक अधिकांश अलराउन्डर छन् । यसले गर्दा लामो इनिङ र धैर्यपूर्वक ब्याटिङ गर्ने ब्याटरको अभाव टोलीमा देखिएको छ। एक समय राम्रो सुरुआत दिलाउने गरेका कुशल भुर्तेलको नचल्नु नेपालका लागि अर्को चिन्ता हो । बलिङमै पछिल्लो समय सन्दीप लामिछानेको अभाव खट्किन नदिन प्रशिक्षक मोन्टी देसाईले भुर्तेललाई लेग स्पिनको जिम्मेवारी दिएका छन्। उनले आयरल्यान्ड र वेस्ट इन्डिज ‘ए’सँगको खेलमा औसत प्रदर्शन पनि गरे। तर विश्वकपजस्तो प्रतिस्पर्धामा यो प्रयोग निकै खर्चिलो बन्न सक्नेछ।

राम्रो सुरुआत हुन नसक्दा नेपालको ब्याटिङमाथि पूर्ण दबाब हुनेमा दुईमत छैन। कप्तान रोहितकुमार पौडेलबाहेक अन्य ब्याटर पनि लयमा नहुनुले नेपाल कमजोर ब्याटिङसहित विश्वकपजस्तो ठुला प्रतिस्पर्धामा होमिँदैछ भन्दा फरक नपर्ला। यस्तोमा विश्वस्तरीय बलरसामु नेपालको कमजोर ब्याटिङले अनपेक्षित नतिजा पनि सामना गर्न सक्छ। नेपाली टोलीका यी यावत् कमजोरी प्रत्यक्ष रूपमा खेलाडी मात्र होइन, प्रशिक्षक र नेपाल क्रिकेट संघ (क्यान) समेतका कमजोरी हुन्, जसलाई ढाकछोप गर्न मिल्दैन। तर आफ्नो कमजोरीमा पनि सिकाइ मात्र ठान्ने समस्याबाट ग्रस्त वर्तमान टोलीले साँचो अर्थमा सिकेको भानचाहिँ दिलाउन सकेको छैन। विगतबाट सिकेको हुन्थ्यो त आफूभन्दा कमजोर टोली युएई र हङकङसँग पराजित हुने थिएन। जितमा आवश्यकताभन्दा बढी हौसिने र हारमा ‘कम्तीमा खेलाडीले खेलेका छन्, देशले के दिएको छ र’ भन्ने भाष्यबाट खेलाडी, प्रशासन र हुँदाहुँदा खेल समीक्षकसमेत माथि नउठुन्जेल नेपाली क्रिकेटको अर्को उचाइ लिन सम्भव हुन्न भन्ने बुझ्न ढिला भइसकेको छ।

अब विश्वकप आउन २७ दिन मात्र बाँकी छ। अहिलेसम्म नेपाली क्रिकेटले सिकेको, प्रशिक्षकले सिकाएको र व्यवस्थापनले गरेको सुधार कार्यको परीक्षा अब विश्वकप नै हुनेछ। विश्वकपमा सम्हालिएको प्रदर्शनले वर्तमान नेपाली टोलीको भविष्य निर्धारण गर्नेछ। किन पनि भने राज्यको लगानी र समर्थकको निरन्तरको प्रेमले नेपाली टोलीलाई योभन्दा खराब खेल्ने छुट दिँदैन। राम्रो खेल्दा पुरस्कार दिने देशले खराब खेल्दा सजाय पनि दिन सक्नुपर्छ। यी तथ्य मनन गर्दै विश्वकपमा नेपालले राम्रो तयारी गरोस्, विश्वस्तरीय टोलीका ब्याटर र बलरका लागि योग्य बनाउन सकोस्, सहभागितामा मात्र सीमित नभएर नयाँ इतिहास रच्न सकोस्। शुभकामना!

प्रकाशित: २३ वैशाख २०८१ ०६:०२ आइतबार

Download Nagarik App
Download Nagarik App