अचेल अनौठो चलन सुरु भएको छ। कोही व्यक्ति अपराध कसुरमा जेल सजाय पाएर निस्किँदा फूल माला र अविरले रंगिएको देखिन्छ। अन्यायपूर्वक जेल परेको भए कुरा बेग्लै हुन्छ। समाज परिवर्तनका निम्ति सक्रिय हुँदा जेल परेको भए त्यो गौरवको विषय बन्छ। यस्तो परिस्थितिमा सम्बन्धित व्यक्ति राज्यका आँखामा दोषी भए पनि समाज परिवर्तनका निम्ति अतुलनीय योगदान गर्नेमा पर्छन्। तिनलाई अविरजात्रा गरेर स्वागत गर्नु उचित हुन्छ। कतिपय यस्ता विषय हुन्छन्, जसमा जेल सजाय हुनु भनेको गौरवको विषय होइन। तिनलाई सुधार्नका निम्ति जेलमा राखिएको हो। यस्तो अवस्थामा अविरजात्रा गर्नु भनेको समाजमा नयाँखाले मानक सिर्जना गर्न खोज्नु हो।
सजाय काटेपछि समाजमा फर्केर सामान्य जीवन बिताउन तिनले पाउनुपर्छ। तैपनि नैतिक पतन देखिने गम्भीर प्रकृतिका फौजदारी अभियोग लागेर जेलबाट छुटेका व्यक्तिलाई बहादुर सम्झेर समाजले पूजा गर्न थाल्यो भने सम्झनुपर्छ त्यहाँ मूल्य विघटनको रोग लागिसकेको छ। गम्भीर फौजदारी मुद्दा लागेर फर्केका व्यक्तिका बारेमा समाजले पछिसम्म अन्यत्र मुलुकमा ध्यानमा राख्छ। अझ बलात्कार, बाल यौन दुराचार जस्ता गम्भीर प्रकृतिका मुद्दामा जेल परेर फर्केको व्यक्तिलाई सहजै घुलमिल गर्न गाह्रो हुन्छ। तिनलाई समाजमा फर्केर काम गर्न सहज हुँदैन। समाजले नै तिनलाई विगतमा गलत काम गरेको महसुस गराइरहन्छ।
सजाय भोगिसकेपछि समाजमा फर्केर बस्न पाउनुपर्छ। त्यसका निम्ति सम्बन्धित व्यक्तिले आफू सुध्रिएको सन्देश पनि दिन सक्नुपर्छ। कतिपय अवस्थामा जेलबाट छुटेका व्यक्तिहरू पुनः अपराधकर्ममा फर्केका देखिन्छ। नेपालमै पनि यस्तो देखिएको छ। कैयन् व्यक्ति जेलबाट निस्केर फेरि अपराधमा संलग्न भई पुनः थुनामा परेका घटना सार्वजनिक हुने गरका छन्। अमेरिकामा यस्तो संख्या निकै ठूलो हुने गरेको छ। अमेरिकाको एउटा अध्ययनअनुसार राज्यको थुनामा रहेकामध्ये ८२ प्रतिशत यस्ता व्यक्ति रिहा भएको १० वर्षभित्र फेरि थुनामा परेका पाइएको छ। यसमा पनि बहुसंख्यक ३ वर्षमै थुनामा पर्छन्।
कोही व्यक्ति थुनामा परेपछि सुध्रिएर आएको हुन्छ भन्ने कल्पना हुनु स्वाभाविक हो। तैपनि तिनलाई फेरि अपराध कर्ममा नफर्किन आवश्यक तयारी गर्नुपर्ने हुन्छ। संयोगले यसपटक केही ‘सेलेब्रिटी’हरू अदालतको आदेशले थुनामुक्त भएका छन्। तिनका बारेमा समाजले देखाएको अतिप्रेम आश्चर्यलाग्दो छ। विशेषगरी त्यसले यो समाजमा बालिकाप्रति नकारात्मक भावना विस्तार गरिरहेको छ। बालिकामाथि यौन दुव्र्यवहारको आरोपमा थुनामा परेका कलाकार पल शाह र क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन्। कलाकार शाह एक वर्षपछि सोमबार थुनामुक्त भएपछि गरिएको अबिरजात्राले सिंगै समाजलाई गिज्याएको छ।
उनीमाथि आरोपित गर्ने बालिकाले कुन अवस्थामा आफूविरुद्ध बयान दिन तयार भइन भन्नेतिर समाजको चिन्तन जान सकेको छैन। एउटा जल्दोबल्दो कलाकारलाई फसाउन खोजेको भन्ने हिसाबले छलफल मोडिनु आफैमा दुःखदायी हो। त्यसैगरी क्रिकेटर सन्दीप लामिछानेलाई पनि न्यायालयले उनको क्षमता हेरेर ‘राहत’ दिएको मात्र हो। उनका बारेमा अन्तिम निर्णय आउन बाँकी छ। उनी राम्रो खेलाडी हुन्, त्यसमा शंका छैन। तर, जतिसुकै राम्रो खेलाडीले पनि आचारणअनुकूल काम गरेको छैन भने स्वाभाविकरूपमा प्रश्न उठ्छ। गल्ती गरेअनुसारको कानुनी कारवाही पनि हुन्छ।
त्यसमा पनि कलाकार, खेलाडी र अन्य क्षेत्रमा क्रियाशील व्यावसायिक व्यक्तिहरूले समाजका निम्ति मानक सिर्जना गर्नुपर्छ। त्यस्ता व्यक्तिलाई सम्झँदा पनि गर्व अनुभूति हुनुपर्छ। तर आजको दिनमा जस्तोसुकै अभियोग लाग्दा पनि सामाजिक सञ्जालको प्रिय भएपछि छूट पाइँने अवस्था सिर्जना गरिएको छ। हजारौँं मानिसले समर्थन गरे पनि गलत कामलाई सही भन्न सकिँदैन। मानिसले जीवनमा गल्ती गर्न सक्छन्। त्यसबाट सच्चिएर अगाडि बढ्न सकिन्छ। तर कुनै गलत कामकै पक्ष लिएर त्यसैलाई प्रोत्साहित गर्ने बाटोमा समाज लाग्नु उचित हुँदैन।
आजको दिनमा जस्तो वातावरण सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट बनाउन खोजिँदैछ, त्यसले भोलि सही धारणा राख्ने मानिसको अभाव यो समाजमा नहोस्। भीडलाई रिझाउने मानसिकतामा जानु कुनै अर्थमा उचित हुँदैन। त्यसले समस्या मात्र सिर्जना गर्न सक्छ। कुनै आपराधिक घटना हुन्छ भने त्यो समाजका निम्ति पीडादायी अवस्था हो। त्यस्तो घटनामा संलग्न व्यक्तिलाई नायकका रूपमा चित्रण गर्ने प्रवृत्तिले समाजलाई सुसंस्कृत बनाउन सक्दैन। पीडकले फूलमाला लगाउने र पीडितले डराएर बस्ने समाज बनाउनतिर नलागौँ। आमरूपमा जुन बहकाउ सुरु भएको छ, यसले कालान्तरमा सबैलाई हानि गर्छ।
प्रकाशित: १७ फाल्गुन २०७९ ००:२७ बुधबार