४ पुस २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

नेपाल–भारत सहकार्य

एउटा चर्चित नेपाली लोकोक्तिले भन्छ– ‘टाढाको दाजुभाइ भन्दा नजिकको छिमेकी उपयोगी हुन्छ।’ असल छिमेकी पाउनु आफैँमा सुखद खजाना पाउनुसरह हो। छिमेकी असल भए रिस, डाह, इष्र्या कम भोजभतेर बढी हुन्छ। नेपाल र भारतबीचको सम्बन्धको कुरा गर्दा असल छिमेकीपनका अनेकन पक्ष सामुन्ने आउँछन्। दुई देशबीचको खुला सीमा संसारका बिरलै छिमेकीबीच हुने अभ्यास हो। एकअर्का देशका नागरिकले सहजै छिमेकमा यात्रा गर्न पाउँछन्। दुई देशका नागरिकबीचको सम्बन्ध अनुपम छ। भाषा, संस्कृति, संस्कार, धर्म आदि जस्ता अनेकन मानवीय पक्षसँग दुई मुलुकका नागरिक अभिन्नरूपमा जोडिएका छन्।  

यस्तो सुन्दर सम्बन्धलाई यी दुई मुलुकबीच यदाकदा आउने समस्याले उल्झनमा पार्छ। नेपाल–भारतबीच ठूला समस्या छैनन्। तर सामान्य समस्यालाई समेत बेलैमा सम्बोधन नगर्दा जटिल अवस्था आउँछ। दुवै देशले विकास निर्माणको बाटो समातेका छन्। दुवैका निम्ति यो आवश्यक भए पनि सीमा क्षेत्रमा हुने निर्माणले पनि समस्या बल्झाउनु हुँदैन। भारतीय पक्षले सीमा क्षेत्रमा गर्ने निर्माण कार्यले नेपाललाई आश्वस्त पार्न सकेको छैन। अहिले आएर महाकाली नदीको धार नेपालतिर पार्ने गरी भारतले गरेको निर्माण कार्यले सम्बन्धमा कटुता ल्याउने खतरा बढेको छ। त्यहाँ निर्माण कार्य भइरहेको जानकारी स्थानीय प्रशासन र सरकारलाई भए पनि बेलैमा यस विषयमा भारतीय पक्षको ध्यानाकर्षण गराएको देखिएन।  

त्यसले गर्दा अहिले वारिपारि ढुंगा हानाहानको स्थिति उत्पन्न भएको छ। यसै क्रममा चारजना बालबालिकालाई भारतीय पक्षबाट हानेको ढुंगा लागेर घाइते बनाएको छ। कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका भूभागमा भएको भारतीय अतिक्रमणले यसै पनि नेपालीका मनमा पीडा उत्पन्न गराएको छ। नेपालसँग निकट सम्बन्ध रहेको छिमेकी भारतले गरेको यो व्यवहारले दुई देशबीचको हार्दिकतालाई कम गरेको छ। भारत आफैँमा ठूलो र दक्षिण एसियाका साथै विश्वमै प्रभावकारी भूमिका खेल्न चाहने देश हो। भारतले आफ्नो प्रभाव र प्रसिद्धि विस्तार गर्नुअघि छिमेकीसँगको सम्बन्धलाई हार्दिक बनाउनु उचित हुन्छ। छिमेकीको सानो टुक्रा जमिनमा पनि भारतले अतिक्रमण गरेको सन्देश जानु आफैँमा चिन्ताको विषय हो।  

नेपालको उत्तरको छिमेकी चीनसँग पनि सीमा जोडिएको छ। सीमाकै मामिलामा सामान्य विवादबाहेक ठूला समस्या छैनन्। संसारको छानो सगरमाथासमेत नेपाल र चीनका बीचमा छ। यति ठूलो सम्पदा बीचमा हुँदा पनि यसलाई लिएर दुई देशबीच समस्या छैन। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री र चीनका अध्यक्ष माओ त्सेतुङबीच सम्झौता भई सीमा विवाद समाप्त भएको हो। चीनले विशाल हृदय नराखी सगरमाथा चीनको हो भनेर दाबी गरिरहेको भए अहिले त्यो विवादास्पद भूमि हुन्थ्यो। त्यहाँ अहिले संसारभरिबाट आरोहीहरू नेपाल र चीन दुवैतिरबाट पुग्छन्। वास्तवमा यसले दुवै मुलुकलाई लाभ पुगेको छ।

सीमा मामिलामा नेपालको चीनसँगको सम्बन्ध सुदृढ हुनुमा यसलाई बेलैमाथि समाधान गर्नु हो। नेपाल भारतसँग पनि यस्तै सम्बन्ध रहोस् भन्ने चाहन्छ। दुई देशबीच सीमा समस्या समाधान हुँदै गए पनि केही ठाउँका घटनाले सम्बन्धलाई तितो बनाएका छन्। यसलाई बुझेर पनि समस्या समाधानमा भारतको ध्यान जानुपर्छ। भारतले जति विशाल हृदय देखाउँछ, त्यति नै ऊप्रति नेपालीको भरोसा बढ्छ। भारतले आफ्ना गतिविधि गर्दा नेपाली भावनाको सम्मान पनि गर्नुपर्छ। सीमा क्षेत्रमा उसले बनाउने सडक, तटबन्ध आदिले जहिल्यै नेपाली भूभागमा समस्या हुन्छ। पछिल्लो पटक नेपालतर्फ महाकालीको धार फर्काउन खोजेपछि विवाद भएको हो। यसै पनि सीमा क्षेत्रमा हुने निर्माण कार्य अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ।  

आजको दिनमा भारतकै एउटा राज्यले काम गर्दा अर्को राज्यलाई समेत बाधा गर्दा विरोध हुन्छ। नेपाल आफैँमा सार्वभौम मुलुक हो। यसलाई विश्वासमा लिएर सीमा क्षेत्रमा काम अगाडि बढाउन सकिन्छ। त्यस्तो कामले दुई देशलाई फाइदा पुग्नुपर्छ। भारतले यस क्षेत्रमा जबर्जस्ती निर्माण कार्य अगाडि बढाउँदा पटक–पटक विरोध भएको छ। २०७८ फागुनमा पनि भारतले स्काभेटर लगाएर निर्माण कार्य गर्दा स्थानीयले विरोध गरेका थिए। यस्तो कामले प्रत्यक्षरूपमा स्थानीय बासिन्दा प्रभावित भएर विरोध गरेका छन्। यही विषयमा केन्द्र सरकारले भारतको ध्यानाकर्षण गराउन सकेको देखिएन। बेलैमा यसमा विरोध गर्ने र सहमतिमै निर्माण कार्य गर्न भन्ने हो भने त्यसले स्थिति फरक पार्छ।  

यस्तो समस्या आउन नदिन दुवै देशबीच समन्वय हुनुपर्छ। अहिले प्रमुख जिल्ला अधिकारी र भारततर्फका जिल्ला मेजिस्ट्रेटबीच समन्वय भइरहे पनि प्रभावकारी हुन सकेको देखिएन। दार्चुलामा आइतबार ढुंगा हानाहान भएपछि बल्ल सोमबार मात्र यस्तो बैठक हुन सकेको छ। दुवैतर्फ असर नपर्ने गरी काम गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारीसमेत दिएका छन्। यस्ता विषयमा बढ्ता राजनीति नगरी समस्या समाधानतर्फ प्रमुख दलको ध्यान जानु आवश्यक छ। विशेषगरी सरकारी संयन्त्र चनाखो हुने र समन्वयात्मक ढंगले विषयवस्तुलाई उठाउने हो भने समस्या समाधान हुन सक्छ।  

ढिलै होस्, भारतले तटबन्ध निर्माण कार्य रोकेको छ। बेलाबेलामा आउने यस्ता समस्यालाई ध्यानमा राखेर दुवै देशले सहज वातावरण बनाउनतिर लाग्नुपर्छ। दुई देशबीच देखिएका समस्या समाधानका लागि यसबीच भएका प्रयासको निरन्तरता पनि उत्तिकै आवश्यक छ। जस्तासुकै समस्या पनि संवादबाट समाधान गर्न सकिन्छ। नेपाल र भारतबीचको आपसी परनिर्भरताले पनि असल मित्रताको बाटो अँगाल्नुको विकल्प छैन।

प्रकाशित: २१ मंसिर २०७९ ००:१५ बुधबार

Download Nagarik App
Download Nagarik App