४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

किसानलाई बाली जोगाउनै सकस

बागलुङको जैमिनी नगरपालिका–५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ। मकैबारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ। त्यही छाप्रोमा थापाको दिन बित्ने गरेको छ। थापाका साथमा एउटा लट्ठी, थाल र केही काठका टुक्राहरू हुन्छन्। बेलाबेला उनी थाल बजाउँदै चिच्याउँछिन्। यसरी चिच्याउँदा बाँदर बारीमा नआउने उनी बताउँछिन्।

'यो थाल र लौरो त मेरो साथमा सधैँ हुन्छ, यहाँ थाल बजाएर हल्ला गर्यो भने बाँदर बारीमा आएर मकै खान्न, शान्त भएर बस्यो भने एकैछिनमा ५०/६० वटा बाँदरको समूह आएर मकै एकैछिनमा सखाप पार्छ,' थापाले भनिन्, 'यतिबेला मकैले कोसा हाल्न थालेको छ, बाँदर पस्यो भने त केही बाँकी राख्दैन, सबै च्यातेर नष्ट गरिदिन्छ।'

अब मकै नभित्र्याउँदासम्म बारीमै बास हुने उनले सुनाइन्। एक दशक अगाडिसम्म गाउँमा बाँदर फाटफुट आए पनि हालको जस्तो हुल नै नआएको थापाले स्मरण गरिन्। बारीमा गोठालो नबस्ने हो भने गाउँभरिको बारी एक दिनमै सखाप पार्ने अवस्था छ। बाँदर धपाउनका लागि अनेक जुक्ति अपनाए पनि त्यसले काम नगरेपछि हाल दैनिक बारीमै बस्ने गरेको थापाले सुनाइन्।

बिना जस्तै स्थानीय कुलबहादुर थापाले पनि आफ्नो दिन पनि बाँदर धपाउनैमा बित्ने गरेको बताए। खाना खान पनि पालो गरी खानुपर्ने अवस्था रहेको उनले सुनाए। 'परिवारमा धेरै सदस्य हुनेलाई सहज भए पनि थोरै हुनेलाई गाह्रो छ। बाँदरका कारण हरेक वर्ष उत्पादन घट्ने गरेको छ। हामीलाई बाँदरले धेरै दुःख दियो। पहिले १२/१५ मुरी मकै फल्थ्यो, हाल बाँदरबाट जोगाउन सकियो भने पाँच/सात मुरी भित्र्याउने गरेको छु,' थापाले भने।

हाल जिल्लाका अधिकांश किसानको बारी छेउछाउमा स-साना त्रिपालका छाप्रा देखिन्छन्। छाप्रामा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन्। बाँदरका कारण गाउँका धेरै स्थानीयले बसाइँसराइ गर्न बाध्य भएको सुनाउँछन्। जैमिनीमा बाँदर आतङ्क बढ्नुको मुख्य कारण बसाइँसराइ रहेको नगर उपप्रमुख हरिहर शर्माले बताए। आफूहरूले बाँदर नियन्त्रणका लागि अघिल्लो वर्षदेखि नै बाँदर पार्क बनाउने गरी योजना बनाएको उनले जानकारी दिए। अब बाँदरबाट प्रभावित किसानलाई पनि राहत दिनेगरी योजना बनाइने उपप्रमुख शर्माले सुनाए।

काठेखोला गाउँपालिका–१ का नरबहादुर पुनले बर्खामा मात्रै नभएर हिउँदमा पनि बाँदरले दुःख दिने गरेको बताए। घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गरेको उनको दुखेसो छ। हाल बाँदर मान्छेसँग पनि डराउन छोडेका पुनले सुनाए। 'पहिले बाँदर मान्छे देख्यो भने भागिहाल्थ्यो, हाल त उस्तै परे कोपार्न र लड्न आउँछन्। गाउँमा मान्छेभन्दा बाँदरको सङ्ख्या धेरै हुन थाले, छरछिमेकी पनि अब गाउँमा बस्न सकिँदैन भन्दै सहर बजार झरे। हाम्रो बजार झर्ने धन पनि छैन, यहीँ बाँदरसँग लड्दै बस्नुबाहेक अरू विकल्प छैन,' उनले भने।

जैमिनीबाट पछिल्लो दुई वर्षमा मात्रै ४८२ परिवारका एक हजार ७०९ जनाले गाउँ छोडेका छन्। तथ्याङ्कअनुसार विसं २०८० मा २६३ परिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन् भने २०८१ मा २१९ परिवारबाट ७६२ जनाले गाउँ छोडेका छन्। दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ। यस्तै, विसं २०८० मा नौ परिवारका ४२ जना र २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन्। रासस

प्रकाशित: २६ असार २०८२ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App