दैनिक सयौंको संख्यामा किसानहरु साइकल चढेर भारतीय बजार तिकुनीयाँ पुग्छन्। उनीहरु आलुको बोरा बोकेर फर्किन्छन्। यतिबेला सीमा क्षेत्रमा साइकलमा आलुको बोरा बोकेर फर्किने किसानको लर्को देख्न सकिन्छ।
यो वर्ष मात्रै हैन उनीहरु यतिबेला वर्षेनी यसैगरी आलुको बोरा बोकेर फर्किन्छन्। यो आलु रोप्ने समय हो। यहाँका अधिकांश किसानले आलु खेती गर्छन्। कतिपयले व्यवसायका लागि आलु खेती गर्छन् भने कतिपयले खानका लागि भए पनि धेरैथोरै आलु खेती गर्छन्। नेपालमा आलुको बिउ पाईंदैन। आलुको बिउका लागि किसानलाई भारतीय बजार तिकुनीयाँ नपुगेर सुख्खै छैन।
भजनी नगरपालिका–३ काँडाका जयराम चौधरीलाई अहिलेसम्म आलुको बिउ नेपाली बजारमा किनेको सम्झना छैन। उनी हरेक वर्ष भारतीय सीमावर्ती बजार तिकुनीयाँबाट आलुको बिउ किनेर ल्याउँछन्।
यो वर्ष पनि उनी कुसुमघाट नजिकै साइकलमा दुई बोरा आलुको बिउ बोकेर फर्किंदै गरेको अवस्थामा भेटिए। उनी मात्रै हैन कुसुमघाटमा तिकुनीयाँबाट आलुको बिउ किनेर फर्किने किसानको लर्को देखिन्थ्यो। यस्तै लर्को कुसुमघाटको नाकाबाट मात्रै हैन भारतीय सीमावर्ती बजारसँग जोडिएका खक्रौला, कालाकुण्डा, चन्दनचौकी, पृथ्वीपुर लगायतका ठाउँमा समेत देख्न सकिन्छ।
नेपाली किसानहरु आलुको बिउका लागि भारतीय बजारमा निर्भर छन्। तिकुनीयाँमा मात्रै दैनिक एक हजार भन्दा बढी किसानले आलुको बिउ किन्ने गरेको पाईन्छ। कैलालीमा एक सिजनमा करोडौंको आलुको बिउ आयात हुने गरेको अनुमान गर्न सकिन्छ।
नेपाली भन्दा भारतीय आलुको बिउ सस्तो हुने भएकाले पनि किसानहरु भारतीय बजार पुग्ने गरेको पाईएको छ। भारतीय बजारमा ५० केजी प्रति बोराको ५ सय भारु पर्छ। त्यही बोरा नेपाली बजारमा एक हजार ४०० नेपाली रुपैयाँमा बिक्री हुने गरेको पाईन्छ। नेपाली आलुको बिउ महंगो मात्रै हैन आवश्यकता अनुसार पाउन समेत निकै कठिनाई हुने गरेको किसान बताउँछन्। ‘नेपालमा भनेको बेला पाउँदैन’ चौधरीले भने–‘सहज रुपमा पाईएको भए दुःख गरेर भारतीय बजार जान त पर्र्दैन थियो।’
किसानहरु भारतीय आलुको बिउ उत्पादनमा समेत निकै उपयोगी भएको बताउँछन्। उनीहरु रोगब्याधीबाट जोगाउन सकिने, चाँडै फल्ने, धेरै फल्ने लगायतका फाइदा रहेको बताउँछन्। भजनी नगरपालिका–६ महादेउलीका प्रेमचन्द्र चौधरीले भारतीय आलुको बिउ रोपेको २ महिना भित्रै उत्पादन हुने बताए। ‘अहिले रोप्यौं भने माघीमा खान बन्छ’ उनले भने–‘नेपाली बिउ जस्तो धेरै दुःख समेत गर्नु पर्दैन।’
एक बोरा आलुको बिउका लागि किसानले एक दिन खर्च गर्र्नुपर्छ। उनीहरु बिहानै खाना खाएर घरबाट हिड्छन। दिनभरको साइकल यात्रा गरेर साँझ घर फर्किन्छन। पुरुष मात्रै हैन महिलाहरु समेत आलुको बिउ किन्न भारतीय सीमावर्ती बजार पुग्ने गरेको पाईन्छ। खासगरी श्रीमान घरमा नभएका महिलाहरु आफैं आलुको बिउ किन्न जान बाध्य छन्। गाउँका सबै मान्छे गएपछि आफू पनि सस्तो पाईने लोभमा आलुको बिउ किन्न तिकुनीयाँ गएको जोशीपुर गाउँपालिका–४ सिमरानाकी प्रतिभा चौधरीले बताइन्। ‘सबैले सस्तो पाइन्छ भनेपछि म पनि गएकी हुँ’ उनले भनिन्–‘नेपाली आलुको बिउ भन्दा साँच्चै सस्तो रहेछ।’
आलुको बिउ भण्डारणका लागि कैलालीमा कोल्ड स्टोर छैन। किसानले महेन्द्रनगर वा नेपालगञ्ज लगेर आलुको बिउ भण्डारण गर्नुपर्ने बाध्यता छ। किसान आफैंले आलुको बिउ भण्डारण गरेर राख्ने परम्परागत चलन हराईसकेको छ। यसरी परम्परागत ढंगले आलुको बिउ भण्डारण गरेर राख्ने किसानको संख्या ज्यादै न्यून छ। बाँकी सबै किसान आलुको बिउ किन्नका लागि सीमावर्ती बजार जाने गर्छन।
प्रकाशित: २० कार्तिक २०७९ ०७:२४ आइतबार