४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

धानमा दाना नलाग्दा चितवनका किसान समस्यामा

धान भित्र्याउने चटारो भइरहेका बेला धानको बालामा दाना नलागेपछि चितवनका किसान चिन्तित बनेका छन्। राम्रो उत्पादन हुने आशामा सावा मन्सुली जातको धान लगाएका पश्चिम चितवनका किसान समस्यामा परेका हुन्।

‘३४ कठ्ठा जतिमा सावा धान लगाएको थिएँ। केही केही बालामा दाना भएजस्तो छ। धेरै छैनन्’, भरतपुर महानगरपालिका १४ का सुरथबहादुर पौडेलले भने, ‘यसपटक लगाएको २० प्रतिशत धानले दाना नै दिएको छैन।’ अहिले उनी लगानी नउठ्ने चिन्तामा छन्।  नजिकैको कमलपोखरी सहकारीबाट बीउ ल्याएर पौडेलले धान रोपेका हुन्। बाली थन्काउने समयमा दाना नै नदेखिएपछि कृषि प्राविधिकलाई समेत देखाए। तर, समाधान हुन सकेन।  ‘देखिने रोग केही छैन। बाला राम्रै देखिन्छन्,’उनले भने, ‘छाम्दा दाना नभेटिएपछि कृषि प्राविधिकलाई देखाए। केही उपाए लागेन।’ उनले दाना नलागेपछि धान काटेर गहुँ छर्ने तयारी गरेका छन्।  

धानखेत झट्ट हेर्दा पहेँलो देखिन थालेको छ। टाढाबाट हेर्दा जो कोहीलाई पनि धान राम्रोसँग पाकेको  जस्तो लाग्छ। तर, नजिकै पुगेर हेर्दा भने बालामा दाना नै देखिँदैन। विशेष गरि पश्चिम चितवनका पटिहानी, मंगलपुर, जगतपुर र माडी क्षेत्रका किसानले लगाएको सावा मन्सुली धानमा समस्या आएको हो। ‘मेरो वरिपरि मात्रै सावा मन्सुली धान दश विघामा लगाईको छ,’ किसान घननाथ सापकोटाले भने, ‘सवैको समस्या उस्तै छ।’ उनले आफुले ६ कठ्ठामा धान लगाएको बताए। सानो आकारको खेती गर्ने किसानको जीविकाको मुख्य स्रोत रहेको धानमा दाना नलागेपछि आफुहरु समस्यामा परेको उनले बताए।  

राम्रो उत्पादन गर्ने सोचका साथ नवलसुन्दर सहकारी, कमलपोखरी सहकारी र पटिहानीमा रहेको उन्नत बीउ स्रोत केन्द्रबाट ८५ रुपैयाँमा बीउ लगेर रोपेका हुन्। उन्नत बीउ स्रोत केन्द्रका अध्यक्ष उमनाथ पौडेल नेपाल सरकारबाट गुणस्तर बीउ ल्याएर बेचेपनि दाना नलागेको स्वीकार बताए। ‘हामीले धान बाली अनुसन्धन केन्द्रबाट ल्याएर किसानलाई बिक्रि गरेका हौँ। त्यो नेपाल सरकारबाट सूचिकृत नै धान हो,’उनले भने ‘मैले लगेर रोपेका ठाउँमा पनि समस्या छ।’

यहाँ धानमा समस्या देखिएपछि बीउ बिजन प्रयोगशाला हेटौँडाको टोलीले पनि अनुगमन गरिरहेको छ। अहिले नै बीउलाई दोष दिन अवस्था नरहेको बीउ बिजन प्रयोगशाला हेटौँडाका सूचना अधिकारी भूवन ढुंगाना बताउँछन्। ‘परागसेचन हुने समयमा तीन चारदिन लगातार पानी प¥यो। पोलिनवास भएर अडिएन कि भन्ने हामीलाई शंका लागेको हो,’ उनले भने, ‘अहिले नै पुरा अनुगमन नगरेकाले यही हो भन्ने अवस्था छैन।’ चितवनमा लगाईएको सावा मन्सुली धान नेपाल सरकारबाट सूचिकृत धान रहेको उनले स्पष्टिकरण दिए।  त्यसलाई हर्दिनाथ भन्ने समेत गरिन्छ। यहाँका किसानले विगतका बर्षदेखि नै सावा मन्सुली धान लगाउँदै आएका छन्।  

चितवनमा २२ हजार ९ सय हेक्टरमा धान खेती हुँदै आएको छ। १४ नम्बर वडामा मात्रै दश विघा खेतमा लगाएको धानमा दाना नलगाएको किसानहरुले बताउँदै आएका छन्। कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीन बहादुर पून चितवनमा लगाएको सावा मन्सुली धानमा दाना नलाग्ने समस्या देखिएको बताउँछन्। ‘धानमा धेरै नै समस्या देखिएको छ। शित व्लाइट (पातको फेद डडुवा), नेक व्लाष्ट (घाँटी मरुवा), ह्वाइट फ्लाइ (सेतो झिङ्गा) घाँटीमरुवा, रोग देखिराख्छ,’ उनले भने ‘यसपटक नयाँ देखिएको भनेको दाना नै नलाग्ने समस्या हो।’ यस रोगको निराकरण गर्न नसकिएको उनले बताए।  

चितवनमा अघिल्लो बर्ष गरिमा धानमा बाला नलाग्दा किसानहरु समस्यामा परेका थिए। परम्परागत खेतीमा आफैँले उत्पादन गरेको बालीबाट पहिले बिउका लागि अलग राखेर मात्र बाँकी प्रयोग गर्ने चलन हुन्छ । तर, उन्नत जातको बिउ प्रायः परम्परागत तरिकाले राखेर काम लाग्दैन । किसानले हरेक वर्ष खरिद गरेरै नयाँ–नयाँ बिउ प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बीउको छनोटमा नै ध्यान दिनुपर्ने बीउ बिजन प्रयोगशालाका सूचना अधिकारी भूवन ढुंगाना बताउँछन्। ‘बीउ छनोटमा बिरार पु¥यायौँ भने पछि पछुताउनु पर्दैन। त्यसका लागि आफुले लगाउने बीउ त्यस क्षेत्रमा सिफारिस भएको छ कि छैन त्यसमा ध्यान दिनुपर्छ। अर्को कुरा बीउको गुणस्तरिय छ कि छैन बीउको म्याद हेर्नुपर्दछ,’ उनले भने ‘नेपालमा सूचिकृत भएका बीउमात्र किन्नुपर्दछ।’

प्रकाशित: ३० आश्विन २०७९ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App