२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

आरन चलाएर गुजारा

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ। झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन्। कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन्। तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिन्छन्, भीमदत्त-६ का ६६ वर्षीय विष्णु लुहार।

उनी आरनको काम गर्छन्। उनले दशकौंदेखि आरन चलाएरै जीविकोपार्जन गर्दै आएका छन्। उनी घरबाट बिहानै आरनमा आउँछन् र राति मात्र घर फर्किन्छन्। आरनमा उनलाई काम गर्न भ्याइनभ्याई छ। यही पेसाबाट उनले छोराबुहारी, नातिनातिनासहित  १० जना परिवार पालेका छन्। ‘आरन चलाएर परिवार पालेको छु, छोराछोरी नातिनातिनालाई शिक्षादीक्षा दिन सकिएको छ’,उनी बताउँछन्, ‘घरखर्च पनि राम्रै चलेको छ।’

उनलाई आरनमा काम गर्न थालेको ५४ वर्षभन्दा बढी भइसकेको छ। उनका बुबा पनि आरनकै काम गर्थे। सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै काम सिके, उनले। अहिले त्यही सीपको उपयोग गर्दै विष्णुले पनि आफ्नो परिवार सुखका साथ पाल्दै छन्। विष्णुका बुबा २०२४ सालमा दार्चुलाको बचालबाट तराई बसाइँ सरेका थिए। बचालमा आरन चलाउने उनीहरूले तराई (बनगाउँ) मा पनि त्यही काम थाले। बुबालाई आरनमा सघाउने उनले पहाडमै काम सिकेका थिए। तराईमा बुबासँग काम गर्दा उनी झनै काममा निपुण भए।

विष्णुले सानैमा बुबा गुमाएपछि परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा आयो। त्यसका लागि उनले पनि आरनलाई नै निरन्तरता दिए। ‘अरू काम गर्न उनले पढेको थिएन। कि त भारत नै जानुपर्थ्यो। तर, म भारत गइनँ’, उनी भन्छन्, ‘बुबाको कामलाई नै निरन्तरता दिएँ। काम गर्दै जाँदा कृषकहरूले पनि काम मन पराएँ।’ बुबासँग आरनमा लडिबुडी खेल्दै सिकेको सीपले परिवारको घरखर्च जुटाउने स्रोत बन्यो। त्यसैले उनले घर चलाउन विकल्प खोज्नु परेन।

उनीसँगैका साथीहरू कामका लागि अहिले पनि भारतमा छन्। उनी स्वदेशमा नै पौरख गर्दै छन्। उनी भन्छन्,‘ भारतमा गएर मैले पनि १३ दिन काम गरें। तर, मलाई अर्काको मुलुकमा काम गर्न मन परेन। त्यसैले अहिले पनि आफ्नो सीपको उपयोग गरेर स्वदेशमै मेहनत गर्दै छु।’ फलाम पिटेर कमाएको पैसाले नातिनातिनाहरूलाई समेत बोर्डिङ स्कुलमा पढाउन सकेको उनी बताउँछन्। भोलिका दिनमा आफ्ना सन्ततिले पढेर डाक्टर र इञ्जिनियर बनेको हेर्ने चाहना छ, विष्णुको।

आरनबाट हुने कमाइमा उनी सन्तुष्ट छन्। ‘कहिले दिनमा एक-दुई हजार, कहिले पाँच-छ सय कमाइ हुन्छ। कृषकहरूले कामप्रति खुसी भएर पैसा दिएर जान्छन्,उनी बताउँछन्। उनले छोराहरूलाई पनि काममा लगाएका छन्। एक छोराका लागि अटो किनिदिएका छन् भने अर्का छोरालाई खेतीपातीमा लगाएका छन्। विष्णुले कृषकवर्गलाई चाहिने कुटो, कोदालो, हँसिया, बञ्चरो लगायत हातहतियार बनाउँछन्।

आरनमा कामका लागि महेन्द्रनगर आसपासका क्षेत्रका साथै भारतको बनबासा, टनकपुर, नानकमाताबाट मानिसहरू आउने गरेको उनी सुनाउँछन्। ‘टाढाटाढाबाट विश्वास गरेर मेरामा काम लिएर आउँछन्।’ उनी भन्छन्,‘आउने ग्राहकलाई खुसी बनाएकाले ज्यालाभन्दा बढी पैसा दिन्छन्।’

काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उनको दाबी छ। जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उनको भनाइ छ। ‘काम धेरै आइरहेको छ तर एक्लै हुँदा सबैको काम भ्याउन गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘जनशक्ति नहुँदा आफूसँग भएको सीप देखाउन सकिएको छैन।’

प्रकाशित: २३ आश्विन २०७९ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App