२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

'सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु हुँदैन'

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु नहुने बताएका छन्।

सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले पछिल्लो समय स्थानीय सरकारले सडक बनाउने नाममा ५० वर्ष पुराना पर्वतीय ट्रेकिङ गन्तव्यलाई अस्थित्व मेटाउने काम भएको बताए।

अध्यक्ष बास्तोलाले ३१ दिनको पर्वतीय ट्रेकिङ गन्तव्य रहेको अन्नपूर्ण राउण्डलाई अहिले सडक बनाउने नाममा भत्काएर अहिले ५ दिनको बनाइएको भन्दै आपत्ति जनाए। उनले सडक आवश्यक भयो भन्दैमा विश्वका १० नम्बरमा पर्ने पर्वतीय ट्रेकिङ गन्तव्यहरुको अस्थित्व मेटाउन नमिल्ने बताए।

अध्यक्ष बास्तोलाले पछिल्लो समय धेरै पर्वतीय ट्रेकिङ गन्तव्यहरु हराउने क्रममा रहेको गुनासो गरे। उनले विश्वमा प्रचार भएर हजारौं नागरिकलाई रोजगारी दिने पर्वतीय ट्रेकिङ गन्तव्यलाई कायम राखेर वैकल्पिक मार्गबाट सडक बनाउन सल्लाह गर्न आग्रह गरे। उनले स्थानीय सरकारहरुले पर्वतीय ट्रेकिङ गन्तव्य भएको स्थानमा सडक बनाउँदा वा पर्यटन क्षेत्रको विकासको लागि बजेट विनियोजन गर्दा टानसँग सल्लाह गर्नु उचित हुने बताए।

उनले रोजगारीको सिर्जना लगायत अन्य प्रचुर सम्भवना रहेको सिन्धुपाल्चोको जुगल हिमालको प्रचारप्रसार गर्न आवश्यक रहेको पनि बताए। उनले जुगल हिमालमा पर्वतीय गन्तव्यको लागि प्रचारप्रसार गर्न टानले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए।

त्यस्तै, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको रुपमा मान्यता दिए अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्ने बताए। उनले पर्वतीय उद्योग जनशक्ति, व्यवस्थापनदेखि आवश्यक पूर्वाधार स्वदेशी भएको र लगानी गर्न अन्य मुलुकसँग सहयोग माग गर्नु नपर्ने उद्योग हुने बताए।

उनले पर्वतीय उद्योग अन्य उद्योगको जस्तो कच्चा पदार्थ बाहिरबाट ल्याएर आधा पैसा विदेशमा पठाउने नभइ विदशीबाट आउने डलरसमेत नेपालमा नै रहने उद्योग भएको बताए। उनले नेपालमा पर्वतीय पर्यटनको महत्व ठूलो रहेको भन्दै सरकारले पर्वतीय पर्यटन क्षेत्रको विकासमा जोड दिनु आवश्यक रहेको बताए। 

प्रकाशित: १० आश्विन २०७९ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App