कर्णालीका किसानले चिनो संरक्षण गर्न थालेका छन्। झण्डै दुई दशक पहिले कर्णालीमा धेरै मात्रामा उत्पादन हुने रैथाने बाली चिनो, कागुनो, फापर र कोदो अहिले लोप हुने अवस्थामा छ। पछिल्लो समय चिनोको माग बढेपछि कर्णालीका किसानले संरक्षण अभियान सुरु गरेका हुन्।
कालिकोटको खाँडाचक्र नगरपालिका—११ बराँतुका किसान हरिचन्द्र गिरीले यो वर्ष झण्डै एक रोपनीमा चिनो खेती गरे। उनले लगाएको चिनोको उत्पादन पनि राम्रो भएको छ। कर्णालीको रैथाने बाली चिनोकोे बजारमा माग बढ्न थालेपछि हरिचन्द्र चिनो खेतीमा हौसिए। जिल्लाको सुन्तला गाँउ भनेर चिनिने बराँतुका किसान गिरीले भने– ‘परापूर्वकालमा गाँउमा चिनो, कागुनोको व्यापक रूपमा खेती हुन्थ्यो। बजारमा माग थामिनसक्नु छ। अहिले माग पूरा गर्न सक्ने अवस्था छैन। पाखो बारीमा फल्ने चिनोका लागि खासै दुःख गर्नुपर्दैन।’
कर्णालीमा घुम्न आउने पर्यटकले समेत चिनोको परिकार निकै रूचाउँछन् तर मागअनुसार चिनो उत्पादन हुन सकेको छैन। एक दशक अघिसम्म कर्णालीका नागरिकले जौ, कोदोपछि सबैभन्दा धेरै चिनो खेती गर्थे तर उपभोग हुन छाडेपछि खेती नै गर्न छाडेका थिए। अहिले माग बढी भएको र उत्पादन कम हुँदा पुनः किसान चिनो खेतीतर्फ आकर्षित भएका छन्।
जुम्लाको तिला गाउँपालिका–८ का पन्ना रावत एक महिनाअघि एक क्विन्टल चिनो लिएर खलंगा आएका थिए। बजारमा चिनो बिक्छ कि बिक्दैन भन्ने उनलाई अन्योल थियो। उनी बजार पुग्ने बित्तिकै चिनो बिक्री भयो। १५ हजार हातमा आएपछि उनले खुसी हुँदै भने– ‘चामल त चिनोको पनि बिक्दो रहेछ। गाउँमा गरिबको खानाका रूपमा हेरिन्छ तर चिनो त मार्सी चामलभन्दा महँगो रहेछ।’ जुम्लाको स्थानीय भाषामा चिनोलाई मुरी भनिन्छ।
कर्णालीका अधिकांश जिल्लामा लगाइने बाली चिनो अहिले लोप हुने अवस्थामा पुगेको छ। सिँचाइ सुविधा नभएका पाखो बारीमा लगाइँदै आएको चिनो खेती घट्दै गएको छ। समुद्र सतहबाट १५ सयदेखि ३ हजार मिटरको उचाइ सम्म चिनो खेती गरिन्छ। चिनो कर्णालीका हिमाली जिल्लाहरूमा फल्ने खाद्य बाली हो। कर्णालीको कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पालगायत जिल्लामा चिनो अत्यधिक फल्छ।
चिनोको भातभन्दा खिर झन् स्वादिलो हुन्छ। सुर्खेत, नेपालगन्ज र काठमाडौंको बजारमा पाँच सय रूपैयाँदेखि एक हजार रूपैयाँ किलोमा समेत चिनो बेच्ने गरिएको स्थानीय जीवन गिरीले बताए। उनले भने– ‘बिना औषधि सुगर निको पार्ने सजिलो उपाय चिनोको भात हो। परिकार मिठो हुने र स्वास्थ्यका लागि पनि राम्रो भएकाले यसको माग बढेको हो। यस्तै चिनोको सेवनले स्मरण शक्ति वृद्धि गर्ने, उच्च रक्तचाप घटाउने, हडी बलियो बनाउन मदत गर्छ।’
अनिकाल परेपछि यहाँका नागरिकले भोक टार्न यही चिनोको चामल खाने गर्थे। ‘जात फाल्नु चिनोको भातमा’ भन्ने उखान अहिले पनि कर्णालीमा प्रचलित छ। यसको अर्थ हुन्छ, धानको भात खाने हैसियत नभएकाले मात्र चिनोको चामल प्रयोग गर्छन्।
कालिकोट र जुम्लाका स्थानीय तहले पनि रैथाने बाली संरक्षणका लागि पहल थालेका छन्। कालिकोटको तिलागुफा नगरपालिकाले पनि चिनो, कागुनो, फापर र जुनेलोजस्ता रैथाने बालीहरू संरक्षणका लागि नीति तथा कार्यक्रममै समेटेको छ। नगरपालिका भित्रका किसानलाई रैथाने बाली उत्पादन गर्न अनुदान दिँदै उत्पादित बालीको बजार सुनिश्चित गर्ने उद्देश्यले नगरपालिका भित्र उत्पादित रैथाने बालीहरू नगरले नै खरिद गरी बजारीकरण गर्ने योजना बनाएको छ।
यस्तै जिल्लाको पलाँता क्षेत्र कोदो, चिनो, कागुनो, फापर, सिमी र आलु उत्पादनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो। यहाँ उत्पादित रैथाने बालीहरू विगतमा आफैंलाई मात्र प्रयोग गरिन्थ्यो। किसानले राम्रो बजार पाउँदैन थिए।
कर्णालीमा उत्पादित रैथाने बालीहरू अन्य क्षेत्रको तुलनामा बढी स्वादिष्ट हुने गरेको भए तापनि बजारको व्यवस्था पनि नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ। जुम्लामा उत्पादन भएका रैथाने बालीहरू सहकारीहरूले कोसेली घरमा राख्ने गरेका छन्। कालिकोटमा भने रैथाने बालीहरू संकलनको लागि स्थानीयतहले चासो दिएको छैनन्।
प्रकाशित: ६ भाद्र २०७९ ०२:२५ सोमबार