८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

रूपातालमाथि झोलुंगे पुल

रूपातालमाथि निर्माण गरिएको झोलुंगे पुल। नागरिक

पोखराको पर्यटकीय गन्तव्य रूपाताल माथि झोलुंगे पुल निर्माण भएको छ। पोखराको लेखनाथस्थित रूपातालमाथि २ सय ६९ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो। पोखरा महानगरपालिका–३१ र रूपा गाउँपालिका–६ को मिलनविन्दु सिमलटुँडामा बनेको पुलको मंगलबार उद्घाटन गरियो।

पुलको गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति तथा सांसद दीपक कोईरालाले उद्घाटन गरे। भंगारा पचभैया ट्रेल ब्रिज नामाकरण गरिएको पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार रुपैयाँ लागतमा बनेको हो। पुलको लम्बाई २ सय ६९ र चौडाईं एक मिटर छ। पुलको क्षमता प्रति मिटर ३ सय १८ केजी रहेको पूर्वाधार विकास कार्यालय कास्कीका ईञ्जिनियर हरी थापाले जानकारी दिए।

पूर्वाधार विकास कार्यालय कास्कीले हेरेको सो पुलको निर्माण एम–एस तेज जगदम्बा रुजान जेभी कम्पनीले निर्माण गरेको हो। २०७६ साल जेठ २१ गते एकवर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी निर्माण गर्ने भनिएपनि कोभिड–१९का कारण पुलको लठ्ठा भारतको पञ्जावबाट नआउँदा २०७९ साल असार ३० गतेसम्मका लागि समय थप गरिएको थियो। थपिएको मिति सकिन ६ दिन बाँकी रहँदा गत असार २४ गते पुल निर्माण कम्पनीले पुल निर्माणको काम सकेको पूर्वाधार विकास कार्यालय कास्कीका ईञ्जिनियर थापाले बताए।

पुल निर्माणसँगै पोखरा–३१ र रुपा–६ आपसमा जोडिएका छन्। यसअघि तालले छुट्टिएका यी दुई ठाउँ पुल निर्माणपछि भौतिक रुपमा जोडिएका हुन्। उसो त पुल निर्माणसँगै पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ। पुल निर्माण भएर उद्घाटन नहुँदै दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन्। टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानियले बताए।

पुल निर्माणको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति तथा एवं प्रदेश सदस्य दीपक कोईरालाले पुल विकास र समृद्धिको वाहक बनेर आएको बताए। ‘पचभैया, सिमलटुँडा लगायतका क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने यो एउटा प्रयास हो,’ उनले भने, ‘किनकी यो पोखरा र रुपा जोड्ने कनेक्टिङ रोड हो, आवतजावतमा सहज त बनाउँछ नै, सँगसँगै पर्यटकीय गतिविधि पनि बढाउनेछ।’ उनले प्रदेश सरकार भएकै कारणले पुल बनेको बताए ।

‘यस्ता क्षेत्र संघीय सरकारको प्राथमिकतामा पर्दैन, स्थानियले सक्दैन। यो प्रदेश सरकार भएकैले सम्भव भएको हो, यसले संघीयतालाई पनि पुष्टि गर्छ,’ उनले भने। प्रदेश सरकारले आफ्नो बलबुताले भ्याए र सकेसम्म गरिरहेको भन्दै उनले व्यक्तिले गलत ग¥यो भन्दैमा प्रदेश सरकारलाई गाली गर्न नहुने बताए। ‘कसैले  गलत ग¥यो भन्दैमा संघीयता, प्रणाली नै गलत भन्नु हुँदैन,’ उनले भने। पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पुलसँगै पर्यटक बढ्ने र यसले व्यवसाय बढाउनुका साथै रोजगारीपनि थप्ने विश्वास व्यक्त गरे।

होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी दामोदरभक्त थापाले पुल निर्माणसँगै पर्यटक बढ्ने आशा व्यक्त गरे। उनले भने, ‘पुलले दुई गाउँ र दुईठाउँ मात्र जोडेन, बरु पचभैया आएका पर्यटक रुपा जान सक्ने भए। पारी जामुनकुना पुगेका पर्यटक वारी माझीकुना, बेगनास, पचभैया आउनसक्ने भए।’

पुल निर्माण भएपनि त्यहाँ पुग्न कच्ची बाटो हिंड्नुपर्ने बाध्यता छ। तर बाटो पनि चाँडै कालोपत्रे हुने प्रदेश सांसद कोईरालाले बताए। बाटोका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने पुल निर्माणबाट बचत भएको १५ लाख रुपैयाँ पनि बाटो निर्माणमै खर्चिनका लागि राखिएको उनले बताए।  ‘बाटो बनाउन बजेटको अभाव छैन, यहि आर्थिक वर्षमा बाटो बन्छ,’ उनले भने।  

प्रकाशित: १० श्रावण २०७९ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App