२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीनकुनेको आर्क ब्रिजको ठेक्का वाइपी किराँतेश्वरलाई

कोस्टल-पप्पु जेभीले कमसल निर्माण गरेर अलपत्र पारेको तीनकुनेस्थित बागमती नदीमा फेरि आठ वर्षपछि नयाँ ठेक्का लागेको छ। नयाँ ठेक्का प्रक्रियाबाट पुल निर्माण गर्ने जिम्मेवारी भने वाइपी किराँतेश्वर जेभीले हात पारेको छ। काठमाडौं उपत्यका सडक विस्तार योजनाका अनुसार आर्थिक प्रस्ताव मूल्यांकनमा सबैभन्दा कम रकम कबोल गर्ने वाइपी किराँतेश्वर जेभी छनोट भएको हो। यो कम्पनीसँग ठेक्का सम्झौता भने अझै भइसकेका छैन।

काठमाडौं उपत्यका सडक विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाले आर्थिक प्रस्ताव पेश गरेका ६ कम्पनीमध्ये सबैभन्दा कम रकम प्रस्ताव गरेको वाइपी किराँतेश्वर जेभी छनोट भइसकेको भए पनि अहिलेसम्म ठेक्का सम्झौता भइनसकेको बताए। ‘हामीले निर्माण कम्पनीलाई ठेक्का सम्झौताको लागि बोलाइसकेका छौं, अबको केही दिनभित्रै ठेक्का सम्झौता हुनेछ’-उनले भने।

योजनाका अनुसार जेभीले करिब २४ करोड लागतमा ठेक्का हात पारेको हो। आर्थिक प्रस्तावमा वाइपी किराँतेश्वर जेभी, सपना निर्माण सेवा, लुम्बिनी कोटेक जय जेभी, लामा जीएसएचसी जेभी, हिम सगरमाथा कन्सट्रक्सन प्रालि, हिमदुङ थोकर गोल्डेन गुड जेभी छनोट भएका थिए। अरू कम्पनीले भन्दा सबैभन्दा कम रकम कबोल गरेकाले वाइपी किराँतेश्वर जेभी छनोट भएको थियो।

योजना प्रमुख ओझाले कोस्टल–पप्पु जेभीले तिनकुनेमा दुवैतर्फ निर्माण गरेको दुई वटा पुलको चार वटा फाउण्डेसनमध्ये तीन वटा काम नलाग्ने भएकाले भत्काउनुपर्ने बताए। ‘पप्पुले निर्माण गरेको पुलको चार वटा फाउण्डेशनमध्ये तीन वटा कामै नलाग्ने अवस्थामा रहेका छन्,’ उनले भने-‘छनोट भएको नयाँ ठेकेदार कम्पनीले ६ महिनाभित्रै पुलको पुनः डिजाइन गरेर कार्यालयलाई बुझाउनुपर्नेछ। कम्पनीले बनाएको पुलको डिजाइन स्वीकृत भएसँगै पुल निर्माण कार्यले गति लिनेछ।’

योजना प्रमुख ओझाले अबको करिब ६ महिनापछि मात्रै तीनकुने पुलको निर्माण प्रक्रिया अघि बढ्ने बताए। यसअघि संसद्को विकास तथा प्रविधि समितिले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले पुलको फाउण्डेसन (जग) को पाइल निर्माणमा रहेको गम्भीर त्रुटी सच्याउन भनेको थियो तर पप्पुले सो निर्देशन नमानेर अटेरी गरेको थियो। संसद्को विकास तथा प्रविधि समितिको अध्ययन प्रतिवेदनले तीनकुने पुल निर्माणमा गम्भीर गल्ती फेला पारेको थियो। समितिले गत जेठमै ठेकेदार कम्पनीलाई कारबाही गर्न सिफारिस गरे पनि आयोजना र सडक विभागले आनाकानी गर्दै आएका थिए।

ठेक्का सम्झौताअनुसार २९.५ मिटर गहिराइको पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो। ठेकेदार कम्पनीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। त्यसैगरी दुईवटा पाइल क्रयाक भएको प्राविधिक परीक्षणमा देखिएको छ।

पप्पुले तीनकुनेको आर्क पुल २०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने लक्ष्सहित २०७१ पुस ९ गते सम्झौता गरेको थियो। सम्झौता अनुसार बाग्मती नदीको उत्तर र दक्षिण दुवैतर्फ ८६ मिटर लामो तथा १७/२० मिटर चौडा पुल निर्माण गर्नुपर्ने हुन्छ। उक्त पुल निर्माण गर्न २१ करोड ३३ हजारमा ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीको ढिलासुस्ती र कमसल निर्माणको कारण पुलले गति लिन सकेन।

कोस्टल–पप्पु जेभीले भने योजनाले जबरजस्ती आफूलाई हटाएको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको छ। योजनाले २०७६ मंसिरको पहिलो साता ठेकेदार कम्पनीले निर्माणाधीन आर्क पुल अलपत्र पारेको भन्दै आयोजनाले एकतर्फी रूपमा ठेक्का तोडेर सो कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो।

कार्यालयले कालोसूचीमा राखेर कारबाही गरेका मध्ये राजनीतिक पहुँचका हिसाबले सबैभन्दा शक्तिशाली कम्पनी नै पप्पु कन्स्ट्रक्सन हो। पप्पुका सञ्चालक प्रतिनिधिसभाका सांसद हरिनारायण रौनियार हुन्। अहिले रौनियारलाई भ्रष्टाचारको अभियोग लागेसँगै उनको सांसद पद भने निलम्बनमा परेको छ। रौनियार राजनीतिक पहुँचकै आधारमा पुल तथा सडक निर्माणका आयोजना वर्षाैदेखि अलपत्र पार्दै आइरहेका छन्।  

प्रकाशित: २९ असार २०७९ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App