नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ। पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले ‘तानसेन’ ब्राण्डको पीपीसी सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक रूपले सुरु गरेको हो। आरएमसी समूहका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालका अनुसार हाल परीक्षणको रूपमा भारतको गोरखपुरमा तीन ट्रक सिमेन्ट निकासी गरेको छ। उनले भने-‘सरकारको नीति कुरेर बसेनौं, सरकारको छुट आँउदै गर्छ। निकासी शुरु गरेर विदेशी सञ्चिति बढाउँ भन्नेतर्फ लाग्यौं।’
उद्योगले १५ दिन अघि इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) पाएको थियो। आरएमसी समूहको वीरगञ्जमा रहेको आरएमसी सिमेन्टले चार वर्षअघि भारतमा केही ट्रक सिमेन्ट निकासी गरेको थियो। सिमेन्टमा ९० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने भएकोले निकासीबाट पनि अधिकतम लाभ हुने अग्रवालले जनाए।
सरकारले बजेट मार्फत सिमेन्ट निकासीमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेपछि विभिन्न उद्योगले भारतीय बजार हेरिरहेका थिए। अरू उद्योगले अध्ययन गरिरहेका बेला पाल्पाले भने निकासी गरेर बाटो खोलेको जनाएको छ।
हाल नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालन भइरहेका छन्। तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन्। यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ। करिब पाँच साल पहिला स्थापित पाल्पा सिमेन्टले तीन वर्ष अघिदेखि आफ्नो उत्पादन शुरु गरेको हो।
उत्पादन शुरु गरेर बजारमा जानासाथ विश्वव्यापी कोरोनाको लहरले समग्र अर्थतन्त्र नै सुस्त रहेको अवस्थामा पाल्पा जिल्लाको माथगढी ७ रहबासमा आफ्नै चुनढुङ्गा खानी रहेको यस उद्योगले हरेक समस्याका बाबजुद गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै बजारमा उल्लेख्य उपस्थिति राख्न सफल भएको जनाएको छ।
प्रकाशित: २७ असार २०७९ ०१:५६ सोमबार