१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकारी लक्ष्यको ६६ प्रतिशत पुल बने

सडक विभाग मातहतको पुल महाशाखा चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको पुल निर्माण गर्न असफल देखिएको छ। महाशाखाले चालु आवमा तीन सय वटा पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। पुल निर्माणको मुख्य सिजनमै निर्माण व्यवसायीले कन्स्ट्रक्सन होलिडे घोषणा गरेर निर्माण क्षेत्रलाई ठप्प पारेकाले पनि चालु आवमा लक्ष्य अनुसारको पुल निर्माण हुन नसकेको हो।

चालु आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी रहँदा हालसम्म करिब दुई सय पुल निर्माण कार्य सकिएको छ। यो लक्ष्यको ६६ प्रतिशत मात्रै हो। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको पुल निर्माण हुन नसकेको बताए।

‘विभागले चालु आवमा तीन सय वटा पुल निर्माण गर्ने लक्ष्य राखेका थियौं। चालु आवको पुरक बजेट तीन महिनापछि आएकाले पनि बजेट खर्च गर्न समस्या देखियो। निर्माण व्यवसायीको कन्स्ट्रक्सन होलिडे लगायतको कारणले लक्ष्यको ६६ प्रतिशत मात्रै पुल निर्माणको काम भएको छ।’ विभागका अनुसार हालसम्म करिब २ सय पुल निर्माण भएको प्रारम्भिक तथ्यांक आएको छ।

महानिर्देशक थापाले चालु आवमा सडक विभागले पुल निर्माणको लागि १० अर्ब रूपैयाँ बजेट विनियोजन गरेकोमा हालसम्म करिब ७ अर्ब रूपैयाँ खर्च भइसकेको दाबी गरे। ‘रुस र युक्रेनको युद्धको कारणले निर्माण सामग्रीको मूल्य अत्यधिक वृद्धि भएकाले पनि पूर्वाधार निर्माणमा धक्का लाग्यो,’ उनले भने-विगतका वर्षको तुलनामा चालु आवमा पुल निर्माणको गतिमा कमी आएको छ।’

महानिर्देशक थापाले मूल्यवृद्धि हुनु अगावै निर्माण सामग्री खरिद गरेका निर्माण व्यवसायीले मात्रै पुल निर्माणको काम गरेको दाबी गरे। विभागका अनुसार चालु आवको चैत मसान्तसम्मको अवधिमा ९७ वटा पुल निर्माण भएको थियो।

सडक विभाग मातहतको पुल महाशाखा अघिल्ला वर्षमा पनि लक्ष्य अनुसारको पुल निर्माणमा असफल देखिँदै आइरहेको छ। पुल निर्माणको विगत चार वर्षको तथ्यांक केलाउँदा पनि लक्ष्य अनुसारको काम हुन नसकेको स्पष्ट तस्बिर देखिन्छ।

चालु आवमा ६६० पुलको लागि तीन अर्ब ३२ करोड विनियोजन गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षमा रणनीतिक सडक पुल तथा पुलपुलेसा संरक्षण अन्तर्गत ६६० वटा योजनाका लागि तीन अर्ब ३२ करोड ५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

पुल निर्माणको गति अघिल्ला वर्षमा पनि सुस्त

सडक विभाग मातहतको पुल महाशाखा अघिल्ला वर्षमा पनि लक्ष्य अनुसारको पुल निर्माणमा असफल देखिँदै आइरहेको छ। पुल निर्माणको विगत चार वर्षको तथ्यांक केलाउँदा पनि लक्ष्य अनुसारको काम हुन नसकेको स्पष्ट तस्बिर देखिन्छ।

पुल निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटाल गर्ने प्रवृत्ति, आयोजना प्रमुखको गैरजिम्मेजारी र लामो समयसम्म पुल निर्माण अलपत्र पार्ने कारणले पुल निर्माणले गति लिन नसकेको हो। चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार पुल हुने सम्भावना छैन।

सडक विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा मुलुकभर तीन सय वटा पुल निर्माण गर्ने लक्ष्य राखेकोमा सो अवधिमा लक्ष्यको ६४ प्रतिशत अर्थात् १९० वटा पुल मात्रै निर्माण गरेको थियो। विभागले गत वर्ष कोभिड १९ को कारण देखाउँदै लक्ष्य अनुसारको निर्माण हुन नसकेको जनाएको छ।

पुल महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा पनि तीन सय पुल निर्माण गर्ने लक्ष्य राखेकामा २१० वटा निर्माण गरेको थियो। आर्थिक वर्ष २०७५/७६ वर्षमा दुई सय ४३ र आर्थिक वर्ष ०७४/७५ मा ८२ वटा पुल निर्माण भएका थिए।

सडक विभागका अनुसार चालु आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा हालसम्म करिब ६ सय किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। सडक विभाग मातहतका आयोजनाका लागि चालु आवमा एक खर्ब २७ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो तर सोही अनुसारको खर्च पनि हुन सकेको छैन।

प्रकाशित: २२ असार २०७९ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App