२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साताभरमा नेप्से १६६ बिन्दुले बढ्यो: लगानीकर्ताको आत्मबल फर्केको संकेत

साताको सेयर कारोबारले पुँजी बजारका लगानीकर्तामा आत्मविश्वास फर्केको संकेत गरेको छ।

केही महिनादेखि कारोबार लगातार घटदै आएकामा गत साताको अवस्थामा सुधार आएको हो। साताका ६ कार्य दिनमध्ये ३ दिन गिरावट र ३ दिन कारोबारमा सुधार आएको थियो। कारोबारमा गिरावट आउँदा सानो र सुधार आउँदा ठूलो बिन्दुले सुधार आएकाले साताको समग्र अवस्था राम्रो देखिएको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभरमा नेप्से परिसूचक १६६  बिन्दुले बढेकोले लगानीकर्ताको आत्मवल फर्केको संकेत गरेको हो। साताको पहिलो दिन करिब ९४.९२ बिन्दुले बढेको सेयर कारोबारमा त्यसपछिका दुई दिन लगातार गिरावट आएको थियो। सोमबार २३.८५ र  मंगलबार ११.८२ बिन्दुले नेप्से परिसूचक घट्न पुगेको थियो।

साताको चौथो दिन बुधबार ४१.३९ र बिहीबार ७४.९३ बिन्दुको सुधार आएको थियो। अन्तिम दिन शुक्रबार भने नेप्से ८.८७ बिन्दुले घटेको छ। साताभरमा सबैभन्दा धेरै सेयर मूल्य जीवन र निर्जीवन बिमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, होटल तथा पर्यटन उपसूचकहरूको कारोबार धेरै भएको थियो।

एक्सचेञ्जका अनुसार साताको अन्तिम कार्य दिन शुक्रबारको कारोबार पछि नेप्से परिसूचक २०२८.७७ बिन्दुमा आएको छ। एक्सचेञ्जका अनुसार शुक्रबार २०४० बिन्दुबाट दिनको कारोबार सुरु भएको थियो। दिनभर जसो बजारमा निकै उतारचढाव आएको थियो।

कारोबारमा गिरावट र बढोत्तरी भइरहेपछि परिसूचक पनि त्यही अनुसारले तलमाथि गरिरहेको थियो। दिनभरमा परिसूचक अधिकतम २०५३ र न्यूनतम २०१७ सम्म झरेको थियो। बजार बन्द हुँदा नेप्से २०२८ बिन्दुमा रोकिएको हो।

एक्सचेञ्जका अनुसार शुक्रबार सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा गिरावट आएको छ। सेन्सेटिभ ३.१७, फ्लोट ०.२४ र  सेन्सेटिभ फ्लोट ०.२ बिन्दुले घटेका छन्। यस्तै सेयर  बजारका अन्य १३ उपसूचकमध्ये १० उपसूचकको कारोबारमा गिरावट आएको छ भने ३ वटा उपसूचक बढेका छन्।

कारोबारमा गिरावट आउने उपसूचकहरू मध्ये सबैभन्दा धेरै घट्नेमा विकास बैंक परेको छ। यो उपसूचक ४९ बिन्दुले घटेको हो। यस्तै जीवन बिमा ३३, उत्पादन तथा प्रशोधित ३१, होटल तथा पर्यटन २२ र जीवन बिमामा १८ बिन्दुको गिरावट आएको छ।

सबैभन्दा थोरैले गिरावट आउने उपसूचकमा सामूहिक लगानी कोष ०.०९ बिन्दु रहेको छ भने बैंकिङ उपसूचक ८.३२ बिन्दुले घटेको छ। यस्तै कारोबारमा सुधार आउने परिसूचकहरूमा लघुवित्त, व्यापार, फाइनान्स छन्। लघुवित्त २९, व्यापार २५ र फाइनान्स ७ बिन्दुले बढेका हुन्।

एक्सचेञ्जका अनुसार शुक्रबारको कारोबारमा सबैभन्दा धेरै प्रतिसेयर मूल्य ९.९९ प्रतिशतले बढ्ने कम्पनीमा २ वटा परेका छन्। यस्तै प्रतिसेयर मूल्य सबै भन्दा धेरैले गिरावट आउने कम्पनीको मूल्य ४.७७ प्रतिशतले घटेको छ।

यस्तै रकमका आधारमा सबैभन्दा धेरै कारोबार शिवम सिमेन्टको भएको छ। यसको ५ करोड ५७ लाख ४७ हजार रूपैयाँको कारोबार भएको हो। यस्तै एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २२ लाख ५६ हजार र नेपाल पुनर्बिमा कम्पनीको ४ करोड ९० लाख रूपैयाँको कारोबार भएको हो।

सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर नेशनल हाइड्रो पावर कम्पनीको भएको छ। यसका १ लाख ७ हजार ३ सय ८६ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै एसियन लाइफ इन्स्योरेन्स ८६ हजार २ सय ७९ र सिटिजन बैंकको ८५ हजार ६ सय ३३ कित्ता सेयर  बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार शुक्रबार २२१ कम्पनीका ३६ लाख ६३ हजार २ सय २० कित्ता सेयर बिक्री भएका छन्। यसका लागि १ अर्ब ४५ करोड ९३ लाख रूपैयाँको कारोबार भएको छ। बजार  पुँजीकरण २८ खर्ब ९२ अर्ब रूपैयाँमा पुगेको छ।

प्रकाशित: १९ असार २०७९ ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App