१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखराको नीति तथा कार्यक्रममा रोजगारीमा जोड

हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा ३ हजार रोजगारी थप गर्ने योजनासहित पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ। महानगरका प्रमुख धनराज आचार्यले सीपसँगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्।  

हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा ३ हजार रोजगारी थप गर्ने योजनाका साथ १२ कक्षा अध्ययन सकेका युवालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडीबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेरेनरी, इम्ब्रोइडरी, ग्राफिक्स र वेबपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदिजस्ता सीपसँगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिने मेयर आचार्यले बताए।  

‘दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न महानगर विशेष स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘पोखरा महानगरपालिकामा रोजगार सूचना केन्द्रको स्थापना गरी स्थानीय, राष्ट्रिय, वैदेशिक तथा निजी क्षेत्रसँग सञ्जालीकरण गरी मागसँग आबद्ध गरिनेछ।’ त्यस्तै न्यूनतम रोजगारीको प्रत्याभूति गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमका साथै महानगरपालिकाको विकास निर्माण कार्यलाई समेत स्थानीय रोजगारी सिर्जनासँग आबद्ध गरिने आचार्यले बताए।  

त्यसैगरि कृषि उत्पादनको बजारीकरण, मूल्यशृंखला र भण्डारण सहयोगका लागि ‘बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म’ अभियान सञ्चालन गरिने पनि नीति तथा कार्यक्रमले समेटेको छ। कृषि उपज संकलन केन्द्र र कृषि बजारमार्फत स्थानीय कृषि उपज बिक्रीवितरण सुनिश्चित गरिने मेयर आचार्यले बताए। कृषि उपजको उचित मूल्य र बजार पहुँचका लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गरिने पनि यसमा उल्लेख छ। प्राकृतिक तथा अन्य कारणले बालीमा पुग्न सक्ने क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमान सूचना प्रणालीको व्यवस्था मिलाउँदै कृषि बिमालाई पनि महानगरको नीतिले प्राथमिकता दिएको छ।  

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारसमक्ष यसअघि नै अनुरोध गरिसकेको र पर्यटकको बसाइ अवधि बढाउन पर्यटकीय गतिविधि बढाउने पनि महानगरको नीतिमा समेटिएको छ। पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको प्याराग्लाइडिङ विस्थापित हुने भए पनि महानगरले प्याराग्लाइडिङलाई पोखराभित्रै सञ्चालन गर्न पहल गर्ने पनि बताएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी जनवरी १ अघि नै पोखराको आकाशबाट प्याराग्लाइडिङ हट्नुपर्ने बताइसकेको छ। पोखरामा निर्माण भएर पनि व्यवस्थापन नभएको पर्यटक बसपार्क व्यवस्थापन पनि महानगरले गर्ने नीतिमा समेटिएको छ।

प्रकाशित: १० असार २०७९ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App