५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

‘प्रदेशलाई आत्मनिर्भर बनाउन खोजेका हौंः गण्डकी प्रदेशका अर्थमन्त्री

बजेटबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल। तस्बिरः उमेश पुन÷नागरिक

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर बजेट ल्याएको बताएका छन्। गण्डकी प्रदेशका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको भोलिपल्ट पत्रकार सम्मेलन गरेर उनले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर कृषि केन्द्रीत बजेट ल्याएको बताए।

‘समृद्धिका लागि आत्मनिर्भर अर्थतन्त्र आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि कृषिमा आत्मनिर्भर हुन जरुरी छ। त्यसैलाई लक्षित गरेर यस वर्षको बजेटमा हामीले उत्पादनमा बृद्धि ल्याउनेगरी बजेट विनियोजन गरेका छौं।’ कृषिलाई व्यवसायीकरण गर्ने, कृषिजन्य वस्तुको बजारीकरण, प्रवद्र्धन गर्नेगरी बजेटलाई केन्द्रीत गरेको उनको भनाई छ।

अर्थमन्त्री बरालले कृषि सामग्रीको बजारीकरणका लागि एक निर्वाचन क्षेत्र एक कृषि सडक निर्माण गर्न बजेट विनियोजन गरिएको बताए। खास गरेर कृषिका विभिन्न व्लक र पकेट क्षेत्र तथा अन्य कृषि उत्पादित वस्तुको बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले एक निर्वाचन क्षेत्र एक कृषि सडक कार्यक्रम ल्याइएको उनको प्रष्टोक्ती थियो। कृषि सडक पनि फरक फरक हुने भन्दै उनले सडक नभएको ठाउँमा सामान्य सडक निर्माणदेखि भइरहेका सडकको स्तरोन्नतीसम्मका काम गरिने बताए।

उनले एक निर्वाचन क्षेत्र एक सडक र एक निर्वाचन क्षेत्र एक कृषि सडक छुट्टाछुट्टै कार्यक्रम भएकाले यी दुबै कार्यक्रम कार्यान्वयन हुने बताए। अर्थमन्त्री बरालले कृषिपछि उद्योगलाई बजेटमा प्राथमिकता दिइएको बताए। उद्योगमार्फत उत्पादन बढाएर प्रदेशलाई आत्मनिर्भर बनाउनु नै बजेटको उद्देश्य रहेको उनले प्रष्ट्याए। ‘उत्पादित वस्तुको बजारीकरणमा सघाउन उद्योग केन्द्रीत पूर्वाधार निर्माणमा जोड दिएका छौं,’ उनले भने। उनले प्रदेशको गौरवको आयोजना अन्तर्गत कास्कीको पुँडीटार र तनहुँको लोकाहाखोलामा उद्योग स्थापनाका लागि पनि बजेट छुट्याइएको बताए।  

अर्थमन्त्री बरालले यस पटकको बजेट वितरणमुखी नभएको दाबी गरे। प्रतिपक्षीले त वितरणमुखी बजेट आयो भनेर टिप्पणी गरेको छ नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘प्रतिपक्षीको संस्कारै रहेछ विरोध गर्ने। जति राम्रो गरेपनि विरोध गरिरहनुपर्ने संस्कारबाट ग्रसित छ हाम्रो संसदीय अभ्यास। यो एउटा रोग रहेछ।’ उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने संस्कारको विकास गरेमात्र लोकतन्त्र सबल र सुदृढ हुने बताए। उनले खुद्रे योजना र बजेट हाल्न नहुनेमा आफू स्पष्ट भएकैले यसपटक त्यसो नगरिएको जिकीर गरे। ‘खुद्रे बजेट र योजना नहाल्ने नीति अनुरुप नै यसपटक निर्माणमा १० लाख भन्दा कमको योजना हालिएकै छैन,’उनले भने।

अर्थमन्त्री बरालले आगामी सरकारलाई अप्ठेरो पार्नेगरी बजेट बनाउन दवाब दिएपनि आफूले त्यसलाई खारेज गरिदिएको बताए। ‘सरकार अविछिन्न उत्तराधिकारी हो। तर केहि साथीहरुले आगामी सरकारलाई अप्ठेरो पार्नेगरी बजेट बनाउन दवाब दिए तर म त्यसको विपक्षमा उभिईरहेँ र त्यस्तो बजेट आउन दिईनँ’–उनले भने। उनले जो आएपनि सहज रुपमा काम गर्ने र प्रदेशको अर्थतन्त्र बलियो बनाउँदै समृद्ध प्रदेश निर्माणको आधार तयार गर्नेगरी बजेट बनाउन आफू दृढतापूर्वक उभिएको बताए।

अर्थमन्त्री बरालले बजेटको प्रभावकारी कार्यान्वयन हुने बताए। बजेट कार्यान्वयनको आधार देखेरै बजेट निर्माण गरिएको र यो कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको उनले बताए उनले बजेटमा प्रक्षेपित राजश्व संकलन हुने आधारहरु देखिएको दाबी गरे।

प्रकाशित: २ असार २०७९ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App