३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रदेश १: ३७ अर्ब बढीको बजेट ल्याउने तयारी

प्रदेश १ को सरकारले ३७ अर्ब बढीको  बजेट ल्याउने तयारी गरेको छ। प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्वोले चालु आर्थिक वर्ष०७८/७९को  भन्दा आगामि आर्थिक वर्ष ०७९/८० को बजेट १५ प्रतिशत भन्दा बढी हुने बताए।  

चालु आर्थिक वर्षका लागि प्रदेश १ को सरकारले ३२ अर्ब ४६ करोड रुपैयाँको बजेट ल्याएको थियो। यस आधारमा हेर्दा आगामि आर्थिक वर्ष ०७९/८० का लागि १५ प्रतिशतले बजेट बढे ३७ अर्ब बढीको बजेट आउने देखिन्छ। अर्थमन्त्री आङ्वोले  बजेटले कृषिलाई प्राथमिकतामा राख्ने बताए। उनले आगामि आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको उत्पादकत्व बृद्धि हुने, रोजगारी सृजना हुने र आयात प्रतिश्थापन हुने कार्यक्रम आउने जानकारी दिए। उनले भने, ‘कृषिलाई प्रमुख प्राथमिकतामा राखेर उत्पादकत्व बृद्धि हुने, रोजगारी सृजना हुने र आयात प्रतिश्थापन गर्ने खालको बजेट ल्याउने तयारी गरिएको छ।’ उनका अनुसार कृषि अनुदान प्रभावकारी बनाउन उत्पादनका आधारमा किसानलाई अनुदान दिने व्यवस्था प्रदेश सरकारले गर्न लागेको छ।  

मन्त्री आङ्वोले प्रदेश सरकारले सार्वजनिक गरेको  आर्थिक वर्ष ०७९/८०को नीति तथा कार्यक्रमको आधारमा बजेट तयार पारिएको जानकारी दिए। प्रदेश १ को सरकारले आगामि आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकतामा राख्दै  उद्योग, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा कृषि क्षेत्रको समग्र विकासका लागि प्रादेशिक कृषि विकास रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, खाद्य सुरक्षाका लागि उन्नत जातको वीउ विजनमा कृषकको पहुँच विस्ता गर्ने उल्लेख छ। 

कृषि तथा पशुधन विमा र सहूलियतपूर्ण कर्जा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, उत्पादनका आधारमा किसानलाई सोझै अनुदान दिने नीति तथा कार्यक्रममा उल्ल्ेख छ। कृषि विकास सम्बन्धी सेवा सुविधा तथा सहुलियत प्रदान गर्दा किसान परिचय पत्रलाई क्रमशः अनिवार्य गर्दै लगिने व्यवस्था गरिएको छ। स्थानिय तहसँगको सहकार्यमा साना किसानबाट उत्पादन गरिएको कृषि उपज संकलन, प्रशोधन, प्याकेजिङ र बजारीकरणको ‘एकिकृत बजारीकरण मोडेल’ मार्फत बजार सुनिश्चित गर्ने नीति र कार्यक्रममा उल्लेख छ।  

यस्तै प्रदेश १ मा उद्योग मैत्री वातावरण निर्माण गर्ने, उद्योग क्षेत्रमा थप लगानी आकर्षित गर्ने उल्लेख छ। प्रदेशका ठूला आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी भित्राउन बृहत लगानी सम्मेलन आयोजना गर्ने, नीजि क्षेत्रसंगको सहकार्यमा प्रदेश भित्र एउटा औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्ने सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ। 

हाम्रो उत्पादन हाम्रो संस्कृति अभियान सँचालन गर्ने, एक गाउँ एक उद्योग, एक घर एक उद्यमी कार्यक्रमको थालनी गर्ने नीति प्रदेश सरकारले ल्याएको छ। स्थानिय तह नीजि क्षेत्रको सहकार्यमा प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको विकास ब्राण्डीङ र बजारीकरण गर्ने नीति  तथा कार्यक्रममा उल्लेख छ। यस्तै प्रदेश सरकारले पहिलोपटक प्रदेशका मन्त्रालयहरू तथा मातहतका कार्यालयहरूका लागि स्थायी संरचना निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।  

प्रकाशित: ३१ जेष्ठ २०७९ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App