१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

प्राधिकरणको कडाइले पोखरा–जोमसोम उडान रोकियो

पोखरा–जोमसोम उडानको क्रममा दुई साता अघि तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा पर्‍यो। दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु भयो। ताराको यो दुर्घटनापछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा भएको निश्चित नभएसम्म आन्तरिक उडानका लागि अनुमति नदिने भनेर निर्णय गर्‍यो।  

प्राधिकरणको त्यही निर्णयपछि अहिले पोखरा–जोमसोम रुटका सबै हवाई उडान रोकिएका छन्। दुर्घटना अघि निजी क्षेत्रका तारा र समिट एयरले मात्र यो रुटमा हवाई उडान गर्दै आएका थिए। तर, ताराको जहाज दुर्घटनाको कारण मौसम खराबी हुन सक्ने आँकलन गर्दै ‘इनरुट’(विमान उड्ने र अवतरण हुने विमानस्थल) को मौसम सफा हुनुपर्ने, अन्यथा उडान अनुमति नदिने भन्ने प्राधिकरणले निर्णय गरेको थियो।  

ताराको यो जहाज दुर्घटनाको कारण मौसम खराबी हुनसक्ने प्रारम्भिक आँकलन प्राधिकरणको थियो। त्यसपछि हवाई उडानमा मौसमी समस्या भन्दै ‘इनरुट’ को मौसम सफा हुनुपर्ने भन्दै प्राधिकरणले कडाई गरेको थियो। प्राधिकरणको त्यही कडाईपछि अहिले पोखरा–जोमसोमका सबै उडान रोकिएको हवाई कम्पनिले बताएका छन्।  

एक निजी कम्पनिका पोखरास्थित स्टेशन म्यानेजरले ‘इनरुट’ मौसमबारे जानकारी पाउने अवस्था नभएपछि पोखरा–जोमसोमका सबै उडान रोकेको बताए। जेठ मध्यको दुर्घटनाअघि ताराले दिनमा पाँचवटा र समिट एयरलाइन्सले दुईवटा जहाजमार्फत दिनमा १० वटासम्म उडान भर्दै आएका थिए। ‘यो बेला भारतीय पर्यटक पनि आउने सिजन हो। सिजन अनुसार आगमन पनि उच्च छ, तर, जहाज उड्न पाएका छैनन्,’ निजी कम्पनिका ती म्यानेजरले भने, ‘स्थलमार्ग पनि सहज छैन। हवाई मार्ग मौसमी कारणले रोकिएको छ।’ उनका अनुसार उडानको तयारी हवाई कम्पनि गरेपनि इनरुट मौसम थाहा नपाउँदा उडान सम्भव भएका छैनन्।

वर्षायामको यो समयमा पोखरा–जोमसोम रुटको मौसम सधैंको पिरलो हुने गरेको थियो। अधिकांश दिनको उडान मौसमी कारणले रोकिँदै आएका थिए। तर, अहिले भने प्राधिकरणको निर्देशनपछि उडान रोकिएको ती म्यानेजरले बताए। ‘जुन–जुलाईका अधिकांश दिन पोखरा–जोमसोम रुटमा समस्या आउने गर्दथ्यो। तर अहिले भने प्राधिकरणले नै रोक्यो, त्यसले गर्दा पर्यटनमा नराम्रो असर पारेको छ,’ उनले भने, ‘अहिले त मौसम सफा हुँदाका दिन पनि उडान हुन पाएको छैन। किनकी इनरुट मौसमबारे कतै जानकारी हुँदैन। पोखरा र जोमसोमको मौसम राम्रो भएर मात्र उडान अनुमति पाइन्न।’ उनका अनुसार ताराको दुर्घटनापछि समिटले जुन ४ तारिखमा पाँचवटा उडान गरेको थियो। त्यसपछि पोखरा–जोमसोमका सबै उडान रोकिएका छन्।  

‘यसअघि जहाज उड्ने र अवतरण हुने विमानस्थलको मौसम ठिक भएको खण्डमा उडान हुन्थे। उडानको क्रममा बीचमा समस्या भएमा जहाज उडेकै विमानस्थलमा फर्किन्थे,’ उनले भने, ‘तर, अहिले भने उड्नै पाएनन। उड्ने र अवतरण हुने विमानस्थलको मौसम ठिक भएपनि बीचको मौसमबारे थाहै हुँदैन। हवाईरुटको त्यो मौसम विवरण थाहा पाउने प्रविधि र अवस्था पनि हामिसँग छैन।’  

दुईवटा विमानस्थलको मौसम ठिक भएको अवस्थामा यसअघि उडान भएपनि बीचको अवस्था थाहा पाउने अवस्था अझै नभएको उनले बताए। ‘यो समस्या पोखरा–जोमसोम रुटमा मात्र नभई अधिकांश ग्रामिण भेगका विमानस्थलसम्म छ,’ उनले भने। विना पूर्वाधार नियम लगाउँदा हवाई र पर्यटन क्षेत्रमा मार परेको उनले बताए। उनका अनुसार मौसम ठिक भएको यकिन गरेर उडेका जहाजलाई केही गरि बीचमा मौसमी समस्या निम्तिएमा बीचबाटै फर्किने गरेकोमा अब भने उड्नै नपाएको उनले बताए।

प्राधिकरणका उपमहानिर्देशक देउचन्द्रलाल कर्णले इनरुट मौसम क्लियर नभएसम्म उडान गर्न नमिल्ने बताए। उनका अनुसार आँखाले हेरेर (भिएफआर) गरिने उडानमा उडान हुने र अवतरण गर्ने दुवै विमानस्थलको मौसम सफा हुनुपर्छ। त्यसबाहेक दुवै विमानस्थलको भिजिविलिटी कम्तिमा पाँचकिलोमिटर हुनुपर्ने र ककपिटमा बसेका क्याप्टेनले आठकिलोमिटर परसम्मको दूरी देख्नुपर्ने नियम रहेको बताए। ‘प्राधिकरणले लगाएको यो नियम पुरानै हो। यत्ति हो की जहाज बादलभित्र पस्नु हुँदैन,’ उनले भने, ‘यही पुरानो नियमलाई पालना गर्न भनेका हौ। अहिले कडाई मात्र गरिएको हो।’

उनका अनुसार यसअघि जहाज कमाण्ड गरेका पाइलटले मात्र मौसमबारे निर्णय गर्दै आएका थिए। केही गरि बीचमा समस्या देखिएमा जहाज नै फर्काउने पनि गरिएको थियो। तर, अब भने पाइलटलाई मात्र नभई विमानस्थललाई पनि जिम्मेवार बनाउन खोजिएको उनले बताए। ‘उडान गर्ने विमानस्थलले इनरुट मौसम सफा छ भन्ने यकिन गरेर मात्र जहाजलाई पठाउने र अवतरण गराउने विमानस्थलले पनि बीचमा समस्या नभएमा बोलाउने भनिएको हो,’ उनले भने, ‘पाइलटसँगै विमानस्थललाई पनि जिम्मेवार बनाउने हो।’

उनका अनुसार विमानस्थललाई इनरुट मौसमबारे जानकारी दिने निकायको रुपमा जल तथा मौसम विज्ञान विभागलाई तोकिएको छ। त्यही विभागले विमानस्थललाई मौसमी जानकारी दिने र त्यही आधारमा विमानस्थलले उडान अनुमति दिने निर्णय भएको कर्णले बताए। कतिपय हवाई रुटमा इनरुट मौसमबारे जानकारी लिने प्रविधि नभएपनि विभागले त्यही अनुसार सूचना लिएर विमानस्थललाइ दिलाउने उनले बताए।

प्रकाशित: २९ जेष्ठ २०७९ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App