२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ किन पोखरा छाड्न चाहँदैन?

व्यवसायी भन्छन्ः अप्ठेरो पर्दा पर्यटन जोगाउने आधार नै प्याराग्लाइडिङ हो

पोखराको आकाशमा उडिरहेको प्याराग्लाइडिङ। फाइल तस्बिरः उमेश पुन/नागरिक

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक रुपमा तयार भएको छ। केही बाहिरी काम थाती रहँदा विमानस्थलबाट हुने उडान र अवतरणको दिन यकिन हुन सकेको छैन। तर, हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले आगामि जनवरी एकभित्रै पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानलाई भने अन्यत्रै सर्न भनिसकेको छ। किनकी जनवरी एकदेखि विमानस्थल संचालन गर्ने लक्ष्य प्राधिकरणको छ। विमानस्थलबाट हुने हवाईजहाज र सराङकोटबाट हुने प्याराग्लाइडिङ उडान एकैपटक र एउटै आकाशमा सम्भव नहुने प्राधिकरणले बताईसकेको छ।  

तर, पर्यटन व्यवसायी भने यो कुरा मान्न तयार छैनन्। प्याराग्लाइडिङ व्यवसायी सकेसम्म पोखराको आकाशबाट बाहिर जान तयार छैनन। कसैगरि पोखराकै आकाशमा उडान गर्न पाए हुन्थ्यो भन्ने व्यवसायीको चाहना छ। तर, प्राधिकरणले भने विमानस्थल र प्याराग्लाइडिङ उडान एकैपटक संचालन सम्भव नहुने भएकोले प्याराग्लाइडिङलाई अन्यत्र सर्न भनिसकेको छ। विमानस्थल र प्याराग्लाइडिङमध्ये एउटा रोज्नुपर्ने प्राधिकरणले बताउँदै आएको छ।

अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गराइन्छ। सराङकोट आडैको तोरीपानी र मान्द्रेढुंगा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो। मान्द्रेढुंगा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्ने हुन्। व्यवसायीले पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भईरहेको प्याराग्लाइडिङ उडान केही गरि अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आएका छन्। पर्यटन क्षेत्रका लागि विमानस्थल आवश्यक हुँदाहुँदै पनि प्याराग्लाइडिङ उडानलाई पोखरामै राख्नुपर्ने उनीहरुको तर्क छ। पोखराबाट प्याराग्लाइडिङ बिस्थापित भए त्यसले राज्यको आम्दानी, व्यवसायीको लगानी, रोजगारीमा धक्का पुग्ने व्यवसायीको भनाई छ।

आखिर पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान पोखराबाट बाहिरिनुपर्दाको अप्ठेरो के हो ? व्यवसायी भन्छन, ‘अप्ठेरो आईपर्दा पर्यटन क्षेत्र जोगाउने एउटा बलियो माध्यम प्याराग्लाइडिङ पनि हो। त्यसैले यसलाई पोखराबाट बिस्थापित गर्नु हुँदैन। बरु, व्यवस्थित गर्नुपर्छ। पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो। सन् २००० देखि कम्पनि खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायिले उडान थालेका थिए। पोखराको प्याराग्लाइडिङ सुरुवात गर्दाका पाइलट राजेश बमजन भन्छन, ‘प्याराग्लाइडिङ पोखराको मात्र नभई समग्र पर्यटन क्षेत्रको मेरुदण्ड हो। प्याराग्लाइडिङ बचाउन नसक्ने हो भने त्यसले पोखरालाई मात्र नभइ पर्यटनलाई पनि मार पार्नेछ। पोखराको पर्यटन पनि बच्नेछैन।’

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई ब्यूताउँन प्याराग्लाइडिङले निकै नै सघाएको उनले बताए। ‘लेकसाइडको पर्यटन जोगाउन प्याराग्लाइडिङको भूमिका छ। अप्ठेरो अवस्थामा प्याराग्लाइडिङले पाहुना तानेर पोखराको पर्यटन क्षेत्रलाई गुन लगाएको छ,’ बमजनले भने, ‘प्याराग्लाइडिङको कारणले पोखराले मात्र नभई समग्र मुलुकको अर्थतन्त्रले लाभ पाएको छ। त्यसैले बिस्थापित नभई व्यवस्थित गर्नुको विकल्प छैन।’  

बमजनका अनुसार चिनियाँ पर्यटकको पोखरामा ओइरो लाग्नुको पछाडिको कारण नै प्याराग्लाइडिङ थियो। पोखरा भित्रिएका करिब ९० प्रतिशत चिनियाँ पर्यटक प्याराग्लाइडिङ गर्ने व्यवसायीले बताउँदै आएका छन्। कोरोनापछि चिनियाँको आगमन कम भएपनि कोरोना अघिको आगमन राम्रो हुँदा चिनियाँको बढी आकर्षण प्याराग्लाइडिङमा थियो।  

त्यस्तै लामो समय बस्ने पर्यटक पनि प्याराग्लाइडिङकै हुन्छन्। एकल (सोलो) उडान गर्ने विदेशी पाइलट पोखराको आकाशमा प्याराग्लाइडिङ उड्नकै लागि भनेर दुइसातादेखि दुइ महिनासम्म बस्ने गरेको बमजनको भनाई छ। ‘ती सोलो पाइलट उड्नकै लागि भनेर पोखरा आउँछन्। केही गरि पोखराबाट प्याराग्लाइडिङ हटेमा ती पर्यटक आउने छैनन,’ उनले भने, ‘पर्यटक आउन नपाउँदाको नोक्सान पर्यटनमै पर्ने हो, त्यसको मार राज्यलाई पनि पर्छ।’

विमानस्थल पनि चल्ने र र प्याराग्लाइडिङ पनि बच्ने किसिमले काम गर्ने हो भने यो प्रडक्ट जोगिन सक्ने उनको भनाई छ। ‘पोखराको आकाशबाट प्याराग्लाइडिङ बाहिरिएर नयाँ ठाउँमा जाँदा त्यसठाउँको प्रवद्र्धन हुनु स्वभाविक हो, तर, पर्यटकले सेवा सुविधा नपाउँदा यो व्यवसाय झनै धरापमा पर्छ,’ उनले भने, ‘पोखरामा होटल, रेस्टुरेन्टको सुविधा, पहुँच, अनुकुल मौसम नयाँ ठाउँमा नपाउन सकिन्छ। त्यसले प्याराग्लाइडिङ उडानमा मार पर्छ।  नयाँ ठाउँमा पर्यटकको लामो बसाई पक्कै हुँदैन। महिनौ दिन बस्नलायक पूर्वाधार नयाँ ठाउँमा नहुन सक्छन। सुविधायुक्त बसोबास नभए पर्यटक हच्किन सक्छन।’

प्याराग्लाइडिङ उडानका लामो अनुभवि पाइलट बमजनले मौसमको हिसाबले पनि सराङकोट वर्षभरिका लागि उड्नयोग्य हुने बताउँछन्। पोखरामा जत्तिको यो सहजता अन्यत्र कतै छैन। फेवाताल, बाटो, दृष्यावलोकनले पनि सराङकोट उपयुक्त भएको उनले बताए। उनका अनुसार फेवातालका कारण प्याराग्लाइडिङ उडानको लागि आवश्यक वातावरणीय अवस्था सराङकोटमा बन्ने गरेको छ। जबकी सराङकोट नजिकैको तोरीपानी र मान्द्रेढुंगामा त्यो अवस्था रहन्न।  

‘बाहै्र महिना उडानमा मौसम तयार पार्न फेवातालको भूमिका हुन्छ। तोरीपानीमा अप्ठेरो हुँदा पनि सराङकोट सहज हुन्छ,’ उनले भने। उनले पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङलाई बिस्थापित भन्दा पनि व्यवस्थित गरेर लैजान सकेमा राज्यले लाभ पाउने अन्यत्र, नोक्सान हुने उनले बताए। ‘प्याराग्लाइडिङ पोखरेली व्यवसायीको मात्र नभई यसलाई जोगाउने जिम्मा राज्यको पनि हो,’ उनले भने।  

प्याराग्लाइङि व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी पोखराको प्याराग्लाइडिङ संसारकै उत्कृष्ट पाँचवटा गन्तव्य मध्ये तेश्रोमा पर्ने बताउँछन। नेपालको पर्यटन प्रवद्र्धनमा प्याराग्लाइडिङले निकै नै सघाएको र यूरोप, चिनियाँ, भारतीय र बंगलादेशको पर्यटकको रोजाई समेत बढाउन सफल भएको अध्यक्ष भण्डारी बताउँछन्। ‘पोखरालाई साहसिक पर्यटकीय गन्तव्य बनाउने पहिलो आधार प्याराग्लाइडिङ हो। त्यसैले यसलाई पोखराकै आकाशमा जोगाउन सक्नुपर्छ भन्ने हाम्रो माग हो,’ अध्यक्ष भण्डारीले भने।  

उनका अनुसार पोखराको नयाँ विमानस्थलको दिगोपनका लागि पनि यहाँको प्याराग्लाइडिङ जोगाउन आवश्यक छ। ‘विभिन्न ठाउँबाट पाहुना आएमा विमानस्थल चल्ने हो। प्याराग्लाइडिङले पर्यटक तान्छ, उनै पाहुना हवाईजहाज चढेर पोखरा आउने हुन,’ उनले भने, ‘हवाईजहाज र प्याराग्लाइडिङबीच नै सम्बन्ध छ। त्यसैले पोखरामै प्याराग्लाइडिङ आवश्यक हो।’  

प्याराग्लाइडिङ उडान हुने सराङकोटको आकाश व्यवसायीले भन्दा पर्यटक र सम्भाव्यताले रोजेको ठाउँ रहेको उनी बताउँछन। ‘बाह्ैमहिना प्याराग्लाइडिङ उड्नयोग्य ठाउँ सराङकोट हो। नेपालका धेरै डाँडाकाँडाबाट प्याराग्लाइडिङ उडाउन सकिन्छ। हामीले अन्यत्र जाँदा त्यहाँ पनि प्याराग्लाइडिङ उड्छ भनेर मात्र हुँदैन,’ उनले भने, ‘बाहै्रमहिना उडान सम्भव बनाउन यहाँको तालले सघाएको छ। राज्यको लगानी नहुँदा पनि हामीले उडान गरेका हौ।’ उनका अनुसार वर्षमा कम्तिमा एकलाख ५० हजार पर्यटकले पोखराको आकाशमा प्याराग्लाइडिङ उड्छन।  

अध्यक्ष भण्डारीका अनुसार सराङकोटको चुचुरो १६ सय मिटर उचाइको छ। तर, प्याराग्लाइडिङ उडान १४ सय मिटरबाट हुन्छ। त्यस्तै तोरीपानीको उचाई १७ सय मिटर रहेकोले त्यो भित्र समेटिनेगरि उडान गर्न सकिने अवस्था रहनसक्छ। ‘तोकिएको क्षेत्र र उचाईभित्र रहेर उडान गर्छाै भनेका छौ,’ उनले भने, ‘त्यसका लागि अध्ययन गर्न सकिने हाम्रो भनाई छ।’ उनका अनुसार प्याराग्लाइडिङका ६० कम्पनि पोखरामा छन्। ती कम्पनिमा सबैगरि करिब दुइअर्ब रुपैयाँ लगानी छ।  

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि हेरेर प्याराग्लाइडिङ जोगाउन सकिने आधार रहेको बताए। ‘वर्षमा करिब डेढलाख पर्यटक प्याराग्लाइडिङ उड्छन। ती सबै पोखरा बाहिरबाट भित्रिने हुन, अधिकांश जहाज चढेरै भित्रिने हुन,’ उनले भने, ‘केहीगरि यो प्रडक्ट पोखराबाट बाहिरिँदा ती पर्यटक पोखरा नआउन सक्छन। त्यसको मार मार व्यवसायीलाई मात्र नभई राज्यलाई पनि पर्नेछ।’ प्याराग्लाइडिङ भन्दा विमानस्थल नै आवश्यक भएपनि विमानस्थल चलाउने र प्याराग्लाइडिङलाई व्यवस्थापन गर्नुपर्ने उनले बताए।  

‘प्याराग्लाइडिङ उडानका लागि आकाशमा ‘सानो बक्स’ निर्माण गरेर साँघुरो आकाशमा उड्न दिन सकिन्छ। प्याराग्लाइडिङ हटेमा पर्यटक नै नआउन सक्छन्। भूकम्प र कोरोनापछि पोखराको पर्यटन जोगाउने आधार बनेको प्याराग्लाइडिङ जोगाउनुको विकल्प छैन,’ उनले भने, ‘समय  र एयरबक्स तोकेर उडान गर्न तयार छौ। हामी सानो आकार र आकाशमा उड्न तयार छौ। केहीवर्षका लागि नियन्त्रित जोनमा रहेर उड्न सकिन्छ। राज्यले व्यवस्थापन गरे पुग्छ।’  

प्रकाशित: २६ जेष्ठ २०७९ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App