२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भारतीय र बंगलादेशी पर्यटक बढे

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी भारतीय र बंगलादेशी पर्यटकको आगमनमा सुधार भएको छ। कोरोना संक्रमणअघिभन्दा बढी संख्यामा ती मुलुकबाट पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ।

यी मुलुकका पर्यटक आगमनले पर्यटनमा व्यापक सुधार देखिएको बोर्डको भनाइ छ। पर्यटन बोर्डका अनुसार गत मेमा नेपालमा विभिन्न मुलुकबाट ५३ हजार ६ सय ८ विदेशी पर्यटक भित्रिएका छन्। हवाईमार्गबाट यी पर्यटक आएका हुन्। सन् २०१९ को मेमा यो संख्या ७२ हजार १ सय ५६ थियो। 

२०१९ को मेको तुलनामा यो वर्षको मे महिनामा नेपालमा पर्यटक आगमनमा झन्डै ७५ प्रतिशतले सुधार भएको बोर्डका निर्देशक मणिराज लामिछानेले जनाए। कोरोना संक्रमणको असरले गर्दा सन् २०२१ को मेमा पर्यटक आगमन संख्या १४ सय ६८ थियो। यो संख्या २०२० को मेमा ३१ थियो। यो वर्षको गत अप्रिलमा ५८ हजार ३ सय ४८ विदेशी पर्यटक भित्रिए।

नेपालमा निर्वाचन भएको र पर्यटकीय सिजन सकिने बेला भएकाले गत अप्रिलको तुलनामा मेमा केही कम संख्यामा पर्यटक आएको बोर्डको भनाइ छ। ‘पर्यटक आगमनमा सुधार देखिएको छ। कतिपय मुलुकबाट आउने पर्यटक संख्याले २०१९ को आगमनलाई समेत उछिनेको छ,’ लामिछानेले भने, ‘अमेरिकी, भारतीय र बंगलादेशी पर्यटक आगमन २०१९ को मेमाभन्दा अहिले बढी छ। यो सुधारको संकेत हो।’

कोरोनाले गर्दा अप्ठेरोमा परेको पर्यटन क्षेत्रमा यसले निकै राहत र सुधार भएको देखाउँछ। २०२० र २०२१ को आगमन संख्या निकै कम रहेकाले त्यसलाई तुलना नै नगरी कोरोनाअघिको आगमन संख्यालाई विश्लेषण गर्दा अहिले सुधार देखिएको लामिछानेले बताए। भारतीय, बंगलादेशी र अमेरिकी मात्र नभई युरोपेली मुलुकका पर्यटकको आगमन २०१९ को तुलनामा ६० प्रतिशतले सुधार भएको लामिछानेले बताए।

बोर्डका अनुसार यो वर्षको मेमा सबैभन्दा बढी भारतीय पर्यटक हवाई मार्गबाट भित्रिएका छन्। २६ हजार ६ सय ६२ जना भारतीय गत मेमा नेपाल आएका छन्। कोरोना संक्रमण नहुँदाको अवस्थामा २०१९ को मेमा २४ हजार ७ सय ४८ भारतीय पर्यटक आएका थिए। २०१९ को मेको तुलनामा यो वर्षको मेमा झन्डै ८ प्रतिशत बढी भारतीय पर्यटक नेपाल आएका छन्।

बंगलादेशी पर्यटक आगमनले भने निकै फड्को मारेको तथ्यांकले देखाएको छ। २०१९ को मेमा बंगलादेशबाट ९ सय ३२ पर्यटक आएकोमा यो वर्षको मेमा ३२ सय ६८ जना भित्रिएका छन्। २०१९ को मे महिनाको तुलनामा यो वर्षको मेमा बंगलादेशी पर्यटक आगमन २५० प्रतिशतले बढी छ। सार्क सदस्य मुलुकबाट गत मेमा नेपालमा ३० हजार ५ सय ५६ पर्यटक आएका छन्।

यो संख्या २०१९ को मेमा २८ हजार ८ सय ६९ थियो। २०१९ को तुलनामा २०२२ को मेमा सार्क मुलुकबाट पर्यटक आगमन झन्डै ६ प्रतिशतले सुधार भएको छ। अमेरिकी पर्यटकको आगमनमा पनि २०१९ को मे महिनाको तुलनामा २०२२ को मेमा हल्का सुधार भएको छ। २०१९ को मेमा नेपालमा ७ हजार २ सय ६६ अमेरिकी पर्यटक भित्रिएका थिए।

यो वर्षको मेमा यो संख्या ७ हजार २ सय ७४ रहेको बोर्डको तथ्यांक छ। २०१९ को मे महिनाको तुलनामा यो वषको मेमा ८ अमेरिकी पर्यटक बढी आएका छन्। त्यस्तै २०१९ को मेमा अस्ट्रेलियाबाट १९ सय ५३ पर्यटक आएका थिए। तर यो वर्षको मे महिनामा १६ सय ६ जना आएका छन्।

२०१९ को मेमा बेलायतबाट ३२ सय ३० पर्यटक आएकोमा यो वर्षको मेमा यो संख्या २४ सय ५१ रहेको बोर्डको तथ्यांक छ। २०१९ को मेमा १० हजार ३ सय २० चिनिया पर्यटक आएकोमा यो वर्षको मेमा ३ सय ८८ जना मात्र भित्रिएका छन्। चिनिया पर्यटक बढ्न अझै केही समय लाग्ने देखिएको छ।  

प्रकाशित: २२ जेष्ठ २०७९ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App