‘गत वर्ष लप्सी राम्ररी उत्पादन हुन नसकेकाले पर्याप्त लप्सी पाउन अलि मुस्किल पर्यो। खै, बेमौसम असिना पानी, कोराना भाइरसको असर या सुन फल्ने आफ्नो खेतबारी बाँझो छाडी दिन परदिन दक्ष युवा जनशक्ति विदेश पलायन हुनुजस्ता कारणले हो कि!’ काठमाडौँको मच्छिन्द्र बहालमा जन्मेका युवा उद्यमी विजय श्रेष्ठले केही चिन्तित र निराश हुँदै भनेको भनाइ हो यो।
उनको मावलीले लगभग साठी वर्ष अघिदेखि काठमाडौँमा तितौरा, पाउँ घरमा नै बनाएर बेच्न थालेको बताउँदै आफ्नो बाल्यकालदेखि नै बढी समय मावलीमा बितेकाले आफूले पनि यो कला मावलीबाट सिकेको कुरा अत्यन्त उत्साहित हुँदै बताउँदा उनका आँखा चम्किरहेका थिए। यसरी मावलीबाट सिकेको सीपले उनले परिवारसँग मिली विं संं. २०३८ सालतिर आफ्नै स्थानीयस्तरमा उपलब्ध हुने लप्सी, अमला, कागती, निबुवा, इमलीबाट गुणस्तरीय ढंगले आफ्नै घरमा तितौरा, पाउँ, अचार बनाएर काठमाडौँको रत्नर्पाकबाट यसको व्यवसाय थालनी गरेका थिए। आजको समयसम्म आइपुग्दा उनको यो व्यवसाय पाउँ र अचारको सफल उद्योगमा नै परिणत हुन पुगेको छ।
आत्मविश्वासले भरिपूर्ण एवम् लगनशील विजय श्रेष्ठ आफ्नै गाउँठाउँमा केही गर्नु पर्छ भन्ने सोचका युवा हुन्। आफूले जुन स्थानमा बसेर व्यवसाय गरेका छन्, सो स्थानको नाम र उनले बनाएको तितौरा, पाउँ देशविदेशसम्म अनि केटाकेटीदेखि बुढाबुढीसम्म लाकप्रिय भएको छ। आज लोकप्रिय भएको उनको उत्पादन काठमाडौँमा मात्र सीमित नभएर देशविदेशसम्म निर्यात हुने ब्रान्ड बनेको छ। स्थानीय रूपमा उत्पादित वस्तुहरूलाई प्रयोग गरेर सफल बनेका उद्यमी हुन् रत्नपार्क पाउँ भण्डारका सञ्चालक विजय श्रेष्ठ। लप्सीको उदाहरण दिँदै श्रेष्ठ भन्छन्, ‘अब हाम्रो आफ्नै देशमा उत्पादन हुने लप्सीलाई नै लिन सकिन्छ। भिटामिन सी प्रचुर मात्रामा पाइने लप्सी स्वास्थ्यबर्द्धक हुनुका साथै बहुउपयोगी छ। लप्सीबाट तितौरा, पाउँ, अचार मात्र होइन, यसको बियाँ आगो बाल्नसमेत प्रयोग हुन्छ। म आफै लप्सीको बियाँलाई आगो बाल्न प्रयोग गर्छु। लप्सी, अमला, निबुवा, कागतीलाई व्यावसायिक खेती गरी आयआर्जनको राम्रो माध्यम बनाउन सकिन्छ।
आत्मविश्वासले भरिपूर्ण एवम् लगनशील विजय श्रेष्ठ आफ्नै गाउँठाउँमा केही गर्नु पर्छ भन्ने सोचका युवा हुन्। आज लोकप्रिय भएको उनको उत्पादन काठमाडौँमा मात्र सीमित नभएर देशविदेशसम्म निर्यात हुने ब्रान्ड बनेको छ।
उद्यमी विजय श्रेष्ठको लप्सीसम्बन्धी यो भनाइमा थप गदै सिन्धुपाल्चोक, इर्खुका वर्षौदेखि व्यावसायिक लप्सी खेती गर्ने कृषक कृष्णबहादुर तामाङ भन्छन्, ‘अरूमा भन्दा कम मेहेनत गरे पुग्ने, थोरै लगानीले पनि राम्रो आम्दानी गर्न सकिने लप्सीको बिरुवा जेठमा रोपिन्छ। असार साउनमा राम्रो पानी पर्ने मौसम हुने भएकाले यो छिटै सर्छ। अझ लप्सीको लोकल बिरुवा त झन् राम्रो सर्छ। बोट पनि मर्दैन भने बढी असिना पानी पर्यो भने बोट अलि बिगार्न सक्छ। सामान्यतया बिरुवा रोपेको तीन वर्षपछि लप्सीको रुखबाट लगातार पाँच/छ वर्षसम्म लप्सी टिप्न सकिन्छ। अरू खेतीमा झैँ गोडमेल गर्न, मल हालिरहन पर्दैन। अहिले नेपाल सरकारको कृषि फार्मले उपलब्ध गराएको बोटमा कीरासमेत लाग्दैन। बोट रोपेको दुई वर्षमा लप्सी राम्रोसँग फल्छ। काँचोमा हरियो हुने लप्सी पाकेपछि पहेलो रङको हुने गर्दछ। गर्मी ठाउँ लप्सीका लागि उपयुक्त स्थान हो। त्यसैले बेँसीतिर छिटै फल्छ भने पनौती, मेलम्ची, स्याउले यहाँभन्दा अलि बढी चिसो हुने भएकाले लप्सी अलि पछि पाक्छ। पहिलेपहिले म लप्सी प्रतिकेजी ४ रूपैयाँमा बेच्ने गर्थेँ तर जबदेखि लप्सी तितौरा, पाउँ बनाउन प्रयोग हुन थाल्यो, त्यसपछि लप्सी खेती पनि व्यावसायिक खेतीमा परिणत भएको छ। तितौरा, पाउँ, अचार बनाउनका लागि ठूलो मात्रामा लप्सी किन्न व्यवसायीहरू आउने गर्छन्। यो वर्ष हामीले प्रतिकेजी ५५ रूपैयाँसम्ममा बेच्याैँ। लप्सीको बियाँ इँटा बनाउने इटाभटाले किन्ने भएकाले लप्सीको बियाँ पनि बिक्री हुने गर्दछ। यहाँका लप्सी, अमलाहरू पनौती, साँगा, काठमाडौँमा तितौरा, अचार बनाउने व्यवसायीहरूसम्म पुग्ने गर्छ।'
सुरुवातमा आफैले तितौरा, पाउँ, अचार बनाएर सानो स्तरबाट व्यवसाय सुरु गरेका उनको त्यो पाउँ व्यवसाय आज उद्योगमा परिणत भएको छ। लगभग सबै उमेरसमूहमा अत्यन्त लोकप्रिय हुनपुगेको छ। आफ्नो सफलताको खासै चर्चा गर्न नरुचाउने युवा उद्यमी श्रेष्ठ आफ्ना सफलताका कथाहरूभन्दा पनि आफूले गरेका अनगिन्ती प्रयासका कुरा गर्छन्। आफ्ना प्रयासहरू केही पूर्ण सफल भएका त केही आंशिक सफल मात्र भएको कुरा उनी बताउँछन्। विशेष रूपमा स्थानीय खेतबारीमा फल्ने फलफूलहरूको प्रयोग गर्न रुचाउने श्रेष्ठ ती फलहरूबाट नयाँनयाँ उत्पादनहरू बनाउन प्रयासरत रहन्छन्। हालसालै उनले नासपाती तथा लिच्चीबाट जुस, वाइनलगायतकाे उत्पादन गरेका र ती उत्पादनलाई स्वदेशी मात्र होइन, विदेशी पाहुनाहरूले पनि अति मन पराएको कुरा उत्साहित हुँदै बताउँछन्। उनी जति सफल भए पनि उनको साधारण शैली, केही गर्ने जोस अनि लगनशीलतामा कत्ति पनि कमी आएको छैन, दिन प्रतिदिन झन् थप जोसजाँगर थपिएको छ।
हामी मिहिनेती, इमान्दार, स्वाभलम्बी मानिसका रूपमा विश्वमा नै आफ्नो पहिचान बनाएका नेपाली हौँ। हामी आफ्नै पौरखी हात अनि आफ्नो देशको माटोमा फल्ने स्थानीय कच्चापदार्थहरूको सही प्रयोग गर्न सक्याैँ भने मात्र पनि आत्मनिर्भर बन्ने छौँ। जसलाई उनले आफै प्रमाणित गरेर देखाएका छन्। काठमाडौँबाट १४ किमीमा पुगिने उजाड बाँझो जमिनलाई एक सुन्दर मोतीझैँ चम्कने बगैँचामा परिणत गरेर त्यसलाई ‘छैमले रिसोट द पर्ल गार्डेन’ को नाम दिएका छन्।
अत्याधुनिक सुविधासम्पन उक्त रिसोटभित्र प्रवेश गरेपछि नेपाली कलासंस्कृतिका प्रेमी उनको यो संस्कृतिप्रेम रिसोर्टको बनावटमा सबैतिर झल्किन्छ। आधुनिक र नेपाली परम्परात शैलीलाई आत्मसात गरी निमार्ण गरिएको रिसोटभित्रका बगैँचासहितका अत्यन्त मनमोहक काठमाडौँ उपत्यकामा बिस्तारै लोप हुँदै गइरहेको मौलिक नेपाली शैलीका ससाना घरहरू देख्दा जो कोहीलाई पनि रोमाञ्चक गराउँछ भने रिसोटले स्वदेशी विदेशी आगन्तुकहरूलाई ध्यानमा राख्दै अत्याधुनिक शैली पनि पछ्याएको छ।
सङ्गीत पारखीका लागि प्रत्येक शुक्रबार साङगीतिक कार्यक्रमका लागि परम्परागत नेवारी शैलीमा ‘नास डबली’ को निमार्ण गरेका छन्, जसलाई चारैतिर हरिया रुख, सुन्दर रमाइलो फुटसल, फलफूल बगैँचा, चौकोसमाई देवीस्थानसम्म दुईतीन घण्टाको ट्रेकिङले त्यहाँ पुग्ने जोकसैलाई पनि रोमाञ्चित बनाउँछ।
प्रकाशित: २४ वैशाख २०७९ ०१:३० शनिबार