४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चौतारामा सात करोडको बुद्धस्तुपा पार्क

जिल्ला सदरमुकाम रहेको सिन्धुपाल्चोकको चौतारामा सात करोड रूपैयाँ खर्चेर भ्युटावर सहितको बुद्धस्तुपा पार्क निर्माण गरिएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाले वडा नं. ६ स्थित ट्यांकी डाँडामा यो पार्क बनाएको हो।

सात करोड छ लाख रूपैयाँ खर्च भएको यो पार्कलाई नगरपालिकाले आफ्नो गौरवको योजना मानेको छ। स्तुपा, बुद्धमूर्ति, भ्युटावर, घेराबारासहितको पार्क आकर्षक छ। दुबोको घाँसे मैदान र फूलको सजावटले पार्क चिटिक्क पारिएको छ।

नगर प्रमुख अमानसिं तामाङले गौरवको आयोजनाको रूपमा आन्तरिक स्रोतबाटै पार्क निर्माण गरिएको बताए। ‘संघीयतासँगै स्थानीय तह कार्यान्वयनमा आाएपछि सदरमुकाम ओझेल पर्‍यो। पुरानो चहलपहल र दिनचर्या फर्काउन महत्वाकांक्षी बुद्धस्तुपा पार्क बनाएका हौं’, उनले भने।

ठेक्का प्रक्रियाद्वारा गएको वैशाखबाट पार्क निर्माण थाालिएको थियो। ठेकेदार कम्पनीले तोकिएको समयभन्दा एक महिना अगावै पार्क निर्माण सम्पन्न गरेको हो। मुख्य संरचना स्तुपा, मूर्ति, घेराबारा, प्रवेशद्वारको काम सम्पन्न भए पनि पार्क सजावटको केही कार्य बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ।

सदरमुकाम चौतारा नजिकै झण्डै एक हजार सात सय मिटरको उचाइमा बनेको पार्क एक हजार आठ सय ६ वर्ग मिटरमा फैलिएको छ। नगरपालिकाका अनुसार बुद्ध स्तुपा मात्र दुई सय नौ वर्गमिटरमा बनेको छ। स्तुपाको उचाइ ६८ फिट रहेको छ भने बुद्धमूर्ति मात्रै २९ फिट अग्लो छ। स्तुपाको मध्यभागलाई भ्युटावर बनाइएको छ।

यहाँबाट जुगल हिमशृङ्खला, सदरमुकाम चौतारा, आसपासका ग्रामीण बस्ती र आकाश खुलेका वेला काभ्रे र नगरकोटको समेतका भू–भाग देख्न सकिन्छ। स्तुपा अन्तर्गत तीनवटा आकर्षक प्रवेशद्वार बनाइएका छन्। दुईटा द्वार पार्कमा छन् भने मुख्य प्रवेशद्वार टेलिकम चोकमा बनेको छ। यो द्वारदेखि हजार सिँँढी निर्माणको काम भइरहेको छ।

नगरकै अर्को गौरवको आयोजना मानिएको यो आयोजनाको लागत दुई करोड ४० लाख रूपैयाँ रहेको छ। यसअन्तर्गत हजार सिँढी हुनेछन् जसले पार्क जोड्ने छ। पर्यटनलाई पहिचान र उत्पादनसँग जोड्न नगरले गौरबका यी दुई आयोजनाको अवधारण अघि सारेको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्र पौडेलले बताए।

बुद्धस्तुपा पार्क नजिकै चर्चित ऐतिहासिक गौराति भीमेश्वरको मन्दिर छ। यहाँ हरेक शनिबार पूजाअर्चना हुन्छ। पछिल्लो समय यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ। उपत्यकाका तीन जिल्लाबाट मन्दिर अवलोकन र पूजाआजाका लागि सयौं तीर्थालु आउँछन्। उनीहरूलाई हजार सिँढी र पार्कले रोमाञ्चक बनाइ खुशी तुल्याउने नगरको विश्वास छ।

‘नगरकै सुकुटेस्थित सुनकोसी नदीमा साहसिक खेलका लागि हरेक शुक्रबार र शनिबार झण्डै १० हजार आगन्तुकको भीड लाग्छ। तिनलाई चौतारामा तान्ने योजना नगरको हो’–बुद्धपार्क र हजार सिँढी निर्माणको औचित्य प्रष्ट पार्दै नगर प्रमुख तामाङले भने।प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यो पार्कको उद्घाटन गरेका थिए।

प्रकाशित: ४ वैशाख २०७९ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App