४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'बिक्री हुनै छाडे हाम्रा उत्पादन'

बागलुङमा जारी चैत्राष्टमी मेलामा बिक्रीका लागि राखिएको घरेलु उत्पादनका सामग्रीहरु। तस्बिरः संगम/नागरिक।

बागलुङ कालिका भगवती मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ। परम्परागत रुपमा स्वतः स्फूर्त रुपमा मेला हुँदै आएकोमा पछिल्लो समय बागलुङ कालिका भगवती गुठी मन्दिर व्यवस्थापन समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ। 

गण्डकी प्रदेशकै ऐतिहासिक शक्तिपिठको रुपमा बागलुङ कालिका मन्दिरमा वडा दशैं र चैते दशैंमा विशेष पूजा अर्चना हुन्छ। विगतमा चैते दशैंका अवसरमा बागलुङमा लाग्ने मेला एक आपसमा वस्तु विनीमय गर्ने थलोको रुपमा परिचित थियो।

परम्परागत रुपमा घरेलु सीपबाट उत्पादन भएका वस्तुहरुको बिक्री वितरण हुन्थ्यो। निगालोको चोयाबाट निर्माण गरिएका डोको, डाली, नाङ्लो, सोली थुन्चे लगायतका सामग्रीहरुको खुब व्यापार हुन्थ्यो। पछिल्ला केही वर्षहरुमा भने यसको व्यापार घट्दै गएको छ।

पछिल्ला दिनहरुमा घरेलु उत्पादनका वस्तुहरु विक्री हुने छाडेको गार्खाबाट आएका आशबहादुर मगर बताउँछन्। ‘पहिला पहिला खुब व्यापार हुन्थ्यो, पहिला पहिला व्यापार भएको सम्झेर अहिले पनि चोयाबाट बनेका सामानहरु लिएर आएका छौं,’ उनले भने,‘अहिले त व्यापार नै हुँदैन।

सबै प्लाष्टिकका सामान आएपछि हामीले बुनेका चिजहरुको व्यापार हुन छाड्यो। २५ वर्षको उमेरदेखि चैते दशैं मेलामा बागलुङ आउने गरेका उनी अहिले ७५ वर्षको हुँदा पनि उही जोश र जाँगरका साथ डोको, डाली, नाङ्लो, सोली, मान्द्रो बोकेर बागलुङ आइपुगेका छन्। 

‘म त पहिला पटक आउँदा २५ वर्षको थिएँ, १५ वर्षको उमेरदेखि यो चोयाँको काम गर्दै आएको छु,’ मगर भन्छन्, ‘अहिले त साह्रै गाह्रो हुन थालेको छ। परिवार पाल्न पनि धौं छ, विक्री हुँदैन।’ आफूहरुले पुख्यौंलीदेखि नै चित्राबाट सामान बनाउने काम गर्ने गरेका कारण आफूहरु चित्रा मगर भएको उनी बताउँछन्।

‘यो त हाम्रो पुर्ख्यौली पेशा हो, चित्राको काम गर्ने भएर हामी चित्रामगर भएका हौं, अब यो काम गाह्रो हुँदै गएको छ,’ उनले गुनासो गरे। परम्परागत सिपको माध्यमले चोयाबाट निर्मित वस्तुहरुको बिक्री हुन छाडेपछि अहिलेका पुस्ताले यो काम गर्नै छाडेका छन्। दुःख बढि हुने र बिक्री पनि नहुने भएपछि अहिले युवाहरु यसबाट विमुख हुँदै गएको बागलुङको बडिगाड गाउँपालिका-४ जलजलाबाट आएका मनबहादुर विकले बताए।

‘अहिलेका केटाहरुले यो काम गर्दैनन्, बुढा पुरानाले दुई चार पैसा भए पनि कसरी हुन्छ आम्दानी होला भनेर गर्ने हो,’उनले भने, ‘अलिहे बिक्री नै हुँदैन। मैले बिक्री गर्न भनेर गाउँबाट अरुसंग किनेर ल्याएको अहिले यहाँ व्यापार नै छैन।’ चोयाबाट सामग्री उत्पादन गर्ने सीप पुस्तान्तरण नहुँदा लोप हुने खतरा छ।

‘बुढाहरुले मात्रै बुन्छन् अहिलेका केटाहरु सबै विदेश गए, अब यो पेशा हराउने त होला,’ मनबहादुरले गुनासो गरे। परम्परागत सीपको प्रयोग गरेर निर्माण गरिएका वस्तुहरुको विकल्पमा अन्य सामान बजारमा सस्तो उपलब्ध हुन थालेपछि यी वस्तुहरुको व्यापार घट्दै गएको अमृत बोहोरा क्षेत्रीको अनुभव छ।

‘मैले लामो समयदेखि घरेलु उत्पादनका वस्तुहरु खरिद गरेर बिक्री गर्ने गरेको छु, अहिले यसको व्यापार निकै नै घटेको छ,’ उनी भन्छन्, ‘प्लाष्टिकको सामान सस्तो मूल्यमा आउने भएपछि मेहनत गरेर बनाएको वस्तुको लागत बढि हुन्छ, व्यापार घटेको छ।’

पहिले पहिले चैत्राष्टमी मेलामा घरेलु उत्पादनका वस्तुहरु खरिद गर्नकै लागि मानिसहरु आउने गरे पनि अहिले त्यस्तो नभएको उनी बताउँछन्। ‘गलकोट ताराखोलाबाट मैले किनेर ल्याएको छु, साना पाथीहरु विक्री हुन्छ, डोको डाला नाङ्ला, मादलहरु पनि बिक्री हुन छाडे,’ उनले भने।

घरेलु र स्थानीय उत्पादनलाई प्रवद्र्धनका लागि त्यस्ता व्यवसायीलाई रोजेको ठाउँमा निःशुल्क स्टल उपलब्ध गराएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति अध्यक्ष कुमार खड्का बताउँछन्। ‘चैते दशैं भनेकै मौलिक उत्पादनहरुको किनबेच गर्ने ठाउँको रुपमा परिचित छ, यसलाई प्रवर्द्धन लागि हामीले घरेलु सामान लिएर आएका व्यवसायीले चाहेको ठाउँमा स्टल व्यवस्थापन मिलाएका छौं, शुल्क पनि लिएका छैनौं,’ खड्काले भने।

प्रकाशित: २७ चैत्र २०७८ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App