७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कोरला-त्रिवेणी सडकः ‘लाइफलाइन’ सुधार्दै गण्डकी प्रदेश

कोरोला–त्रिवेणी सडकको नवलपुरमा खण्ड शिलान्यास गरिँदै। तस्बिरः नागरिक

कोरला–त्रिवेणी सडकलाई गण्डकी प्रदेशले ‘लाइफलाइन’ मानेको छ। राष्ट्रिय गौरवको यो आयोजनाले छोटो दुरीमा हिमाल र पहाडलाई तराईसँग जोड्छ। मुस्ताङमा पर्ने कोरलालाई नवलपुरको त्रिवेणीमा यसले जोड्छ। गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने एकमात्र नाका पनि यही नै हो। कोरला–त्रिवेणी खण्डमध्ये अहिले कोरला–पोखरा सडक संचालनमा छ।  

तर, तनहुँको भीमाददेखि नवलपुर निस्कने रुटको बारेमा अन्योल भईरहँदा नवलपुरको बौंदीकाली गाउँपालिकाको डेढगाउँ हुँदै हुप्सेकोटको झ्यालवाससम्म निस्कने सडकखण्ड मंगलबार शिलान्यास गरिएको छ। ठेक्का प्रक्रियामा गइसकेको उक्त १४ किलोमिटर सडक खण्डको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढगाउँमा शिलान्यास गरेका हुन्।

यो बाटो बनिसकेपछि तनहुँको भीमादबाट नवलपुरको त्रिवेणीसम्मको सडक दुरी ९४ किलोमिटर हुनेछ। जसमध्ये दुम्कीवास त्रिवेणी खण्डको १९ किलोमिटरको ट्रयाक खुल्न अझै बाँकी छ। अहिले पोखराबाट त्रिवेणी  पुुग्न मुग्लिन, नारायणगढ हुँदै जानुपर्छ । यो निकै नै फेरो पनि पर्छ।

पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख इन्जिनियर रवीन्द्र तिवारीका अनुसार मंगलबार शिलान्यास गरिएको सडकले तनहुँको मानपुर जोड्छ। तनहुँको भीमाददेखि मानपुरसम्म करिब १२ किलोमिटर सडक ओटासिल प्रविधिबाट कालोपत्रे भइसकेको छ। मानपुरदेखि डेढगाउँसम्म करिब १० किलोमिटर सडक पर्छ। डेढगाउँका कालिगण्डकी नदीमाथिको पुल तरेपछि नवलपुर जोडिन्छ। डेढगाउँबाट २ वटा रुटमार्फत महेन्द्र राजमार्ग पुुग्न सकिन्छ। तिवारीका अनुसार एउटा रुटबाट कावासोती नजिक निस्कन सकिन्छ भने अर्काे रुटबाट चोरमारा नजिकैको झ्यालबास जोडिन्छ।  

तिवारीका अनुसार तनहुँ हुँदै जाँदा कालिगण्डकी तरेपछि झयालबास पुुग्न ४८ किलोमिटर दुुरी पुरा गर्नुपर्छ। त्यसमध्ये १४ किलोमिटर सडक हिजो मात्र शिलान्यास गरिएको छ। बाँकी ३४ किलोमिटर खण्ड ट्रयाकमात्र खुलेको छ। ट्रयाकमात्र खुलेको ३४ किलोमिटर खण्डमा वर्षायाममा गाडी गुडाउन पनि मुस्किल छ। हिउँदमा जसोतसो साना सवारी चल्छन। ३४ किलोमिटरमध्ये १८ किलोमिटर बौंदीकालिका र १६ किलोमिटर हुप्सेकोटमा पर्छ। स्तरोन्नतीका लागि शिलान्यास गरिएको १४ किलोमिटर सडकमा अहिले पनि गाडी चल्छन।  

तिवारीका अनुसार शिलान्यास भएको १४ किलोमिटर सडक खण्डमा दुुइलेन अर्थात् ७ मिटर चौडाइको अस्फाल्ट कालोपत्रे हुनेछ। नाला र दायाँबायाँ एक–एकमिटर सहितको सडकको चौडाइ १० मिटर रहनेछ। यसको कुल लागत ५१ करोड रुपैयाँ अनुमान गरिएको छ। यसको टेण्डर आव्हान पनि भईसकेको छ। ३० महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का भएको कार्यालय प्रमुख तिवारीले बताए।  

‘यो सडकले नवलपुर र तनहुँलाई सहजै जोड्छ। तर, बीचको केही खण्डमा भने ठुलो लगानी गरेर सडक स्तरोन्नती गर्न जरुरी छ,’ तिवारीले भने, ‘सामान्य ट्रयाक मात्र खुलेको ३४ किलोमिटर सडकलाई स्तरोन्नती गर्न ठुलो लगानी आवश्यक पर्छ।’

झ्यालबास हुँदै महेन्द्र राजमार्ग निस्केपछि दुम्कीवास पुगिन्छ। दुम्किबासबाट  त्रिवेणी निस्कन १९ किलोमिटरको ट्रयाक भने खुल्न बाँकी छ। अहिले राजमार्ग हुँदै दुम्किबासबाट दाउन्ने हुँदै वर्दघाट निस्केर मात्र त्रिवेणी पुगिन्छ। यो केही फेरो पनि हुन्छ। तर, अब बन्ने सडक दुम्कीबासबाट सिधै त्रिवेणी निस्कनेगरि बनाउने योजना छ। वन क्षेत्रमा पर्ने यो सडकले दुम्किबासलाई त्रिवेणी जोड्न निकै नै छोटो हुने र आफ्नै प्रदेशभित्रको सडक बन्ने तिवारीले जानकारी दिए। ‘जंगल र नारायणी किनार हुँदै यो सडकको ट्रयाक खुलाउने योजना छ,’ उनले भने।

त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र भित्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको छैन। चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ। बाटोको पहुँच नहुँदा विनयी त्रिवेणीको ६ र ७ नम्बर वडाका बासिन्दा पालिका कार्यालय पुग्न लुम्बिनी प्रदेशको बर्दघाट हुँदै जानुपर्ने वाध्यता छ।  

सडक शिलान्यास गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको अन्योल चिर्दै प्रदेश सरकारले काम अगाडि बढाएको बताए। ‘विगतमा तनहुँको भीमादबाट नवलपुरको मुख्य राजमार्ग जोड्न कुन बाटो बनाउने अन्योल थियो, हामीले डेढगाउँ झ्यालवास नै हो भनेर बजेट विनियोजन ग¥यौं। अहिले शिलान्यास नै भएको छ,’ उनले भने। नवलपुरको पहाडी भेगको विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज नै बनाउने प्रतिबद्धता समेत उनले जनाए।  

प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले नवलपुरको समग्र विकासका लागि सरकारले संवेदनशील भएर योजना बनाएको बताए। प्रदेश गौरवको आयोजना कोरला–त्रिवेणी सडकको डेढगाउँ झ्यालवास खण्डको काम सुरु गरेर सरकारले नागरिकको चाहाना पूरा गरेको उनले बताए। ‘बजेट विनियोजन भएर ठेक्का प्रक्रियामा गइसकेपछि हामी बाटोमा ढुंगा हाल्न आएका छौं,’ खड्काले भने।  

मुलुक प्रादेशिक संरचनामा जाने क्रममा नवलपरासीको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा परेको थियो। नवलपरासीलाई टुक्रयाएर दुुईजिल्ला बनाउँदै गर्दा नवलपुर गण्डकीमा समेटिएको थियो। त्यही नवलपुरलाई प्रदेशको राजधानी पोखरासँग सिधा राजमार्गले जोड्नेगरि अहिले कोरला–त्रिवेणी सडकलाई प्राथमिकता दिएको मन्त्री खड्काले बताए।  

प्रकाशित: ११ फाल्गुन २०७८ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App