५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

रित्ता कन्टेनर फिर्ता नजाँदा सुक्खा बन्दरगाहमा जाम

कन्टेनर कन्जेसन (जाम)मा परेकाे सिर्सिया सुक्खा बन्दर गाह। तस्बिरः र रितेश/नागरिक

कोरोनापछि नेपालको तेस्रो मुलुकसँगको व्यापार बढिरहेको बेला वीरगन्ज, सिर्सियास्थित सुक्खा बन्दरगाहमा डेढ हजारभन्दा बढी रित्ता कन्टेनर लामो समयदेखि अड्केर बसेका छन्।

भारतीय रेल्वे सञ्जालमार्फत अन्तर्राष्ट्रिय समुद्री व्यापार मार्गमा जोडिएको देशको एक्लो संरचना यो सुक्खा बन्दरगाहमा कन्टेनर कन्जेसन अर्थात जामको समस्या देखिएको छ। २० फिट एकाइमा गणना गर्ने हो भने वीरगन्जको सुक्खा बन्दरगाहमा विशाखापट्नम लैजानुपर्ने १ हजार ३ सय ६१ वटा, कोलकाता लैजानुपर्ने १ सय ८३ वटा र कन्कोरको घरेलु कन्टेनर २४ वटा गरी १ हजार ५ सय ६८ कन्टेनर थन्किएका छन्।

सुक्खा बन्दरगाहको क्षमता एकपटकमा साढे १५ सय कन्टेनर ह्यान्डिल गर्ने रहेकोमा अहिले रित्ता कन्टेनर मात्र त्यसभन्दा बढी छ। करिब त्यत्तिकै संख्यामा भरी कन्टेनर छन्। भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन इन्डिया (कन्कोर)ले रित्ता कन्टेनर थन्क्याएपछि यहाँ जाम हुन पुगेको सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले जनाएको छ।

पुराना कन्टेनर लैजान कन्कोरले चासो नलिएकोले समस्या बढेको कम्पनीको दाबी छ। प्रिस्टिन भ्यालीका अप्रेसन प्रमुख अतुल शर्माले आफूहरूले रित्ता कन्टेनर लैजान र कन्टेनरको ढुवानी शृंखला सहज बनाई दिन पटकपटक कन्कोरलाई आग्रह गरेको बताए।

प्रिस्टिन भ्यालीले सञ्चालनको लागि जिम्मा लिएअघिदेखि नै त्यहाँ ८५० खालि कन्टेनर थुप्रेर बसेको शर्माले बताए। ‘हामीभन्दा अगाडि हिमालयन टर्मिनल्सले सुक्खा बन्दरगाह सञ्चालन गरेको थियो, उसको पालामा २०७६ चैत ९ देखि साउन २२ सम्म ८ सय ५० रित्ता कन्टेनर यहाँ जम्मा भइसकेका थिए, त्यसपछि सञ्चालन हाम्रो जिम्मामा आयो,’ उनले भने, ‘यसमा परिस्थितिलाई पनि जिम्मेवार भन्न सकिन्छ।

नेपालमा लकडाउन सुरु भएपछि कन्टेनरलाई आयातकर्ताले खालि गरेर बेलैमा सुक्खा बन्दरगाह ल्याउन ढिलाइ भयो ।’ यसरी थन्किएको रित्ता कन्टेनर उठ्न नसकेर समस्या भएको उनले बताए।

रित्ता कन्टेनर फिर्ता नपाएर यसबीचमा १५ भन्दा बढी मालबाहक रेक यताबाट रित्तै फर्केका छन्। एक रेक २० फिट एकाइमा ९० वटा कन्टेनर अट्ने गर्छ। त्यही कन्टेनरहरू ‘रोटेसन’ (ढुवानी शृंखला)भन्दा बाहिर भएर थन्किएपछि समस्या भएको बताइएको छ। कन्टेनर जामले गर्दा खुक्खा बन्दरगाहमा काम गर्ने मानिसको लागि सुरक्षा जोखिम बढेको समेत उनीहरू बताउँछन्।

त्यस्तै रेक कन्टेनर सुक्खा बन्दरगाहबाट निस्किन नपाएर अहिले ठाउँ अभाव भएकोले कन्टेनरमुनि कन्टेनर थिचिएर निकाल्ने समयमा समय बढी खर्च भइरहेको भन्सार क्लियरिङ एजेन्टहरूले जानकारी दिए। सुक्खा बन्दरगाहभित्र रित्ता कन्टेर राख्न भाडा नलाग्ने भएकाले सिपिङ कम्पनीहरू कन्टेनर उठाउन ढिलासुस्ती गर्थे। दोस्रो लहरको कोरोनापछि सबैतिर बजार खुलेपछि दुनियाँभरमा माग उच्च भएर रित्ता कन्टेनरको उपलब्धता घटेको थियो। त्यसपछि मात्र वीरगन्जमा थन्किएको कन्टेनर फिर्ता लैजान सिपिङ कम्पनीहरूको चासो जागेको थियो।

अहिले सिपिङ कम्पनीहरूले रित्ता कन्टेनर उठाउन चाहिरहेको बेला र कन्कोरले भने अटेरी गरेको आयातकर्ता बताउँछन्। भारतीय बन्दरगाहमा आएका कन्टेनर रेलमार्फत ढुवानी गरी वीरगन्ज सुक्खा बन्दरगाहसम्म ल्याइपु¥याउने र फिर्ता लैजाने मुख्य सेवा प्रदायक कन्कोर हो।

भारतको पश्चिम बंगालको कोलकातासम्म रित्ता कन्टेनर फिर्ता पठाउन प्रतिरेक (मालबाहक रेल) ६ लाख रूपैयाँ र आन्ध्र प्रदेशको विशाखापट्नम पठाउन ९ लाख रूपैयाँ भारु भाडा लाग्ने भएकोले उक्त पैसा कसले बेहार्ने भन्ने विवाद पनि देखिएको सुक्खा बन्दरगाह स्रोतले जनाएको छ।

५० प्रतिशत कन्कोरले छुट दिने र बाँकी ५० प्रतिशत सिपिङ कम्पनीले भुक्तानी गर्ने प्रस्ताव अघि सारिएको कम्पनीका एक अधिकारीले बताए। ६० प्रतिशत बढी कार्गो विशाखापट्नमको रहेकोले करिब १५ वटा रित्ता रेक करिब २ वटा कोलकाताका लागि आवश्यक पर्ने देखिन्छ।

यसरी सुक्खा बन्दरगाहमा जाम भएर बसेका रित्ता कन्टेनर फिर्ता पठाउन एक करोड ४७ लाख भारतीय रूपैयाँ (२ करोड ३५ लाख रूपैयाँ) खर्च हुने देखिन्छ। रित्ता कन्टेनर फिर्ता पठाउन नसक्दा भएको जामले गर्दा असहज भएको व्यापारी बताउँछन्। 

नयाँ समस्या

गत असार १५ मा नेपाल–भारत रेलसेवा सम्झौता संशोधनले कन्टेनर ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर)को एकाधिकार अन्त्य भए पनि नेपालको तेस्रो मुलुकसँगको व्यापारमा समस्याको स्वरूप फेरिएको छ। सम्झौता संशोधनपछि भारतकै निजी रेल ढुवानी सेवाप्रदायक कम्पनीहरू नयाँ प्रतिस्पर्धीको रूपमा आए। कोन्करको एकाधिकार भंग भयो। गत भदौ ३० मा पहिलोपटक कन्कोर बाहेक निजी रेल वीरगन्ज सुक्खा बन्दरगाहमा आयो।

लगत्तै कोन्करले भाडा घटाएको सूचना निकालेको थियो। मंसिर १८ गते विशाखापट्नमबाट निजी कम्पनीको मालबाहक रेल वीरगन्ज सुक्खा बन्दरगाह भित्रिएको थियो। कोन्करले प्रतिस्पर्धी कम्पनीलाई नेपालको ढुवानीबाट निरुत्साहित गर्न भाडा उल्लेखनीय अनुपातमा घटाएको छ।

कोन्करले मालबाहक रेलको सेवा आपूर्ति भने मागअनुसार गर्न नसकेर त्यसको मार व्यापारमा परेको आयातकर्ता बताउँछन्। पश्चिम बंगालको कोलकाता बन्दरगाह र आन्ध्र प्रदेशको विशाखापट्नम बन्दरगाहमा मालबाहक रेल नियमित रूपमा कन्कोरले आपूर्ति गर्न सकेको छैन। तेस्रो मुलुकबाट आउने कन्टेनर २ महिनासम्म बन्दरगाहमै अड्किन थालेको आयातकर्ता बताउँछन्।

प्रकाशित: २६ माघ २०७८ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App