३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

सर्लाही र रौतहटमा ब्युँतिँदै उखु खेती

यस वर्ष उखुले राम्रो मोल पाएपछि धमाधम नयाँ जातको उखु रोप्दै किसान। तस्बिरः मदन ठाकुर

सर्लाही गोडैता नगरपालिका ४ रोहुवाका राजेश ठाकुरले छ बिगाहा उखु रोपेर सिध्याएका छन्। गत वर्ष ठाकुरले तीन बिगाहामा मात्र उखु खेती लगाएका थिए। सर्लाहीको उखु किन्न विभिन्न जिल्लाका चिनी उद्योगहरुले उखु खरिद केन्द्र (काँटा) सञ्चालन गरेपछि उखु किन्ने उद्योगीबीच प्रतिस्पर्धा बढेपछि उखुको मूल्य समयमै पाउन थालेको देखेर ठाकुरले गत वर्षभन्दा तीन बिगाहा बढी खेतमा उखु खेती थपेका हुन्।

रौतहटको गढीमाई नगरपालिका २ समनपुरका कामेश्वर सहनीले पनि गत वर्षको भन्दा दोब्बर खेतमा नयाँ उखु खेती गर्दै छन्। विगत वर्षमा चिनी उद्योगले उखुको मूल्य भुक्तानी गर्न आनाकानी गर्दै गएपछि पहिलेको तुलनामा पच्चीस प्रतिशतभन्दा कम खेतमा उखु खेती गरेका सहनीले चालू आर्थिक वर्षको उखुको रकम तत्काल नै पाउन थालेपछि गत वर्षको तुलनामा उखु खेती दोब्बर गरेका हुन्। गत वर्ष साढे तीन बिगाहामा उखु खेती गरेका सहनीले यस वर्ष करिब ७ बिगाहामा उखु खेती थप्दै छन्।  

सर्लाहीका ठाकुर र रौतहटका सहनी उदाहरण मात्रै हुन्। जिल्लाका अधिकांश किसानले गत वर्षको भन्दा केही बढी नै खेतमा उखु लगाइरहेका छन्। नगदे बालीको मान्यता पाएको उखुको मूल्य विगतका वर्षहरुमा उद्योगीहरुले समयमा नदिएका कारण खेतीबाट पलायन हुँदै किसानहरुले उधारो खेती भनी हेला गर्न थालेपछि उखु खेती कम भएर चिनी उद्योगहरु नै सुक्ने अवस्थामा पुगेका छन्।

प्रतिस्पर्धाले गर्दा करिब आधा दशकभन्दा लामो समयपछि उखु किसानको हातमा उखुको पैसा तत्कालै पर्न थालेको छ। तराई मधेसमा सबैभन्दा बढी उखु खेती सर्लाहीमा हुन्छ। उखु खेतीको बैंक नै मानिएका सर्लाही जिल्लामा चारवटा उखु उद्योग छन्। करिब तीन दर्जन बढी खाडसारी उद्योग सञ्चालित छन्। सर्लाहीमा सिद्धि विनायक सुगर मिल, इन्दु शंकर, अन्नपुर्ण र महालक्ष्मी सुगर मिलले मात्रै उखु किनेका छैनन्। रौतहटको बाबा बैजुनाथ र एभरेष्ट सुगर मिल महोतरीले समेत काँटा सञ्चालन गरेर उखु किन्न प्रतिस्पर्धा गरेपछि कम हुँदै गएको उखु खेतीतर्फ किसानहरु पुनः आकर्षित भएका छन्।

सर्लाहीमा गत वर्ष २१ हजार बिगाहामा उखु खेती भएको थियो तर यो वर्ष उखुको मूल्य सरकारले समयमा नै तय गरेर किसानको खातामै पैसा पठाउन थालेपछि गत वर्षको तुलनामा यो वर्ष थप ९ हजार बिगाहा उखु खेती बढी भएर तीस हजार बिगाहा पुग्ने अनुमान रहेको इन्दु शंकर चिनी मिलका प्रमुख उखु प्रबन्धक योग नारायण रजकले बताउँछन्।  

रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल बन्द भएपछि बाबा बैजुनाथ सुगर मिलले किसानसित खरिद गरेको उखुको भुक्तानी बैंक मार्फत खातामै पठाउन थालेपछि किसानहरु रौतहटमा पनि उखु खेती धमाधम रोपाइ गरिरहेका छन्। किसानले समयमै उखुको भुक्तानी पाउन थालेकोले चालू आर्थिक वर्षमा कम्तीमा पचास प्रतिशतले उखु खेती बढ्ने उखु उत्पादक संघ रौतहटका सचिव सफिन्द्र प्रसादयादव बताउँछन्।  

अहिले किसानले उखु धमाधम रोपिरहेकाले आगामी वर्ष कम्तीमा १५ लाख क्वीन्टल उखु जिल्लामा उत्पादन हुने सचिव यादवको अनुमान छ। चालू आर्थिक वर्षमा जिल्लामा ६लाख क्वीन्टल उखु मात्रै उत्पादन भएको सचिव यादव बताउँछन्।

अहिले जिल्लामा करिब दुई हजार बिगाहा उखु खेती मात्र रहेकोले अगामी सिजनको लागि करिव दोब्बर बढे कम्तीमा चार हजार बिगाहामा खेती हुने अनुमान रहेको बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजुप्रसाद बावराले बताउँछन्। उनले उखु खेतीलाई बढावा दिन आफ्नो मिलले किसानलाई उन्नत जातको विउ समेत उपलब्ध गराइरहेको बताएका छन्।

उखु खेतीको लागि किसानले चिनी उद्योगबाट प्रोत्साहन पनि पाइरहेको र समयमा चिनी उद्योगबाट भुक्तानी पनि पाइरहेको हुनाले उखु खेती विस्तार हुने निश्चित देखिएको किसानहरु नै बताउँछन्।

प्रकाशित: २३ माघ २०७८ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App