११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

वर्कसप व्यवस्थित गर्न अटोभिलेज योजना

जग्गा खोज्न कार्यदल गठन

शहरीकरण बढ्दै छ। सवारी साधनाको चाप पनि उत्तिकै बढ्दो छ । सवारीको चापसँगै मर्मतसम्भार गर्ने अटोवर्क्स पनि थपिएका छन्। थपिएको अटोवर्क्स लाई व्यवस्थित गर्नुपर्ने खाँचो छ। सडक किनारमै आवागमनलाई अवरोध पुर्‍याएर सवारी मर्मत गर्ने गरिएको छ।  

पोखरा महानगरपालिकाले अटोवर्क्सलाई व्यस्थित गर्ने योजनासहित कार्ययोजना अघि बढाएको छ। बजार क्षेत्रभित्र छरिएर रहेका अटोवर्क्सलाई व्यवस्थित गर्न अटोभिलेज कन्सेप्टमा महानगरपालिकाले जग्गा छनोटको लागि कार्यदल नै बनाएको छ।

पोखरा महानगरपालिकाको ५३ औं कार्यपालिकाको बैठकले महानगरप्रवक्ता धनबहादुर नेपालीको संयोजकत्वमा  अटोभिलेजका लागि आवश्यक उपयुक्त जग्गा खोजी तथा पहिचान गर्न कार्यदल बनाइएको छ। प्रवक्ताको संयोजकत्वमा गठित कार्यदलमा पोखरा महानगरपालिका–१९ का अध्यक्ष शोभामोहन पौडेल, ४ वडाध्यक्ष शंकरप्रसाद बास्तोला, अटो व्यवसायी सनतकुमार भट्टराई, सन्तोषकुमार मिश्र र महानगरका ईन्जिनियर सुलभ तिमिल्सिना रहेका छन्।  

कार्यदल बनेको उल्लेख गर्दै प्रवक्ता एवं संयोजक नेपालीले उपयुक्त ठाँउको पहिचान गरेर टुंग्याईने स्पष्ट पारे। ‘एकै ठाँउमा जग्गा पाउन कठिनाई छ। सरकारी जग्गामा निश्चित भाडा तय गरेर बजारका अटोवर्कसपलाई व्यवस्थित गर्ने छौं,’ उनले भने, ‘स्मार्ट सिटीको परिकल्पना अनुसार पनि अटो भिलेज बनाउनुपर्ने अपरिहार्य छ।’ अहिले सडकै सवारी साधन मर्मत सम्भार गर्ने परिपाटी छ। सडका मर्मत सम्भार हुँदा सडक फोहोर र सवारीको मोविल झर्दा सम्भावित दुर्घटनाको जोखिम छ। ‘सडकमै सवारी मर्मतको अन्त्य गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्न अटो भिलेज निर्माण अत्यावश्यक भईसकेको छ,’ उनको भनाई थियो।  

वातावरणीय हिसाबले पनि अटोभिलेज बनाउनुपर्नेमा उनको जोड थियो। सडक किनारमै सवारी जाम नै हुने गरी जथाभावी सवारी मर्मतको परिपाटी अन्त्य गर्नुपर्ने कार्यदल संयोजक नेपालीले बताए। ‘अटो भिजेल निर्माणले अटो व्यवसायीको संस्थापक विकासमा टेवा पुग्ने विश्वास छ,’ उनले सुनाए। कार्यदलले विभिन्न ठाँउमा सम्भावित अध्ययन गरेको छ। राजमार्गसँग जोडिएको वडामा जग्गाको अध्ययन गर्नुपर्ने व्यवसायीको मागलाई ध्यानमा राखेर पोखरा महानगरपालिका– १९ र २५, महानगरपालिकाकै २१ र २२ नम्बर वडा तथा वडा नं ३१ र ३२ मा अध्ययन गरिएको उनले जानकारी दिए।

‘उच्च शहरी विकासले गर्दा अटो भिलेज आवश्यक देखिएको छ,’ उनले भने, ‘बजार क्षेत्रभन्दा पर व्यवस्थित गर्ने योजना हो।’ अटो व्यवसायीलाई महानगरपालिकाले करको दायरामा ल्याउन पनि अटोभिलेजको परिकल्पना गरेको हो उनले बताए। प्रवक्ता नेपालीका अनुसार ३० प्रतिशत भन्दा पनि कम अटो वर्क्स महानगरपालिकामा दर्ता छन्।  

गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन कास्कीमा ३४० वटा (फोरह्वील सवारीको) अटोवक्र्स छन्। कतिपय अझै संस्थामा आवद्ध भईसकेका छैनन्। दर्ता नभएका अटो वर्क्स धेरै छन्। ‘अटो भिलेज राजमार्गलाई छोएको ठाँउमा स्थापित गरिनुपर्ने व्यवसायीको माग छ।’ गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन कास्कीका अध्यक्ष सन्तोषकुमार मिश्रले भने, ‘व्यवसायीको माग सम्बोधन होस भन्ने हाम्रो चाहना हो।’ महानगरपालिकाले पनि पृथ्वीराजमार्ग (वडा नं ३१ र ३२), भूपी शेरचन राजमार्ग (पोखरा २५) र सिद्दार्थ राजमार्ग (पोखरा १७, २१ र २२ वडा)मा जग्गा खोजिकार्य शुरु गरेको जनाएको छ।  

‘अटो भिलेजको लागि एक–डेढसय रोपनी क्षेत्रफल चाहिन्छ,’ अध्यक्ष मिश्रको भनाई थियो। दर्ता नभएका व्यवसायीलाई पनि अटो भिलेजमा ल्याई दर्ता गरिने व्यवस्थित गरिने उनले बताए। उनका अनुसार अहिले व्यवसायीले व्यक्तिगत जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका छन्। महानगरपालिका प्रवक्ता नेपालीका अनुसार न्यूनतम ५० रोपनी जग्गा खोजीकार्य गरिएको छ। महानगरकै सरकारी जग्गा पाईए सरकारी निकायले तोके अनुसार व्यवसायीसँग शुल्क उठाउने समेत प्रवक्ता नेपालीले बताए।

‘व्यक्तिगत जग्गा पाइए सम्बन्धित अटो व्यवसायीले नै भाडा तिर्छन्। सरकारी जग्गा पाइएको अवस्थामा सरकारी मूल्यांकन अनुसार व्यवसायीले चर्चेको क्षेत्रफल अनुसार भाडा तिर्नेछन्,’ उनको भनाई थियो ।  

प्रकाशित: १४ माघ २०७८ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App