१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मलको चरम अभाव

मलको चरम अभाव भएका बेला किसानलाई केही राहत हुने सोच राखेर सुनसरीगढी वडा नं. ६ का सत्यनारायण साहले बिक्रीका लागि मल भित्र्याए। उनले किसानलाई मल बिक्री गरे। तर उक्त युरिया मलमा नुन मिसावट भएको पुष्टि भएपछि साहलाई प्रहरीले पक्राउ गरि कारबाही गर्‍यो।

अहिले साह कानुनी प्रक्रिया पुर्‍याएर छुटेका छन्। उनले भारतबाट आउने मल बिक्री गर्न छाडेका छन्। यहाँका किसानले लगाएको गहुँ, तोरी, मकैका लागि मल डिएपी र युरिया नपाउँदा समस्यामा परेका छन्।

‘सरकारले मल दिँदैन, भारतबाट ल्याउन प्रहरीले दिँदैन, अनेक उपाय रचेर ल्याउँदा पनि युरियामा नुन मिसिएको पाइन्छ,’ गढी गाउँपालिका वडा नं. ३ का किसान रामदेव यादवले भने, ‘एक सातादेखि मलका लागि दौडधुप गर्दा कहीँ पाएको छैन।’ उनी मलका लागि पटकपटक कृषि सामग्री संस्थान विराटनगरमा पनि पुगे। गाउँपालिकालाई मलका लागि पहल गर्न आग्रह गर्दै पुगे। तर पनि मल पाएका छैनन्। ‘खै यो वर्ष मलको आस गर्दा गर्दै बित्ला जस्तो छ,’ उनले भने, ‘यसपटक गहुँ बिग्रिएर नास हुने भो।’

सामान्य किसान मात्र होइन, पहुँचवाला र गाउँ समाजका अगुवा समेत मलका लागि कृषि सामग्री संस्थान धाउँदा पाएका छैनन्। ‘गहुँमा लगाउन युरिया नपाएपछि सारै समस्या भएको छ,’ गढी गाउँपालिका उपाध्यक्ष राजकुमार चौधरीले भनिन्। उनका अनुसार कृषि सामग्री संस्थानले गाउँपालिकालाई सीमित मल उपलब्ध गराउने गरे पनि त्यो धेरै किसानलाई थोरै थोरै बाँढ्दा सकिने गरेको छ। हरिनगरका किसान छेदी यादवले खेतमा पानी पटाएको तीन साता बितिसक्दा पनि युरिया र डिएपी पाएका छैनन्।

सहकारी संस्था लिमिटेड हरिनगरका अध्यक्ष बद्रीप्रसाद यादवले मलखाद उपलब्ध नभएकाले किसानलाई वितरण गर्न समस्या भएको बताए।

त्यसो त मल अभाव भएपछि सुनसरीका किसानले प्रदर्शन समेत थालेका छन्। सुनसरीका किसानले मल माग गर्दै इनरुवामामा प्रदर्शन गरेका छन्। सरकारी निकायले तत्काल मल उपलब्ध नगराए थप कडा आन्दोलन चर्काउने उनीहरूको  चेतावनी छ।

किसान राष्ट्रिय एकता नेपालका केन्द्रीय सदस्य सदानन्द साहले समयमा मलको आपूर्ति, किसान कार्डको व्यवस्था, किसान परिचयपत्र सहितका माग राखेर आन्दोलन थालेको बताए। सुनसरीमा ५५ हजार हाराहारी हेक्टर कृषियोग्य भूमि छ। मल नहाल्दा कृषि उत्पादनमा कमी आउने कृषिविज्ञ बताउँछन्।

प्रकाशित: २६ पुस २०७८ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App