९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सडकले समृद्धितर्फ लेखझिग्नी

भेरीगंगा नगरपालिका–६ स्थित सल्यानसँग जोडिएको लेखझिग्नी गाउँ। तस्बिर: नगेन्द्र/नागरिक

भेरीगंगा नगरपालिका–६ लेखझिग्नीका मानबहादुर बरालमगरले तीन वर्षसम्म मलेसियामा पसिना बगाए। गाउँमा रोजगार थिएन्। सडक पहुँच नहुँदा गाउँको उत्पादन बजारसम्म पुर्‍याउन समस्या हुन्थ्यो। डोकोमा बोकेर ११ मिलोमिटर टाढा जहरेसम्म गाउँको उत्पादन पुर्‍याउँदा मूल्य पाउदैनथ्यो। उत्पादनले बजार नपाउने भएपछि गाउँका जमिन बाँझै हुन्थे। अघिल्लो वर्ष लेखझिग्नीमा सडक पुग्यो। सडकसँगै गाउँ समृद्धिको मार्गमा अघि बढेको छ।  

‘फेरि मलेसिया जाने सोचका साथ गाउँ आएको थिएँ,’ मानबहादुरले भने, ‘सडक पुगेसँगै गाउँमै संभावना देखेपछि मलेसिया जाने सोच परिवर्तन गरेँ।’ उनले अहिले गाउँमा कृषि फर्म सुरु गरेका छन्। यही वर्ष उनले ३० क्वीन्टल अदुवा उत्पादन गरे। खोरमा ३६ वटा बाख्रा पालेका छन्। बाँझो जमिनभरी टिमुर र सुन्तला लगाएका छन्। ‘मलेसियामा भन्दा राम्रो कमाई अहिले गाउँमै भइरहेको छ,’ उनले भने, ‘तरकारी बेचेरै महिनाको ३०–३५ हजार रुपैयाँसम्म कमाउँछु।’

लेखझिग्नीका नरबहादुर थापा रोजगारीका लागि कालापहाड (भारत) जान्थे। दैनिक मजदुरी गरेर जम्मा गरेको पैसाले पाँच जनाको परिवार पाल्न हम्मेहम्मे हुन्थ्यो। सडक पुगेसँगै उनको कालापहाड यात्रा रोकिएको मात्रै छैन्, आन्दानीको स्रोत पनि बढेको छ। उनले बाख्रापालन व्यवसाय गरेका छन्। उच्चमूल्यका कृषिबस्तु कुरिलो, अदुवा, बेसार खेती गरेका छन्। तरकारी बेचेर छोराछोरीलाई शहरमा पढाउन सक्ने भएका छन्। ‘बारीमा उत्पादन भएको तरकारी लिन दैनिक गाडी आँगनमै आइपुग्छ,’ उनले भने, ‘बजार खोज्दै शहर पस्नु परेको छैन्।’

 सडक पुगेपछिको अवस्थाका बारेमा कुरा गर्दै स्थानीयहरु।

लेखझिग्नीमा केही वर्षअघिसम्म चाँडपर्वबाहेक अरु बेला लोग्ने मानिस भेट्न गाह्रो हुन्थ्यो। अधिकांस कमाउनका लागि कालापहाड जान्थे। केही खाडी मुलुक पुग्थे। अहिले यहाँका सबै युवाहरु गाउँमै छन्। प्रत्येक घरले केही न केही व्यवसाय गरेका छन्। सल्यानसँग सीमा जोडिएको लेखझिग्नीमा सडकसँगै विद्युत पुगेको छ। ‘यहाँका कोही पनि युवाहरु रोजगारी खोज्दै गाउँ छोडेर जानुपर्ने बाध्यता अहिले हटेको छ,’ वडाध्यक्ष बलबहादुर खड्काले भने, ‘सबै व्यवसायसँग जोडिएका छन्, स्वरोजगार बनेका छन्।’  

सल्यानको कालीमाटी गाउँपालिका–६ काफलनेटीका शंकर खत्रीले स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन र बजारको उत्पादनलाई गाउँमा सस्तोमा पाउन सडकले सघाएको बताए। ‘सडक नहुँदा पनि हामी सुर्खेतसँग निर्भर थियौं, अहिले सडक आउँदा धेरै सहज भएको छ,’ खत्रीले भने, ‘लेखझिग्नीसम्म पुगेको सडक र विद्युतलाई गाउँसम्म पुर्‍याइदिए अझ सहज हुने थियो।’

भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्य सडकसँगै लेखझिग्नी समृद्धितर्फ अग्रसर भएको बताइन्। ‘चुनावी अभियानका क्रममा लेकझिग्नीमा सडक र विद्युत पुर्‍याउने बाचा गरेका थियौं, स्थानीय सरकारले त्यसलाई पूरा गरेको छ,’ उपमेयर आचार्यले भनिन्, ‘सडक र विद्युत पुगेसँगै लेखझिग्नीको मुहार फेरिएको छ।’ लेखझिग्नी मात्रै होइन्, सडकले सल्यानको कालीमाटी गाउँपालिकामा छ वटा गाउँलाई पनि जोडेको छ। सल्यानी भूगोल भएपनि एकराते, बोसाखारी, कबुलीपाटा, काफलनेटीलगायत गाउँका नागरिकहरुलाई लेखझिग्नीको सडकले सहज बनाएको छ।

प्रकाशित: २२ पुस २०७८ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App