बैजनाथ गाउँपालिका–३ की जुना विक खुद्रा व्यवसाय गर्छिन्। आफ्नै घर अगाडि उनले व्यवसाय थालेको चार वर्ष भयो। खुद्रा व्यवसाय उनको परिवारको प्रमुख आय स्रोत हो। उनले चारजनाको परिवार यही व्यवसायमार्फत पाल्दै आएकी छन्। चार वर्ष पहिले १० रुपैयाँ लागतमा व्यवसाय सुरु गरेको उनले बताइन्। अहिलेसम्म खुद्रा व्यवसायमै एक लाखसम्म लगानी लगाइसकेको उनले बताइन्। उनी व्यवसायसँगै गाउँमा रहेको समूहमा समेत आबद्ध छिन्। वडा नम्बर ३ को वनखेत बस्ती दलित समुदायको बाहुल्य भएको बस्ती हो। त्यहाँ ३० घरधुरी छन्। उक्त गाउँमा दलित महिला संघ बाँकेले प्रगतिशिल दलित महिला समूह गठन गरेको छ। उक्त समूहकी सदस्यसमेत हुन्, जुना।
उनको व्यवसाय र क्षमता विकासको लागि संघले सहयोग गर्दै आएको छ। उनले दलित महिला संघका कारण आफ्नो परिवारमा खुसी थपिएको जानकारी दिइन्। उनका अनुसार पहिला मजदुरी गर्दै आए पनि अहिले भने श्रीमान् श्रीमती नै व्यवसायमा आबद्ध छन्। उनका श्रीमान् कुमार अटो चलाउँदै आएका छन्। चारजनाको परिवार व्यवसायमार्फत चलाउँदै आएको उनको भनाइ छ। उनी सदस्य रहेको समूहमा २९ जना सदस्य छन्। उनीहरुले मासिकरुपमा पैसा बचत गर्छन। आफ्नो अधिकार तथा जीविकोपार्जनका लागि छलफल गर्दछन्। संघले पनि समूहमा आबद्ध महिलाहरुको शसक्तिकरणका लागि क्षमता विकास तालिमका साथै विभिन्न सहायता प्रदान गर्दै आएको छ।
उनको व्यवसायको लागि पनि उक्त संस्थाले सहयोग गर्दै आएको छ। व्यवसायका समूहमा आबद्ध हुनसमेत संस्थाले प्रेरित गरेको उनले जानकारी दिइन्। अहिले उक्त व्यवसायमार्फत दैनिक न्यूनतम् एक हजार कमाइ हुने गरेको जुनाको भनाइ छ। महिलामा सामान खरिदलगायत कटाएर २० देखि २५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ। ‘चार वर्ष अघिसम्म चुलोचौकोमा सीमित थिएँ। अहिले निर्धक्क बोल्न सक्ने भएकी छु। आर्थिकरुपमा समेत शसक्त बनिरहेको छु,’ उनले भनिन्। दलित समुदायका महिला मात्रै सम्मिलित उक्त समूहका अन्य महिलासमेत विभिन्न साना व्यवसायमा आबद्ध भएका छन्। उक्त व्यवसायमार्फत वनखेतका दलित समुदायमा जागरणसँगै आर्थिक उर्पाजनको माध्यमसमेत बढ्दै गएको छ। यही समूहमा आबद्ध महिलाहरु गाउँपालिकास्तरीय दलित सञ्जालमा समेत आबद्ध भएर काम गरिरहेको उनले जानकारी दिइन्।
वडा नम्बर ३ की दलित महिला वडा सदस्यसमेत प्रगतिशिल दलित महिला समूहकी सदस्य हुन्। उनले समेत महिलाहरुको अधिकारका लागि वडा तथा पालिकास्तरमा आवाज उठाउँदै आएकी छन्। जुनाका श्रीमान् कुमारसमेत श्रीमतीको आत्मविश्वास देखेर दंग छन्। उनले छोराछोरीहरुको भविष्यको लागि दुवैजनाले संघर्ष गरिरहेको बताए।
दलित महिला संघ बाँकेद्वारा जिल्लाका तीन स्थानीय तहमा दलित तथा सीमान्तकृत समुदायका महिलाहरुको स्रोत र सेवामा पहुँच अभिवृद्धि कार्यक्रम नामक परियोजा सञ्चालित छ। विशेषगरि दलित समुदायका महिलाहरुको क्षमता विकास, आर्थिक शसक्तिकरण तथा जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले सञ्चालित परियोजना खजुरा, डुडुवा र बैजनाथ गाउँपालिकामा चालु छ।
बाँकेका विभिन्न स्थानीय तहका दलित समुदायका महिला स्वरोजगार बन्दै गएका छन्। स्थानीय तह तथा विभिन्न संघ संस्थासँग आबद्ध भएसँगै उनी स्वरोजगार बन्दै गएका हुन्। पहिला आफ्नो परिचयसमेत दिन डराउने उनीहरु अहिले समूह डाक्नेदेखि आर्थिक उपार्जन गर्न सक्ने अवस्थामा पुगेका छन्। नेपाली समाजमा अधिकांश ग्रामीण क्षेत्रका महिला चुलोचौकोमा सीमित हुन्छन्। तर गाउँगाउँमा सचेतनाका कार्यक्रम लागु हुनुका साथै समूहमा आबद्ध हुन थालेपछि उनीहरुको आफ्नो अधिकारका लागि समेत बोल्न सक्ने भएका हुन्।
प्रकाशित: १३ पुस २०७८ १०:२४ मंगलबार