११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

भेडेटारमा तीन दिने फुड फेस्टिवल, पर्यटकलाई जिपलाइन र प्याराग्लाइडिङमा पनि छुट

चर्चित पर्यटकीयस्थल भेडेटार। तस्बिरहरु: रोहित राई

अंग्रेजी नयाँ वर्षको अवसरमा पूर्वको चर्चित पर्यटकीयस्थल भेडेटारमा ९ औं फुड फेस्टिवल आयोजना हुने भएको छ।

होटल एशोसिएशन भेडेटारको आयोजनमा यही पुष १६ गतेदेखि १८ गतेसम्म फुड फेस्टिवल हुन लागेको हो। एशोसिएशनले सोमबार पत्रकार सम्मेलन गर्दे भेडेटार चोकदेखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनालाई फेस्टिवलको स्थल बनाइने जानकारी दिएको छ।

भेडेटारस्थित शंखेश्वर महादेवको मन्दिर।

गत वर्ष कोरोना संक्रमणले हुन नसकेको फेस्टिवल यस वर्ष पर्यटकीय गतिविधि बढाउन आयोजना गरिएको एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। ‘यो क्षेत्रको पर्यटन, होटल व्यवसाय, होम स्टे, कृषि, साँस्कृतिक र शिक्षाको प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष रुम्दालीले भने।

नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकहरुलाई लक्षित गरेर भेडेटारमा फेस्टिवल सुरु गरिएको थियो। नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरुको घुँइचो लाग्ने गर्छ। तर, पछिल्ला वर्षहरुमा विश्वव्यापी कोरोना संक्रमण फैलिएपछि प्रदेश १ को प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा भारतीय पर्यटकहरुको चहलपहल शून्यप्रायः भएको छ। संक्रमण दर कम हुँदै गएपछि आन्तरिक पर्यटकहरु घुमफिरमा आउन थालेका छन् भने भारतीय पर्यटकहरुको आगमन अपेक्षा अनुसार बढ्न सकेको छैन।

नाम्जे थुम्कीस्थित आत्मा बस्ने घर।

‘भारतीय पर्यटकहरुलाई नै लक्षित गरेर फेस्टिवल आयोजना गरिएको हो, तर कोरोनाले गर्दा आन्तरिक पर्यटकहरु नै धेरै हुने हाम्रो अनुमान छ,’ अध्यक्ष रुम्दालीले भने,‘अहिले दैनिक सय/डेढ सयको संख्यामा मात्र भारतीय पर्यटकहरु आइरहेका छन्।’

फेस्टिवलमा भेडेटार क्षेत्रमा पाइने सामुदायिक र अर्गानिक खानेकुराका साथै स्थानीय कृषि, घरेलु उत्पादनको प्रवर्द्धन गरिने आयोजकको भनाइ छ। फेस्टिवलमा १ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ भने तीन दिनमा २० देखि ३० हजार पर्यटक भित्रिने अनुमान गरिएको एशोसिएशनका सचिव तुमराज लिम्बुले बताए। ‘भेडेटार र आसपासको पर्यटकीय क्षेत्रहरुमा घुम्ने, यहाँको अर्गानिक खानेकुरा खाने र साँस्कृतिक कार्यक्रमहरुमा रमाउने अवसर पर्यटकहरुलाई हुनेछ,’ सचिव लिम्बुले भने।

फेस्टिवलमा चार्ल्स भ्यु टावर, पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्यु टाँवर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुखलगायत पर्यटकीय गन्तव्यहरु पर्यटकको रोजाईका गन्तव्यहरु हुनेछन्। फेस्टिवलमा आउने पाहुनाहरुलाई ती गन्तव्यसम्म लैजान सकिने पनि अध्यक्ष रुम्दालीले बताए। यी सबै गन्तव्यहरुमा पर्यटकहरुलाई ३ दिनसम्म बिताउन सकिने पनि उनले बताए।

फुड फेस्टिवलबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलन।

होटल लज, जिपलाइन र प्याराग्लाइडिङमा छुट

तीत दिने फुड फेस्टिवलमा भेडेटारका होटल तथा लजहरुले पाहुना पर्यटकहरुलाई छुट दिने भएको छ। साथै, जिपलाइन र प्याराग्लाइडिङमा रमाउन चाहने पर्यटकहरुले पनि शुल्कमा छुट पाउने भएका छन्।

अध्यक्ष रुम्दालीका अनुसार भेडेटारका होटल र लजहरुले १० प्रतिशत छुट दिने भएका छन्। खाना र बास बस्ने पर्यटकहरुले दुवैमा १० प्रतिशत छुट पाउनेछन्। यसैगरि, हेलिकप्टरमा फन फ्लाइट गर्न चाहने पर्यटकहरुले ५ हजारमा रमाउन सक्नेछन् भने जिपलाइनको ३ क्याटोगरीमा १५ प्रतिशत छुट पाउनेछन्। यस्तै, प्याराग्लाइडिङ गर्न चाहने पर्यटकहरुले फेस्टिवल अवधिभर ३० प्रतिशत छुट पाउने भएका छन्।

प्रकाशित: १२ पुस २०७८ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App