१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कर्मचारीको सहकारी करोडपति

उदयपुरमा कार्यरत निजामति कर्मचारीहरुद्वारा सञ्चालित ‘राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ करोडपति बनेको छ। सदरमुकाम गाईघाटमा सञ्चालित सहकारीको गतवर्षको कारोवार मात्र करिव ७ करोड पुगेको शनिबार सम्पन्न २१ औँ वार्षिक साधारणसभामा सार्वजनिक भएको हो।

साधारणसभामा सहकारीका अध्यक्ष केदारप्रसाद दाहालले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार सहकारीको हालसम्म ६ करोड ७५ लाख ९४ हजार ३ सय २४ रुपैयाँ ८१ पैसा पुँजी पुगेको छ। दाहालले प्रस्तुत गरेको वार्षिक आय–व्यय विवरण अनुसार सहकारीको निक्षेप मात्र गतवर्ष ५ करोड २२ लाख ७० हजार १ सय ८१ रुपैैयाँ ५६ पैसा पुगेको छ।

कूल पुँजीमध्ये ५ करोड १२ लाख ३ हजार ५ सय ७६ रुपैयाँ ऋण लगानी भएको दाहालले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै ४ सय ६४ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी १ करोड ३ लाख ५० हजार पुगेको दाहालले बताए। संस्थाले वार्षिक आम्दानी ७४ लाख १४ हजार २ सय ७२ रुपैयाँ ३१ पैसा गरेको उनको प्रतिवेदनले देखाएको छ।

सहकारीले जगेडा कोषतर्फ ११ लाख ६३ हजार १ सय ५४ रुपैँया ८६ पैसा, संरक्षित पुँजी कोषतर्फ ४३ हजार ३ सय ३० रुपैयाँ ८६ पैसा, सहकारी शिक्षा कोषमा ४८ हजार २ सय ९० रुपैयाँ रहेको उनको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै जोखिम व्यवस्थापन कोषमा ९ लाख ६८ हजार ५ सय ४४ रुपैयाँ ७२ पैसा, जोखिम ऋण कोषमा २१ लाख ५९ हजार ५५ रुपैयाँ १६ पैसा रहेको प्रतिवेदनले देखाएको छ।

विगत दुई वर्ष छाएको कोरोना भाईरस संक्रमण अवधिमासमेत संस्थाले उल्लेख्य प्रगति गरेको प्रतिवेदनले देखाएको छ। कोरोना महामारीका कारण सहकारीको प्रगतिमा केही बाधा आई परेको भए पनि लक्ष्य हासिल गर्त भने सफल भएको उनले बताए।

कोषाध्यक्ष रेकबहादुर मस्राङ्गी मगरले गतवर्षको तुलनामा आर्थिक वर्ष ०७६÷७७ मा संस्थाले राम्रो मुनाफा कमाएको बताए। विभिन्न शीर्षकमा भएको खर्च विवरण प्रस्तुत गर्दै मगरले प्रस्ताव गरेको आगामी आर्थिक वर्षका लागि ७७ लाख ६४ हजार ९ सय ५० रुपैँयाको आम्दानी प्रक्षेपण सभाले पारित गरेको छ।

कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका सन्तान, जेष्ठ सेयर सदस्य तथा नियमित वचतकर्तालाई नगद र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

प्रकाशित: २६ मंसिर २०७८ ११:४५ आइतबार

निजामति कर्मचारी