१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

प्राधिकरणको बेथिति अन्त्य गर्ने मन्त्री आलेको घोषणा

संस्कृति  पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले नागरिक उड्ययन प्राधिकरणका विकृति हटाएरै छाड्ने घोषणा गरेका छन्। नेपाल उद्योग परिसंघ प्रदेश १ को प्रथम बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री आलेले प्राधिकरणमा थुप्रै विकृति रहेकाले त्यसको अन्त्य गरेरै छाड्ने घोषणा गरेका हुन्।

उनले  आफू मन्त्री भएदेखि नै सुधारका कदम चालेको बताए। मन्त्री आलेले ठेक्का प्रक्रियादेखि नै आयोजनाहरूमा सेटिङ हुने गरेको बताउँदै सबै खालका सेटिङ अन्त्य गर्ने बताए। ‘नागरिक उड्ययन प्राधिकरण सेटिङमा चल्ने गरेको रहेछ’ उनले भने, ‘अब, प्राधिकरणको वर्षौंदेखिको सेटिङ अन्त्य हुन्छ।’

मन्त्री आलेले विराटनगर विमानस्थल विस्तारका लागि सरकारसँग बजेट नभएकाले काम अघि बढाउन समस्या भएको जानकारी दिए। अघिल्लो सरकारले विमानस्थल विस्तारका लागि बजेट व्यवस्था नगर्दा मुआब्जा वितरणलगायतका काममा अबरोध भएको उनले बताए।

उनले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक १ सय २६ विघा जमिन अधिकरण गर्न  १६ अर्व वजेट लाग्ने भएकाले विराटनगर विमानस्थलको विकल्प पनि सोच्नुपर्ने धारणा राखे। उनले सरकारी स्वामित्वमा रहेको जग्गा भए विमानस्थल निर्माण गर्न २५ अर्व, ३० अर्व जति चाहिए बजेट जुटाउन सक्ने बताए।

सुनसरीको अमडुवामा भएको ६ सय ५० विघा जग्गामध्ये ३०० विघा जग्गा पाए १ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थल त्यहाँ निर्माण गर्ने निर्णय गरेर बजेट उपलब्ध गराउने मन्त्री आलेले आश्वासन दिए।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले स्वदेशी बस्तु प्रवर्द्धनलाई अगाडि बढाइरहेको बताए। उनले लोगो हेरैरै नेपाली बस्तु प्रयोग गर्ने वातावरण तयार पार्न परिसंघ लागि परेको स्पष्ट पारे।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बैंक र विमा कम्पनीहरू आधुनिक युगका साहु महाजनजस्ता भएको टिप्प्णी गरे। उनले व्यवसायीहरूले २० प्रतिशतभन्दा बढी नाफा गरे कार्वाही हुने भए पनि बैंक तथा विमा कम्पनीहरूले जति पनि नाफा कमाउन पाउने व्यवस्थाले समग्र अर्थतन्त्रमा समस्या देखिएको दाबी गरे।

घिमिरेको अध्यक्षतामा प्रदेश १ समिति  

नेपाल उद्योग परिसंघ प्रदेश १ को साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडा रहेका छन्। यस्तै उपाध्यक्षहरूमा नवलकिशोर कावरा, सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल र कोषाध्यक्षमा गिरिश लुनिया छन्। यस्तै सदस्यहरूमा विकास अधिकारी, वेदान्त जाजु, डेनिश कार्की राजेन्द्र राठी, अनुप सिग्देल, कर्ण रायमाझी, भवेश राठी, निखिल तोदी, गिरिजा सारडा छिन्। यस्तै मत्रु दुगड, ऋषभ दाहाल, साकेत राठी, अनुपमा बाँस्तोला, मुकेशकुमार राठी, महेश पौडेल र राजत तोदी रहेका छन्।  

प्रकाशित: २५ मंसिर २०७८ १२:३३ शनिबार

संस्कृति पर्यटन तथा नागरिक उडड्यन प्रेमबहादुर आले