२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

गुठिचौरका होमस्टेमा पारिवारिक वातावरणमा रमाउँदै पर्यटक

गुठिचौर गाउँपालिकाको कार्यालय जुम्ला। तस्बिरः नागरिक

जुम्लाको गुठिचौर गाउँपालिकाले ५३ होमस्टे छन्। गुठिचौर गाउँपालिका वडा नम्वर १ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलंगा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्येनजर गर्दै होमस्टे सञ्चालनमा ल्याएको हो। होमस्टेमा पर्यटकले सम्मान सत्कार पाउँछन्। यहाँको रैथाने बस्तुको खान्की बनाइन्छ। जसका कारण यहाँका होमस्टे राम्ररी चलिरहेका छन्।

होमस्टेको व्यवस्थापन प्रभावकारी बनाउँदै पर्यटकमैत्री व्यवहारका बारेमा स्थानीयलाई जागरुक बनाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले बताए। उनले भने, ‘होमस्टे यहाँका रैथाने बस्तुको प्रवर्द्धन स्थानीय भाषा संस्कृतिको संरक्षणका लागि स्थापना भएका हुन्। होमस्टेमा आउँदा पर्यटकले आफ्नो घरमा पुगेको जस्तो अनुभूति गरुन् भन्ने हेतुले सबै व्यवस्थापन भएको छ।’

गाउँपालिकाले होमस्टे सञ्चालनको लागि पटक पटक सहयोग गर्ने गरेको छ। प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटाले यहाँको होमस्टे व्यवस्थित बनाउन पहल भइरहेको बताए। उनका अनुसार प्रत्येक घरधुरीलाई, चार मिटर कार्पेट, २/२ वटा प्लाष्टिकका कुर्सी, १/१ वटा डाइनामिक टेबुल, १ वटा बटम फ्राइवेन लगायतका सामानहरु प्रदान गरिएको हो।

स्टोर शाखा प्रमुख मोतीप्रसाद जैसी पहिलो पटक १५ घरधुरीलाई वितरण गरिएको बताउँछन्। आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट ५३ होमस्टे संचालनका सामग्री वितरण गरिएको हो। स्थानीयलाई पर्यटकको सम्मान सत्कार गर्ने र पर्यटकमैत्री व्यवहारका बारेमा सहजीकरण गरिएको थियो।

यो क्षेत्र जल, जमिन, जटिबुटी र पर्यटनको राम्रो संभावना छ। श्रोत साधनको पर्याप्तता पनि छ। त्यसको लागि पर्यटन पूर्वाधार विकास अनिवार्य नै हो। गाउँपालिका अध्यक्ष भण्डारीले भने, ‘यो क्षेत्रमा बास बस्नको लागि होमस्टे बनेका छनु। होमस्टे सञ्चालनका सबै सामग्री गाउँपालिकाले व्यवस्थापन गरेको छ। अहिले कुनै पनि पर्यटकले सहजै रुपमा बास बस्न पाउँछन्। त्यहाँको साँस्कृतिक मनोरञ्जन लिन्छन्। रैथाने खान्की आएर फर्कन्छन्। पारिवारिक वातावरणमा पर्यटक रमाउँछन्।’

पर्यटकीय गन्तव्य गुठीचौरलाई कृत्रिम ताल बनाउन सम्भाव्यता अध्ययन शुरु भएको छ। आर्थिक वर्ष २०७५/०७६ को बजेटमा गुठीचौरलाई बहुउद्देश्यीय गन्तव्य बनाउन नीति लिएको थियो। सोही अनुसार पहिलो वर्षमा २० लाख रकम विनियोजन गरिएको हो।

गाउँपालिका गुठिचौरमा विन्टर एयरपोर्ट संचालन गर्ने, पार्क निर्माण गरेर पिकनिक स्पोट बनाउने, कृत्रिम ताल बनाउने, चिमारा मालिका, ठाकुरलगायतका धार्मिक क्षेत्रमा सहजै रुपमा पर्यटन आवागमनका लागि सुरक्षित मार्ग निर्माण गर्ने कार्यमा अग्रसर देखिएको छ।

यहाँको धार्मिक तथा साँस्कृतिक पर्यटनको जगेर्ना गरेर अघि बढ्ने नीति गाउँपालिकाले लिइएको छ। विद्युत उत्पादन गरी गाउँपालिका उज्यालो  बनाएर सिंगो गुठिचौरलाई प्रविधिसँग जोड्ने नीति गाउँपालिकाको छ। जुम्ला खलंगा हुँदै डोल्पा से फोक्सुण्डो जाने मार्ग यही भएकोले व्यापारका हिसावले पनि यो क्षेत्र निकै महत्वपूर्ण मानिन्छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमन निरन्तर भइरहन्छ। प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटाले भने,‘सबै हिसावले निकै महत्वपूर्ण मानिएकोले गुठिचौरमा होमस्टे सञ्चालनमा ल्याइएको हो।

प्रकाशित: १९ कार्तिक २०७८ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App