१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रहरीद्वारा ठूलो परिमाणमा खान अयोग्य दाल बरामद

फाइल फोटो

सीमावर्ती गाउँ बेलदारीबाट ट्याक्टरमा लोड गरी कलैया ल्याउँदै गरेको ठूलो परिमाणमा खान अयोग्य रहरको दाललाई प्रहरीले बुधबार राती नियन्त्रणमा लिएको छ। पचरौता नगरपालिकाको बेलदारीबाट कलैयास्थित यादव कोल्ड स्टोरमा ना.२ त . ७५२५ नम्बरको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको ८० क्विन्टल सडेको दाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक दिपक सुबेदीले बताए।

नियमित गस्तीको क्रममा रामनगर गाउँ नजिकको सडकमा चेक जाँचको क्रममा किरा लागेको रहरको दाल लोड गरेको  ट्याक्टर र ट्याक्टर चालक पचरौता नगरपालिका ५ का पान्नालाल महतोलाई नियन्त्रणमा लिएर दालबारे अनुसन्धान सुरु गरिएको सुबेदीले बताए। अनुसन्धानको क्रममा ट्याक्टर चालक महतोबाट बेलदारीका ओमप्रकाश यादवले दाललाई कलैयास्थित यादव कोल्ड स्टोरसम्म ढुवानी खटाएको थाहा हुनु आएको प्रहरी निरीक्षक सुबेदीले बताए।

किरा लागेको रहरको दाललाई यादव कोल्ड स्टोरमा कुन कारणले पठाउन लागिएको त्यसको जानकारी लिनको लागि  ओमप्रकाश यादवलाई खोज्ने काम सुरु गरिएको उनले बताए। २०७७ बैशाख ९ गते जिल्ला प्रशासन कार्यालय बाराले राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, आठजना वडा अध्यक्षसहित १३ जनामाथि कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तरर्गत मुद्दा चलाएको थियो।

नगरप्रमुख सहितले यादव कोल्ड स्टोलबाट नै राहतमा कुहिएको दाल वितरण गरेको अनुसन्धानबाट खुलेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा दाल यादव आईस एण्ड कोल्ड स्टोरबाट खरिद गरिएको भेटिएपछि ०७६ चैत २९ गते बिहान कोल्ड स्टोर्स र बिभिन्न वडामा छापामारी गरेर २५ किलो र ५० किलो गरि आठ सय ६६ बोरा दाललाई प्रहरी प्रशासनले  सिलबन्दी गरेको थियो।

सिलबन्दी गरिएको दालको नमुना संकलन गरी हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परीक्षण गराउँदा दाल गुणस्तरहीन प्रमाणित भएपछि त्यसलाई नष्ट गरिएको बारा प्रहरीले जनाएको छ। बारा प्रहरीले यादव कोल्डस्टोरबाट २५ किलो र ५० किलो गरी आठसय ६६ बोरामा रहेको ३२ हजार आठसय ५० किलो गुणस्तरहीन दाल जलाएर नष्ट गरेको दाबी गरेपछि अहिले पनि कोल्डस्टोरमा त्यही दालहरु धेरै मात्रामा रहेको कोल्डस्टोरमा काम गर्नेहरुले बताएका छन्।

प्रकाशित: २४ भाद्र २०७८ १३:५६ बिहीबार

प्रहरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग