९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

जुम्लाबासीको आम्दानीको स्रोत जडिबुटी

पाटनमा क्षेत्रमा पाइने जडिबुटी जुम्लाबासीको राम्रो आम्दानीको स्रोत बनेको छ। कोभिड संक्रमणको त्रास फैलिइरहेको बेला यहाँका नागरिकले पाटनमै बसेर जडिबुटी संकलन गरेका हुन्। ‘कोभिडका कारण जताततै निषेधाज्ञा भएपछि आयस्रोत गर्न उपाय भएन’, स्थानीय पदमबहादुर बुढाले भने, ‘एकमात्र विकल्प जडिबुटी बन्यो। संकलन गरेर जडिबुटी बेचेर घरखर्च जुट्यो।’

गाउँ, सहरमा निषेधाज्ञा भएपनि अधिकांश जुम्लाबासीको बास नै पाटन क्षेत्र बन्यो। जटिबुटी संकलन प्रशोधन र बजारीकरणमै बित्यो। फलस्वरुप कोरोना संन्त्रासका कारण हुन सक्ने भोकमरी टार्न यो कार्यले निकै ठूलो राहत दियो। पदमले भने, ‘पहिले जलजंगल र जमिनको धनि भनेर गफमा भन्थ्यौँ, जडिबुटीको वास्तविक महत्व यो बेला बुझियो। कोरोनाले रोजीरोटी खोसेको बेला जटिबुढीले हातमुख जोड्न साथ दियो। यहाँको जडिबुटी प्रति गर्व गर्ने मन लाग्छ।’

यहाँका स्थानीय पछिल्लो समयमा जटिबुटी संकलन सँगसँगै संरक्षणमा पनि जोड दिन थालेका छन्। डिभिजन बन कार्यालय जुम्ला कोरोना महामारी बीचमा २० टन जडिबुटी निर्यात भएको जनाएको छ। जडिबुटीको प्रचुर सम्भावना रहेको जुम्लाबाट २० टन जडिबुटी निर्यात भएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा जुम्लाका ८ स्थानीय तहमा संकलन भएको २० टनभन्दा बढी जडिबुुटी जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको हो।

डिभिजन वन कार्यालका सूचना अधिकारी खड्कबहादुर महत यहाँ पाइने जडिबुटी संकटमा गुजारा बन्ने गरेको बताउँछन्। उनले भने, ‘जब जब संकट आइपर्छ, तब यहाँको जटिबुटीले महत्व पाउँछ। यहाँ नागरिकको पीडाको घाउमा मल्हम लगाउँछ।’

एक नगरपालिका र सात गाउँपालिकामध्ये तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबै भन्दा धेरै जडिबुटी पाइन्छ। विशेषगरी गुठिचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडिबुडी संकलन हो। यहाँका पाटनमा जिल्ला भरीका नागरिक नै  जाने गर्छन्। कोरोना कहरका बीचपनि जटिबुटी संकलनबाट राम्रो कमाई गरेको स्थानीय बताउँछन्।

डिभिजन वन कार्यालय जुम्लाको तथ्यांकअनुसार कोरोना महामारीकै बीचमा विभिन्न २० प्ररकारका २० टन २ सय क्विन्टल जडिबुटी संकलन तथा निर्यात भएको छ। जसमा सबैभन्दा बढी धुपी साढे २ टन निर्यात भएको हो। त्यसैगरी सेतो चिनी साढे २ टन, चिराइतो ९ क्विन्टल, तितेपाती साढे २ टन, सुनपाती ३ टन, पाखनबेद साढे २ टन, सुगन्धवाला (सुमायो) १ टन ५ क्विन्टल निर्यात भएको सूचना अधिकारी महत बताउँछन्।  

जुम्लाका ७३ जना व्यापारीले यो पटक जडिबुटी निर्यात गरेका हुन्। डिभिजन वन कार्यालयका अनुसार  ४० लाख राजस्व संकलन भएकोे छ। जसमा जडिबुटी संकलन बापत २९ लाख ४७ हजार र घर निर्माणको पूर्जा वितरणबापत १० लाख ७६ हजार राजस्व संकलन भएको छ।

यार्सागुम्बाबाट १२ लाख ३० हजार रुपैयाँ, सेतोचिनीबाट ४ लाख २० हजार रुपैयाँ, विषजराबाट १ लाख ४१ हजार रुपैयाँ, धुपीबाट ७० हजार रुपैयाँ राजस्व संकलन भएको सुचना अधिकारी महतले जानकारी दिए। कालादानाबाट ५५ हजार ३ सय रुपैयाँ, रातो च्याउबाट ५५ हजार रुपैयाँ, पाखनबेदबाट १ लाख ८६ हजार रुपैयाँ, वन लसुनबाट २० हजार ५ सय रुपैयाँ पदमचालबाट १७ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो।  जुम्ला जडिबुढीको राम्रो संभावना भएको जिल्ला भएको जडिबुटीको संरक्षण र प्रर्वद्धनमा जोड दिन आग्रह गरिएको थियो। नपाक्दै जडिबुटी नकोर्न र कानुनी व्यवस्थापनअनुसार जटिबुटी संकलन तथा बजारीकरण गर्न स्थानीयलाई पटकपटक जानकारी दिएको हो। यहाँका केही किसानले आफ्नै खेतबारीमा व्यवसायीक रुपमा जडिबुटी खेतिगर्न थालेका छन्।

प्रकाशित: २४ भाद्र २०७८ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App