२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

महासंघ र संयुक्त राष्ट्रसंघबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलोबीच सहकार्य गर्ने सहमति भएको छ।

संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्य पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौती सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि संयुक्त प्रयास गर्ने लगायत विषयमा सहमति बनेको हो। अध्यक्ष गोल्छाले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्त्वपूर्ण साझेदार हुन सक्ने बताए।

महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने उनको धारणा थियो।नेट २०३० ले नेपालले अबको पाँच वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नति हुन पूरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ।सोही अनुसार निजी क्षेत्रमा पर्न सक्ने प्रभाव र न्यूनीकरणका उपाय सहितको अध्ययन प्रतिवेदन महासंघले तयार पारेको छ।

मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरी सकेको अध्यक्ष गोल्छाले स्पष्ट पारे। यसको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघसंग पनि सहकार्य आवश्यक रहेको उनले बताए। अध्यक्ष गोल्छाले संयुक्त राष्ट्र संघसँग महासंघले निरन्तर सहकार्य गर्दै आएको र दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न महासंघ सहकार्य गर्न तत्पर रहेको बताए।

संयोजक साराले कोभिड महामारीका बीचमा पनि नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। एसडिजीका लक्ष्य निर्धारित समयभित्रै पूरा गर्ने कार्यमा महासंघको सहकार्य महत्त्वपूर्ण रहेकाले यसमा सहयोग गर्न पनि उनले आग्रह गरे।नेपालको स्तरोन्नती र एसडीजीका लक्ष्यहरू पुरा गर्ने कार्यदिशामा निजी क्षेत्र दरिलो सहयोगी हुनुसक्ने र त्यसमा पनि महासंघको सहयोग अझ महत्त्वपूर्ण हुने बताए।

प्रकाशित: १० भाद्र २०७८ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App