१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः प्याराग्लाइडिङ उड्न पाउने कि नपाउने ?

असोज मध्यसम्म थाहा हुन्छः नागरिक उड्डयन प्राधिकरण

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ । फाइल तस्बिरः उमेश पुन÷नागरिक

पछिल्लो पटक एकवर्ष म्याद थपिएपछि निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०२२ को जुलाई १० मा तयार हुनेछ । कुनै अवरोध नआएमा अबको एकवर्षभित्रै विमानस्थल संचालनमा आउनेछ । तर, विमानस्थल पदाधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको अवधि एकवर्ष थपिएपनि अबको नौ महिनाभित्रै उडान सुरु हुने बताउँदै आएका छन् ।  

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै यहाँको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानको भविश्य के हुने भन्नेमा अन्योल भने कायमै छ । प्याराग्लाइडिङ व्यवसायीले भने अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि प्यराग्लाइडिङलाई बिस्थापित गर्नु नपर्ने गरि अहिलेकै ठाउँमा उडान व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन् । अहिले भईरहेको ठाउँबाट बिस्थापित हुनुपरेमा व्यवसायीले थप लगानी गर्नुपर्ने र व्यवस्थापन चुनौतीपूर्ण हुने उनीहरुको भनाई छ ।  

अन्तर्राष्ट्रिय विमानस्थलमा केही नयाँ प्रविधि थप गरेर भएपनि प्याराग्लाइडिङलाई अहिलेकै आकाश (सराङकोट र तोरिपानी) बाटै उडान गर्न दिने गरि व्यवस्थापन गर्न व्यवसायीले आग्रह गरिरहेका छन् । त्यसका लागि व्यवसायीले नागरिक उड्ययन प्राधिकरण (क्यान)का पदाधिकारीसँग बारम्बार छलफल गर्दै आइरहेका छन ।

 प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले प्याराग्लाइडिङ पोखराको मात्र नभई नेपालकै पर्यटन क्षेत्रको महत्वपूर्ण अंग भएकोले पोखराबाट बिस्थापित गर्न नपर्ने गरि नागरिक उड्ययन प्राधिकरण (क्यान)ले व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।

‘ढिलोमा पनि अबको एकवर्षमा विमानस्थल तयार भएर उडान सुरु हुनेछ ।  त्यसपछि प्याराग्लाइडिङलाई कसरी व्यवस्थापन गर्ने भन्ने हो । हामीले अहिलेकै ठाउँ (सराङकोट, तोरिपानी) बाटै उडान गर्न चाहेका छौ । बरु नयाँ प्रविधि भिœयाएर व्यवस्थापन गर्न तयार छौ, यहाँबाट बाहिरिन नपरोस भन्ने हो,’ भण्डारीले भने, ‘प्रविधिमा पनि अपग्रेड गरांैं । हामी व्यवसायी अनुशासनमा बाँधिन र थप प्रविधिमैत्री बन्न तयार छौ ।’

पोखराको आकाशमा दुईदशक अघिदेखि उडान संचालन भईरहेको प्याराग्लाइडिङले हवाई खेलकुद क्षेत्रमा महत्व राखेकोले पनि बिस्थापित हुँदा पर्यटनमा असर पर्ने उनले बताए । ‘नेपालकै साहसिक पर्यटनमा प्याराग्लाइडिङले अर्थ राखेको छ । अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि प्याराग्लाइडिङ उडानलाई पनि केही न केही दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘तर यहाँबाट बिस्थापित नै बनाउनु पर्दैन कि भन्ने हो । नागरिक उड्ययन प्राधिकरणले प्रविधिलाई भिœयाएर र हामीलाई कडा अनुशासनमा राखेर अहिलेकै ठाउँमा व्यवस्थापन गरोस भन्ने हो ।’ नयाँ उपकरण प्रयोगमा ल्याएर भएपनि अहिलेकै ठाउँमा व्यवस्थापन जरुरी रहेको भन्ने आफुहरुको भनाई रहेको उनले बताए ।

‘प्याराग्लाइडिङ सराङकोट र तोरिपानीबाट मात्र उड्नुपर्छ भन्ने त होईन, हामीसँग डाँडाकाँडा जतिपनि छन । तर, उडान भईरहेको ठाउँ र अन्तर्राष्ट्रिय पहिचान कमाएकोले यहाँबाट हट्न नपरोस भन्ने हो,’ उनले भने, ‘सुरक्षा, मनोरम दृष्य, सहरी सुविधा, उपयुक्त मौसमले गर्दा यहाँ स्थापित भएका हौ । पोखरामा पाउने जति सुविधा अन्यत्र पक्कै पाइदैन ।’ नेपालका अन्यत्रका डाँडाकाँडाबाट पनि उडान गर्न सकिने भएपनि सबैतिरको लगानी हुँदा पोखरामा टिक्न सकेको उनले बताए ।  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘फ्लाइट प्रोस्युडर’ एप्रुभल भईसकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अबको बढीमा डेढ महिनाभित्र फ्लाइट प्रोस्युडर स्वीकृत गर्ने र त्यही प्रोस्युडर अनुसार प्याराग्लाइडिङ उडानबारे यकिन हुने प्राधिकरणले बताएको छ । प्राधिकरणका पोखरास्थित प्रमुख बिक्रम गौतमका अनुसार असोज मध्यसम्ममा क्यानले फ्लाइट प्रोस्युडर स्वीकृत गर्नेछ ।  

‘पोखराको हालको ठाउँबाट प्याराग्लाइडिङ उडान हुने वा नहुने भन्ने अबको केही समयमा यकिन हुनेछ । क्यानले फ्लाइट प्रोस्युडर एप्रुभ गरेपछि यो बारेमा टुंगो लाग्छ,’ गौतमले भने, ‘व्यवसायी अन्योलमा बसिरहन नपर्ने गरि छिटै निर्णय हुनेछ ।’ उनका अनुसार फ्लाइट प्रोस्युडरमा हवाई उडानको लागि आकाशमा एक प्रकारको बाटो तय गरिएको हुन्छ । त्यही अनुसार पहाडको टुप्पो र जमिनसँगको दूरी कायम रहन्छ । त्यो भित्र प्याराग्लाइडिङ उडान हुने क्षेत्र परेमा हट्न पनि सक्छ ।’  

गौतमका अनुसार प्याराग्लाइडिङको हालको उडान भईरहेको आकाश प्राविधिक रुपमा सहज नभएमा व्यवसाय निरन्तर हुन सक्दैन । सराङकोट प्राविधिक रुपमा सहज हुने देखिन्न । त्यो बेला व्यवसायीले नयाँ क्षेत्र खोज्नुपर्ने हुनसक्ने उनले बताए । ‘सिस्टले सराङकोटमाथिको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई स्वीकार गर्छ वा गर्दैन भन्न सकिन्न । यदि सिस्टमले असर गरेमा त्यो (प्याराग्लाइडिङ) अन्यत्र लैजान नसकिने भन्ने होइन,’ गौतमले भने, ‘विकल्प अन्यत्र छ । सिस्टमले सम्भव हुन्छ भनेमा अरु अवरोध हुने कुरा रहदैन । तर, व्यवसायीले अहिले नै विकल्प खोज्दा राम्रो हुन्छ भन्ने लागेको छ ।’  

पोखरामा दुई दशक भन्दा बढी समय अघिदेखि प्याराग्लाइडिङ उडान भईरहेको छ । यहाँको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने पाँचदर्जन कम्पनि छन् । पोखरा आएका आन्तरिक र बाह्य पर्यटक यहाँको आकाशमा प्याराग्लाइडिङ गर्न रुचाउँछन । सराङकोट र तोरिपानीको आकाशबाट अहिले प्याराग्लाइडिङको व्यवसायिक उडान भईरहेको छ । आकाशमा उडेका पर्यटकले हिमाल र ताल एकैपटक नियाल्न पाउने हुनाले निकै नै रोमाञ्चक ठान्ने व्यवसायीको भनाई छ ।

प्रकाशित: २३ श्रावण २०७८ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App